close

अवैध अनलाइन सट्टेबाजी प्लेटफर्ममा नेपाली क्रिकेटरको फोटो राखी प्रचार

टेकपाना टेकपाना

कात्तिक ३, २०८० १०:४८

अवैध अनलाइन सट्टेबाजी प्लेटफर्ममा नेपाली क्रिकेटरको फोटो राखी प्रचार

काठमाडौं । नेपालमा एकपछि अर्को अवैध अनलाइन सट्टेबाजीका प्लेटफर्म देखा पर्न थालेका छन् । केही समय अघिमात्रै फिफिया नामक सट्टेबाजी प्लेटफर्म मार्फत नेपालीहरु ठगिएकाे घटना टेकपानाले उजागर गरेकाे थियाे ।   फिफिया बन्द भएकाे केही समय नबित्दै अवैध अनलाइन सट्टेबाजीको नयाँ प्लेटफर्म ‘उल्फ ७७७’ सुरु भएकाे छ ।

पछिल्लो समया सामाजिक सञ्जालका विभिन्न प्लेटफर्ममा ‘उल्फ ७७७’ मा नेपाली क्रिकेटरको फोटो राखी प्रचार गरेको पाइएको छ । फेसबुक र इन्स्टाग्राममा 'उल्फ नेपाल' पेज खोलेर नेपाली क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेल र ब्याट्सम्यान दीपेन्द्रसिंह ऐरीको फोटो राखी अवैध अनलाइन सट्टेबाजीको प्लेटफर्मको प्रचार गरेको पाइएको हो ।

फेसबुकमा उल्फ नेपाल तथा इन्स्टाग्राम डब्लुएफ एनपी पेज खोल्दै क्रिकेटरद्वय ऐरी र पौडेलको फोटो राखी उल्फ ७७७ को प्रचार गरिएको छ । त्यस्ता पेजलाई अनाधिकारिक तवरबाट बुस्ट गरी प्रचार गर्ने कार्य भइरहेको छ । फोटो राखेर शेयर गरिएको पोस्टको क्याप्सनमा लेखिएको छ, “तपाईंको क्रिकेट स्पोर्ट्स आईडी प्राप्त गर्नुहोस् Wolf777 सँग खेल्नुहोस् र परम अफर प्राप्त गर्नुहोस्! ।”

र, तलपट्टी ह्वाट्सएपको लिङ्क राखिएको छ । सो लिङ्कमा क्लिक गर्दा भारतीय नम्बर +91 75999 44841 बाट खोलिएको ह्वाट्सएप च्याट खुल्छ । यसलाई उनीहरूले उल्फ ७७७ को ग्राहक सेवा नम्बर भनिएको छ । हामीले ग्राहक बनेर उल्फ ७७७ सँग कुरा गर्दा सो सो प्लेटफर्मका प्रतिनिधिले नेपालमा एजेन्ट रहेको र उनीहरूले नै रकम लोड गरिदिएपछि बेटिङ गर्न सकिने बताएका छन् । यस प्लेटफर्मको नाम सर्च गर्ने हो भने पनि सबैभन्दा माथि ‘अनलाइन क्यासिनो गेम तथा बेटिङ साइट भनिएको छ ।

आफूलाई एसियाको नम्बर वान बेटिङ प्लेटफर्म दाबी गर्ने उक्त साइट कूल प्रयोगकर्तामध्ये ०.४३ प्रतिशत नेपालीले प्रयोग गरेको देखिन्छ । फेसबुक, इन्स्टाग्राम र टिकटकमा यसको थुप्रै विज्ञापन भइरहेको देख्न सकिन्छ । मुलुकी अपराध संहिता २०७४ को धारा १२५ मा जुवा खेल्न वा सक्टेबाजी गर्न नहुने उल्लेख गरिएको छ । सोही धाराको उपधारा १ मा कसैले पनि जुवा खेल्नु वा खेलाउनु हुँदैन भनिएको छ । त्यस्तै धारा १२५ को उपधारा (४) मा कसैले सट्टाबाजी गर्न वा गराउनु हुँदैन भनिएको छ ।

त्यस्तै विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ को धारा ५ मा विज्ञापन गर्न नहुने उल्लेख छ । सोही धाराको उपधारा (१) को (ख) मा “जुवा खेल्न खेलाउन वा प्रचलित कानून बमोजिम अनुमति नलिएको चिठ्ठा किन्न किनाउन प्रोत्साहन गर्ने विषयलाई” विज्ञापन गर्न नहुने स्पष्ट उल्लेख छ ।

त्यसैगरी वैयक्तिक गोपनीयता सम्बन्धी ऐन, २०७५ को धारा १६ मा तस्बीर खिच्न वा बिक्री गर्न नहुने ऐन उल्लेख छ । धारा १६ को उपधारा (१) मा भनिएको छ, “कसैले कुनै पनि व्यक्तिको चरित्र वा सामाजिक प्रतिष्ठामा क्षति पुग्ने गरी निजको मन्जुरीविना निजको तस्विर खिच्न वा निजलाई बदनाम गर्ने नियतले निजको तस्वीरसँग अरु कसैको तस्विर राखी जुनसुकै तरिकाले अर्को तस्विर बनाउन वा एक व्यक्तिको तस्वीरको केही अंश अर्को व्यक्तिको तस्वीरको अर्को अंशसँग मिलाई अर्कै तस्विर बनाउन, प्रकाशन गर्न वा सार्वजनिक गर्न वा गराउन हुँदैन ।”

अवैध सट्टेबाजी प्लेटफर्म उल्फ ७७७ ले भने वैयक्तिक गोपनीयता सम्बन्धी ऐनलाई बेवास्ता गर्दै खुलेआम क्रिकेटरको फोटो राखेर प्रचार गरिरहेको छ ।

पछिल्लो अध्यावधिक: कात्तिक ३, २०८० १०:४८