close

फोनमा टिकटक चल्न छाड्यो ? तपाईँका लागि यी एप हुन सक्छन् विकल्प

टेकपाना टेकपाना

कात्तिक २९, २०८० १७:५८

फोनमा टिकटक चल्न छाड्यो ? तपाईँका लागि यी एप हुन सक्छन् विकल्प

काठमाडौं । नेपालमा हालै सरकारले टिकटकमाथि प्रतिबन्ध लगाउने घोषणा गर्‍याे । याे निर्णय तत्कालै कार्यान्वयनमा पनि गइसकेको छ । तर छोटा भिडिओ शेयर गर्ने प्लेटफर्म टिकटक मात्र होइन ।

बजारमा टिकटकको जस्तै प्रकृति भएका थुप्रै एप उपलब्ध छन् । तीमध्ये कतिपय भिडिओ एडिट गर्नेदेखि कतिपय फिचरमा टिकटकसँग मिल्दाजुल्दा छन् ।

हुन त मेटाको रिल र युट्युबको शर्ट्स पनि विकल्प हुन सक्छन् । तर ती पहिले अस्तित्वमा रहेका एपभित्र आएका फिचर नै भए । तर आज हामी छुट्टै प्लेटफर्म, जो टिकटकजस्तै छन्, तीबारे चर्चा गर्ने छौं । अहिले यस्ता एपहरू बग्रेल्ती पाइन्छन् । हामीले भने तीमध्ये टिकटकका विकल्पका रूपमा रहेका सात प्लेटफर्म छानेका छाैं:

फनिमेट (Funimate)

छोटो भिडिओ बनाउने, तिनको सम्पादन गर्ने एपका रुपमा फनिमेट एक उपयुक्त विकल्प हाे । यसको भिडि‌ओ एडिटरमा थुप्रै फिल्टर र ट्रान्जिसन, ओभरले र की फ्रेम जस्ता इफेक्ट छन् । यसमा बिल्ट इन भिडि‌ओ टेम्प्लेट र थुप्रै म्युजिक लाइब्रेरी रहेको छ ।

फनिमेट सशुल्क र नि:शुल्क दुवै तरिकाले चलाउन सकिन्छ । नि:शुल्क भर्सन प्रयोग गर्दा भिडिओहरूमा वाटरमार्क देखिन्छ ।

यो एप एन्ड्रोइडमा डाउनलोड गर्न यहाँ र आईओएसमा डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।  

लाइकी (Likee) 

करिब टिकटकसँग मिल्दोजुल्दो लाइकी शर्ट भिडिओ बनाउने र शेयर गर्ने प्लेटफर्म हो । भिडिओ शुटिङ गर्न तथा एडिट गर्न यसको आफ्नै टुल रहेको छ । जसमा भिजुअल इफेक्ट्स, म्युजिक, एनिमेशन तथा फिल्टरहरू रहेका छन् ।

भिडिओ रेकर्ड गर्नुअघि काउन्टडाउन टाइमर,सफ्ट फोकस तथा ब्युटी इन्ह्यान्स फिल्टर यसका केही उपयोगी फिचर हुन् । तर प्रयोगकर्ताले लाइभस्ट्रिम फिचर प्रयोग गरेर लामो आकारका भिडिओसमेत बनाउन सक्छन् ।

यो एप एन्ड्रोइडमा डाउनलोड गर्न यहाँ र आईओएसमा डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् । 

लेमन एट (Lemon8) 

यो एप हालै मात्र टिकटकको मातृ कम्पनी बाइटडान्सले सार्वजनिक गरेको हो । हुन त यसलाई इन्स्टाग्राम र पिन्ट्रेस्टको विकल्प भनेर चर्चा गरिन्छ । तर पनि यसबाट छोटा भिडिओहरू बनाउन र शेयर गर्न सकिने भएकाले टिकटकको विकल्पका रुपमा बताउन थालिएको छ ।

विशेषगरी यस एपमा यात्रा, सुन्दरता तथा स्वस्थ्य सम्बन्धी भिडिओ सामग्रीका लागि धेरै फिचर छन् ।  जसमा टेम्प्लेट, फिल्टर, फन्ट्स, स्टिकर आदि रहेका छन् ।

यो एप एन्ड्रोइडमा डाउनलोड गर्न यहाँ र आईओएसमा डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।

जुमराङ (Zoomerang) 

यो एउटा भिडिओ एडिटिङ तथा शेयरिङ एप हो । यसमा तपाईंले आफ्नो भिडिओ टेम्प्लेट बनाउनुका साथै त्यसलाई माेनिटाइज समेत गर्न सक्नुहुन्छ । यसमा भिडिओको ब्याकग्राउन्ड हटाउने र एआई इफेक्ट राख्ने फिचरहरू छन् ।

त्यस्तै एपमा भएको 'च्यालेन्जेज् ट्याब'मा तपाईंले विभिन्न च्यालेन्जहरू देख्न सक्नुहुन्छ । सामान्यत: एपले केही समयका लागि मात्र त्यस्ता च्यालेन्जहरू चलाउने भएकाले तपाईं अलि चनाखो भने हुनपर्छ ।

यो एप एन्ड्रोइडमा डाउनलोड गर्न यहाँ र आईओएसमा डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।

हडल्स (Huddles)

टिकटकको जस्तै इन्टरफेस भएको हडल्समा थुप्रै छोटा भिडिओहरू खिचेर एउटा बनाउन सकिन्छ । यसमा क्लिप एक पटक रेकर्ड भएपछि त्यसलाई पुन: सम्पादन वा फिल्टर गर्न सकिन्छ । तर प्रयोगकर्ताले भिडिओमा टेक्स्ट तथा म्युजिक थप्न सक्छन् ।

यसलाई सुरुमा बाइट र पछि क्लाश नामाङ्कन गरिएको थियो । अहिले भने हडल्सले चिनिन्छ । यसमा २१ सेकेन्डसम्मको छोटो भिडिओ शेयर गर्न सकिन्छ ।

यो एप एन्ड्रोइडमा डाउनलोड गर्न यहाँ र वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस् । 

ट्रिलर (Triller) 

यसले धेरैजसो सेलिब्रेटीहरूको कन्टेन्ट फिचर गर्ने गर्छ । तर त्यसो भन्दैमा यसबाट तपाईंले आफ्नो भिडिओ बनाउन नसक्ने भन्ने छैन । तपाईंले पनि यसबाट सजिलै आफ्नो भिडिओ बनाउन सक्नुहुन्छ । त्यसका लागि यसमा भिडि‌ओ एडिटिङ टुल दिइएको छ ।

त्यसबाट तपाईंले भिडिओ काँटछाँट गर्ने, फिल्टर हाल्ने, म्युजिक राख्ने जस्ता काम गर्न सक्नुहुन्छ । त्यस्तै भिडि‌ओ बनाउन साथीहरूसँग सहकार्य गर्न सक्नुहुन्छ । यो एप  २०१५ मा टिकटक आउनुअघि नै उपलब्ध थियो ।

यो एप एन्ड्रोइडमा डाउनलोड गर्न यहाँ र आईओएसमा डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।

स्नापच्याट (Snapchat)

हुन त स्नापच्याटलाई टिकटकको राम्रो विकल्प नमान्ने जमात ठूलो छ । तर पनि यसमा छोटो खालका भिडि‌‌ओ कन्टेन्ट थुप्रै भेट्न सकिन्छ । हुन त टिकटक प्रयोगकर्ताका लागि स्नापच्याटको इन्टरफेस केही अलमलाउने लाग्न सक्छ ।

यसमा फोटो तथा भिडि‌ओहरू क्षणिक समयका लागि मात्र रहन्छ । तर यसमा पाइने फिल्टरहरूका कारण भिडिओ आकर्षक र मन लोभ्याउने खालका देखिन्छन्  ।

यो एप एन्ड्रोइडमा डाउनलोड गर्न यहाँ र आईओएसमा डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।

पछिल्लो अध्यावधिक: कात्तिक २९, २०८० १८:१८