close

ट्वीटरलाई एक्स बनाएपछि एप डाउनलोड गर्नेको सङ्ख्या ह्वात्तै घट्यो

टेकपाना टेकपाना

भदौ २३, २०८० १९:५१

ट्वीटरलाई एक्स बनाएपछि एप डाउनलोड गर्नेको सङ्ख्या ह्वात्तै घट्यो

काठमाडौं । रिब्रान्ड गरेर ट्वीटरलाई एक्स बनाएपछि एप डाउनलोड दर ह्वात्तै घटेको पाइएको छ । एपको पर्फर्मेन्स ट्र्याक गर्ने एपटोपियालाई उद्धृत गर्दै इन्साइडरले यसबारे जानकारी दिएको हो ।

प्रतिवेदन अनुसार जुलाई अघिको दुई महिनाको तुलनामा अगस्ट र सेप्टेम्बरमा एक्सको डाउनलोड ३० प्रतिशतले कम भएको छ । एलन मस्कले जुलाई महिनामा ट्वीटरको नाम परिवर्तन गर्दै ‘एक्स’ राखेका थिए । त्यसै समयदेखि डाउनलोड दर खुम्चिँदै गएको तथ्याङ्कले देखाएको छ ।

सन् २०१३ पछि ट्वीटर (एक्स)को सबैभन्दा नराम्रो समय यही भएको बताइएको छ । सन् २०११ तिर १५० लाखदेखि तीन करोड मासिक प्रयोगकर्ता थपिने गरे पनि यो वर्षको अगस्ट र सेप्टेम्बर महिनामा गरी एक्सले करिब एक करोड मात्र नयाँ प्रयोगकर्ता बढाउन सकेको छ । 

अमेरिका, बेलायत, जापान जस्ता ठूलो बजार भएको देश सहित सबै ठाउँहरूबाट एक्सको डाउनलोड दर घटेको इन्साइडरले उल्लेख गरेको छ । त्यस्तै सिमिलर वेबका अनुसार पनि ट्विटर डटकम (twitter.com)को विश्वव्यापी वेब ट्राफिक गत वर्षको तुलनामा १० प्रतिशतले घटेको देखिन्छ ।

यसैगरी एक्स प्रयोग गर्ने दैनिक प्रयोगकर्ता जलाईमा २५ करोड ३० लाख रहेकोमा सेप्टेम्बरमा १.५ प्रतिशतले घटेर २४ करोड ९० लाखमा खुम्चिएका छन् ।

त्यस्तै जुलाईमा ३९ करोड ८० लाख रहेका मासिक प्रयोगकर्ता सेप्टेम्बरमा घटेर ३९ करोड ३० लाखमा सीमित रहेका छन् ।

मस्कले सन् २०२४ सम्म एक्सका मासिक प्रयोगकर्ता एक खर्ब पुग्ने अनुमान गरेका थिए । तर यी आँकडाहरूले त्यो लक्ष्य प्राप्ति कठिन नै हुने देखाउँछ ।

यद्यपि मस्कले गत वर्ष अक्टोबरमा ट्वीटर खरिद गर्नु अगाडि नै प्रयोगकर्ताको सङ्ख्या घट्न सुरु गरेको थियो । केही समय यो ग्राफ सुधार हुन खोजे पनि अवस्था झनै खराब बन्न थालेको देखिएको छ ।

मस्कले ट्वीटर आफ्नो बनाएपछि कर्मचारी कटौती गर्ने लगायतका काम पनि गरेका थिए । साथै बजार गुमाउँदै गएका कारण कम्पनीहरूले समेत ट्वीटरमा विज्ञापन गर्न छाडेको विभिन्न सञ्चार माध्यमले उल्लेख गरेका छन् ।

तर केही समयअघि मात्रै एक्सकी सीईओ लिन्डा याकारिनो तथा मस्कले सबैभन्दा धेरै प्रयोगकर्ता पाएको दाबी गरेकी थिइन्  ।

पछिल्लो अध्यावधिक: भदौ २६, २०८० १६:३