close

विश्वका शीर्ष १० कार निर्मातामा बीवाईडी, ६ महिनामै साढे १२ लाख गाडी बिक्री

टेकपाना टेकपाना

भदौ २२, २०८० १३:५९

विश्वका शीर्ष १० कार निर्मातामा बीवाईडी, ६ महिनामै साढे १२ लाख गाडी बिक्री

 

काठमाडौं । चिनियाँ विद्युतीय कार कम्पनी बीवाईडी विश्वका शीर्ष १० कार निर्माता कम्पनीहरूको सूचीमा समावेश हुन सफल भएको छ । कार बिक्री सङ्ख्याको आधारमा बीवाईडी पहिलो पटक यो सूचीमा अटाएको हो । 

कम्पनीले कार बिक्रीमा मर्सिडिज बेञ्ज ग्रुप र बीएमडब्लूलाई समेत पछाडि पारेको छ । यस वर्षको कार बिक्री ९६ प्रतिशतले वृद्धि गरेको बीवाईडीले सन् २०२३ को पहिलो छ महिनामा १२ लाख ५० हजार विद्युतीय सवारी बिक्री गरेको छ ।

त्यससँगै कम्पनी विश्वका ठूला कार निर्माता कम्पनीहरूको सूचीमा १० औं स्थानमा उक्लिएको हो । बीवाईडीले गएको अगस्टमा मात्रै दुई लाख ७४ हजार ३८६ सवारी बिक्री गरेको नयाँ रेकर्ड राखेको थियाे । 

बीवाईडीले सार्वजनिक गरेको सन् २०२३ काे पहिलो अर्धवार्षिक प्रतिवेदन अनुसार कम्पनीले २६० अर्ब १२ करोड चिनियाँ यूआन (३५ अर्ब ६६ करोड अमेरिकी डलर) आम्दानी गरेको छ, जुन अघिल्लाे वर्षकाे साेही अवधिकाे तुलनामा ७२.७२ प्रतिशत बढी हो । 

जसमा कार निर्माण तथा सम्बन्धित व्यवसायको आम्दानी ९१.१ प्रतिशतले वृद्धि भई २०८ अर्ब ८२ करोड युआन पुगेको छ । 

बीवाईडीको प्रगतिले उत्पादनको नवप्रवर्तन र उद्योग श्रृङ्खलामा ठूलो लगानी निम्त्याएको छ । कम्पनीले अनुसन्धान र विकासमा मात्रै वर्षमा १२०.२ प्रतिशतले बताएर १२ अर्ब २५ करोड चिनियाँ यूआन लगानी गरेको छ ।

पछिल्लो अध्यावधिक: भदौ २२, २०८० १३:५९