काठमाडौं । ल्यापटप चोरी गरेको आरोपमा सशस्त्र प्रहरीका एक जना सहायक प्रहरी निरीक्षक (असई) पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका-३ चटकपुरमा अवस्थित स्वस्तिक अस्पतालबाट एउटा ल्यापटप चोरी गरेको आरोपमा असई रमेश भण्डारी पक्राउ परेका हुन् ।
आरोपित भण्डारीले गत कात्तिक २६ गते राति पौने १२ बजेतिर अस्पतालको रिसेप्सनबाट ल्यापटप चोरी गरेको पाइएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रवक्ता एवमं प्रहरी नायब उपरीक्षक (डीएसपी) कुलदीप चन्दले जानकारी दिए ।
“अस्पतालले ल्यापटप चोरी भएको उजुरी दिएपछि सीसीटीभी फुटेज हेर्दै जाँद चोरी गर्ने असई भण्डारी भएको पत्ता लाग्यो,” टेकपानासँग कुरा गर्दै उनले भने, “त्यसपछि सशस्त्र प्रहरीको सहयोगमा उनलाई नियन्त्रणमा लिइएको हो । हाल चोरी मुद्दामा सात दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको छ ।”
दार्चुलाको ४३ नम्बर गणमा कार्यरत असई भण्डारी पोखरामा तालिम गरिरहेका थिए । तिहारको बिदामा धनगढीस्थित आफ्नो कोठामा जाने क्रममा उनले ल्यापटप चोरी गरेको डीएसपी चन्दले बताए ।