close

सेलिब्रेटीको व्यक्तित्व भएको एआई टुल ल्याउँदै मेटा

टेकपाना टेकपाना

असोज १३, २०८० ९:६

सेलिब्रेटीको व्यक्तित्व भएको एआई टुल ल्याउँदै मेटा

काठमाडौं । फेसबुकको मूल कम्पनी मेटाले बार्ड, च्याटजीपीटी जस्ता एआई टुललाई चुनौती दिन नयाँ च्याटबट ल्याउने भएको छ । कम्पनीको वार्षिक कार्यक्रम मेटा कनेक्ट कन्फ्रेसनमा बोल्दै  ्प्ररमुख कार्यकारी अधिकृत (सीईओ) मार्क जुकरबर्गले यसको घोषणा गरेका हुन् ।

मेटाले ल्याउने नयाँ च्याटबट अन्य एआई टुल समान हुने, तर विभिन्न सेलिब्रेटीहरूको व्यक्तित्वसँग मिल्ने बताइएको छ । यसको अर्थ ती सेलिब्रेटीका आवाज, रुचि, मेसेज लेख्ने तरिका मेटाको च्याटबट समावेश गरिने छ ।

यसका लागि र्‍यापर स्नुप डग, एनएफएल स्टार टम ब्रेडी, युट्युबर मिस्टर बिस्ट लगायतका सेलिब्रेटीसँग सहकार्य गरिसकेको मेटाले जनाएको छ । मेटाको यो एआई टुल सुरुमा अमेरिकामा मात्र उपलब्ध हुने छ । 

त्यस्तै मेटाले प्रयोगकर्तालाई आफूअनुकुलको एआई टुल बनाउन सहयोग गर्ने उद्देश्यले एआई स्टुडियो समेत ल्याउने भएको छ । त्यसबाट बनाइने एआई असिस्टेन्ट वा च्याटबटलाई मेटाको विभिन्न मेसेजिङ प्लेटफर्ममा प्रयोग गर्न सकिने मेटाको भनाइ छ । साथै ती च्याटबटलाई फरक-फरक प्रोफाइल दिइने र त्यसले प्रयोगकर्तासँग अन्तर्क्रिया गर्न सजिलो बनाउने मेटाले विश्वास लिएको छ । 

फरक कामका लागि फरक एआई टुल चाहिने र एउटा टुलले मात्र सबै काम गर्न नसक्ने बताउँदै मेटाले यस्तो गर्न लागेको जनाएको हो । त्यसरी तयार पारिएका केही एआई टुलहरूको डेमाे समेत कार्यक्रममा देखाइएकाे थियाे ।

यी सँगै मेटाले आफ्नो नयाँ भर्चुअल रियालिटी हेडसेट मेटा क्वेस्ट थ्री (Meta Quest 3) र रे-बनसँग सहकार्य गर्दै नयाँ स्मार्ट चस्मा पनि सार्वजनिक गरेको छ ।

पछिल्लो अध्यावधिक: असोज १३, २०८० ९:१७