close

पैसा तिरेका एक्स प्रयोगकर्ताले अब लाइक ट्याब लुकाउन सक्ने

टेकपाना टेकपाना

भदौ २९, २०८० ८:४४

पैसा तिरेका एक्स प्रयोगकर्ताले अब लाइक ट्याब लुकाउन सक्ने

काठमाडौं । सामाजिक सञ्जाल एक्सले सशुल्क प्रयोगकर्ताका लागि लाइकको ट्याब लुकाउन सकिने फिचर ल्याएको छ । बिहीवार एक्समा पोस्ट गर्दै कम्पनीले ‘हाइडिङ लाइक ट्याब’ फिचर सार्वजनिक गरेको हो । 

यससँगै मासिक आठ डलर तिरेर एक्सको प्रिमियम सब्स्क्रिप्सन लिएका प्रयोगकर्ताले यो फिचर इनेबल गरेको खण्डमा उनीहरूको प्रोफाइलबाट लाइकको ट्याब हट्नेछ । अर्थात् हामी अहिले कुनै पनि अकाउन्टबाट कुन कुन पोस्टमा लाइक भएको छ भन्ने हेर्न सक्छौं, त्यो अब सबै अकाउन्टको हेर्न पाउने छैनौं ।

विशेषगरी सार्वजनिक व्यक्तित्वले एक्समा कस्तो पोस्ट लाइक गर्छन् भन्ने सबैको चासोको विषय हुन्छ । कुनै पनि व्यक्तिको प्रोफाइलमा गएर लाइक्सको ट्याब छान्यो भने उसले लाइक गरेका पोस्ट देखिन्छन् । तर, अब भने लाइक ट्याब हाइड गरेका प्रयोगकर्ताले कुन पोस्टमा लाइक गरेका छन् भनेर हेर्न सकिने छैन ।  

प्रिमियम सब्स्क्रिप्सन लिएका प्रयोगकर्ताले यो फिचर इनेबल गर्न सबैभन्दा पहिले एक्स एप खोली प्रिमियमको अप्सनमा गई प्रिफरेन्सबाट अर्ली एक्सेसको अप्सनमा रहेको ‘हाइड लाइक ट्याब’ अप्सन अन गर्नुपर्ने हुन्छ । 

प्रिमियम मोडेललाई थप स्तरीय बनाउन मस्कले यस्तो फिचर ल्याएको बताइएको छ । विज्ञापनबाट आउने आम्दानी ६० प्रतिशतले घटेपछि एक्सले प्रिमियम सब्स्क्राइबरलाई थप आकर्षित बनाउन यस्ता विभिन्न फिचरहरू ल्याइरहेको छ । 

एक्सको प्रिमियम सब्स्क्रिप्सन लिन मासिक आठ डलर तिर्नुपर्ने हुन्छ भने वार्षिक ८४ डलर तिर्नुपर्छ । यो सब्स्क्रिप्सन लिएपछि प्रयोगकर्ताले विभिन्न फिचर सबै प्रयोगकर्ताका लागि उपलब्ध हुनु अगावै प्रयोग गर्न पाउँछन् । त्यसमध्ये पनि शुल्क तिर्ने प्रयोगकर्ताले भेरिफाइड ब्याज पाउँछन् ।

पछिल्लो अध्यावधिक: भदौ २९, २०८० ८:४४