close

भीपीएन र डीएनएसमार्फत कसरी चल्छ टिकटक अनि कत्तिको छ खतरा ?

किरण तिम्सिना किरण तिम्सिना

मंसिर ५, २०८० १६:५५

भीपीएन र डीएनएसमार्फत कसरी चल्छ टिकटक अनि कत्तिको छ खतरा ?

यति खेर भीपीएन र ओपन डीएनएसको नाममा आम जनमानसमा त्रासयुक्त भ्रम फैलिरहेको छ । भीपीएन र डीएनएस भनेको इन्टरनेटको दुनियाँ अर्थात् आजको युगमा साधारण कुरा हो । 

हिंड्दा मान्छे लड्न सक्छ, त्यसको मतलब हिंड्न छोड्ने होइन । बरु हिंड्न सिक्ने हो । हिंड्नै छोड्नुपर्छ भन्ने किसिमको कथ्य बोकेर धेरै जना अगाडि आएको देखें । 

कतिपय सामाजिक सञ्जालका सेलिब्रिटीहरूले फेक तथा झुटा पोस्ट शेयर गरेको पनि पाइयो । त्यसैले एकदम सरल भाषामा भीपीएन भनेको के हो, डीएनएस के हो र सही तरिकाले प्रयोग गर्न जाने यी किन एकदमै राम्रा प्रविधि हुन् भन्ने विषयमा लेख्दैछु । 

चित्त बुझेको खण्डमा अथवा अरूले पनि बुझून् भन्ने लाग्यो भने शेयर पनि गरिदिनु होला । भीपीएन र डीएनएसको विषयमा चर्चा गर्नु अघि इन्टरनेटले कसरी काम गर्छ भन्ने विषयमा कुरा गरौं ।

हामी इन्टरनेट चलाउँदा https:// भनेको वेबसाइटहरूमा डेटा आउने र जाने दुवै इन्क्रिप्टेड हुन्छ भन्ने कुरा बुझ्नुपर्ने हुन्छ । यसको मतलब बीचमा कसैले हाम्रो डेटा (फाराममा राखेको युजरनेम, पासवर्ड आदि) पाउन सक्दैन ।

हाम्रो यस्तो डेटा इन्क्रिप्टेड भएर मोबाइल तथा कम्प्युटरबाट राउटर, राउटरबाट इन्टरनेट सेवा प्रदायक (आईएसपी) को अर्को राउटर, त्यो इन्टरनेट सेवा प्रदायकमा भएको डीएनएस सर्भर लगायत अन्य दर्जनौं सर्भर हुँदै हामीले भिजिट गर्न खोजेको वेबसाइटको वेब सर्भरसम्म पुग्छ । 

त्यसैगरी उताबाट पनि इन्क्रिप्टेड भएर त्यही बाटो प्रयोग गरी हाम्रो कम्प्युटर तथा मोबाइलसम्म आइपुग्छ अनि ब्राउजर तथा एपमा देखिने गर्छ । अब यो बीचमा हाम्रो राउटर ह्याक भएको हुन सक्छ, इन्टरनेट सेवा प्रदायक नै ह्याक भएको हुन सक्छ अथवा त्यस दौरान बीचमा जताबाट पनि डेटा क्याप्चर भएको हुन सक्छ । 

यो सबै हुन सक्छ भन्दैमा इन्टरनेट नै चलाउन छोड्ने होइन । त्यसैले हामीले वेबसाइट चलाउँदा https:// (यहाँनिर ख्याल गर्नुहोस् http:// नभई https:// हो है) भएको वेबसाइट मात्रै चलाउनु पर्छ । किन भने यस्तो वेबसाइटमा डेटा इन्क्रिप्टेड हुन्छ अनि बीचमा कसैले हाम्रो डेटा निगरानी गर्न तथा चोर्न सक्दैन र हामी सुरक्षित रहन सक्छौं । 

यो सेक्युरिटी चेन (सुरक्षा श्रृङ्खला) मा राउटर सबैभन्दा कमजोर विन्दु हो, त्यसैले विश्वसनीय वाईफाई नेटवर्क बाहेक अन्य वाईफाईमा आफ्नो डिभाइस कहिल्यै जोड्नु हुन्न । पब्लिक वाईफाई र रेस्टुरेन्ट वाईफाई यस्तोमा सबैभन्दा खतरनाक हुन्छन् । आफू सुरक्षित रहन सकेसम्म यस्ता वाईफाई प्रयोग गर्नबाट टाढा हुनु राम्रो मानिन्छ । 

 

डीएनएस के हो ? 

डीएनएसको पूरा रूप डोमेन नेम सर्भर हो । यसको काम हामीले खोजेको वेबसाइट (जस्तैः www.tiktok.com) इन्टरनेटमा कहाँ रहेको छ भनेर बताउने हो । साधारण अर्थमा यसको काम हामीले सोधेको प्रश्नको उत्तर दिने मात्रै हो । 

हाम्रो घरको ठेगाना जस्तै हरेक वेबसाइटको वेब सर्भरको एउटा ठेगाना हुन्छ, जसलाई आईपी एड्रेस भन्ने गरिन्छ । 

यस्तो आईपी एड्रेस पब्लिक (सार्वजनिक) र प्राइभेट (निजी) हुने गर्छ । हाम्रो घरमा हाम्रो फोन तथा कम्प्युटरको पनि आईपी एड्रेस हुन्छ, जस्तैः 192.168.1.10 । यो भनेको प्राइभेट आईपी एड्रेस हो । अर्थात् त्यो हाम्रो घरमा भएको राउटरले हामीले चलाइरहेको फोन तथा कम्प्युटरलाई दिएको एड्रेस हो ।  

त्यस्तै वेबसाइटको पनि आईपी एड्रेस हुन्छ, जस्तैः 72.119.23.99 । यो आईपी एड्रेस भने पब्लिक हुन्छ । 

एकदम सरल भाषामा भन्नु पर्दा एउटा वेबसाइटको एउटा युनिक आईपी एड्रेस हुन्छ । डीएनएस सर्भरले गर्ने काम भनेको यस्ता आईपी एड्रेस दिने मात्रै हो ।

 

डीएनएस परिवर्तन गर्दा कसरी चल्छ टिकटक ? 

हरेक इन्टरनेट सेवा प्रदायकसँग एउटा लोकल डीएनएस सर्भर पनि रहेको हुन्छ । खासमा हाम्रो आफ्नो फोन तथा कम्प्युटरमा पनि त्यसको एउटा सङ्‌क्षिप्त प्रकार रहेको हुन्छ । त्यो हाम्रो घरको राउटरमा पनि हुन्छ । 

इन्टरनेट सेवा प्रदायकसँग भने एउटा ठूलो डीएनएस सर्भर नै हुन्छ, जसले संसारको हरेक वेबसाइटको एड्रेस राखेको हुन्छ । जब हामी tiktok.com खोल्छौं, अथवा जब हाम्रो फोनको एपले टिकटक खोल्ने प्रयास गर्छ, इन्टरनेट सेवा प्रदायकको डीएनएस सर्भरले “त्यो त छैन” भन्छ अथवा त्यसको सही जवाफ दिनुको साटो अर्कै वेबसाइटको आईपी एड्रेस पठाउँछ । जहाँ “दिस वेबसाइट इज ब्लक्ड (This website is blocked)” भनेर देखाउँछ । 

यो काम इन्टरनेट सेवा प्रदायकले आफ्नो डीएनएस सर्भरमा गरेको हो । त्यही भएर हामीलाई फोन, कम्प्युटर तथा राउटर आदिमा “मलाई यो डीएनएस काम छैन, अर्को विश्वसनीय डीएनएस राख्छु” भन्ने विकल्प दिइएको हुन्छ ।  

वास्तवमा भन्ने हो भने इन्टरनेट सेवा प्रदायकको डीएनएस भन्दा गुगलको डीएनएस अथवा क्लाउड फ्लेयरको डीएनएस धेरै विश्वसनीय हुन्छ । त्यसैले उक्त डीएनएस सेट गर्दा वेबसाइट छिटो खुल्ने पनि गर्छन् । 

इन्टरनेट सेवा प्रदायकको डीएनएस भन्दा गुगल तथा क्लाउड फ्लेयर जस्तो कम्पनीको डीएनएस धेरै सुरक्षित पनि हुन्छ, जहाँ कसैले यत्तिकै ह्याक गरेर यताउति गर्न पनि पाउँदैन । 

 

त्यसो भए भीपीएन भनेको के हो ? 

भीपीएन भनेको भर्चुअल प्राइभेट नेटवर्कको सङ्‌क्षिप्त रूप हो । यसको अर्थ निकै उच्च किसिमको सुरक्षित प्राइभेट नेटवर्कबाट इन्टरनेट चलाउने प्रक्रिया भन्ने बुझिन्छ । 

यसले तपाईंलाई गोपनीयता प्रदान गर्छ । कुनै पनि वेबसाइट खोल्न खोज्दा तपाईंले कहाँबाट, कुन डिभाइस प्रयोग गरेर उक्त वेबसाइट खोलिरहनु भएको छ भन्ने कुरा त्यो वेबसाइटले थाहा पाउँछ । 

यसले गर्दा तपाईं ट्रयाक हुन सक्नु हुन्छ । त्यसकारण धेरै जनाले भीपीएन प्रयोग गर्छन् । 

भीपीएन प्रयोग गर्दा तपाईंको मोबाइल तथा कम्प्युटरले सबैभन्दा पहिला कुनै भीपीएन सर्भरलाई सोध्छ कि तपाईंलाई कुनै वेबसाइट खोल्नु छ ? जस्तैः टिकटक । 

अनि त्यो भीपीएन सर्भरले तपाईंको लागि tiktok.com खोलिदिन्छ र उक्त डेटा तपाईंको मोबाइल तथा कम्प्युटरमा पठाइदिन्छ । 

तर भीपीएनले तपाईं कहाँ हुनुहुन्छ, तपाईंले कुन डिभाइस प्रयोग गरिरहनु भएको छ भन्ने कुरा टिकटकलाई थाहा दिंदैन । किन भने टिकटकको लागि भौतिक रूपमा प्रयोगकर्ता भनेको भीपीएन सर्भर हुन्छ, तपाईं होइन । 

 

भीपीएनबाट खतरा छ कि छैन ? 

यदि तपाईं https:// वाला वेबसाइट चलाइरहनु भएको छ भने भीपीएन प्रयोग गर्दा पनि तपाईंको डेटा इन्क्रिप्टेड नै हुन्छ । http:// वाला वेबसाइट कहिल्यै चलाउनु हुँदैन भन्ने कुरा त हामीले यस अघि नै उल्लेख गरिसक्यौं । 

यति भइसकेपछि भीपीएन प्रयोग गर्दा नयाँ खतरा भने खासै केही आउँदैन । तर माथि उल्लिखित फाइदा भने तपाईंले अवश्य लिन सक्नु हुन्छ । 

त्यसो भन्दै गर्दा भीपीएनका केही नकारात्मक पक्षहरू छँदैछैनन् भन्न खोजिएको पनि होइन । त्यसको बारेमा पनि हामीले बुझ्न जरुरी छ । 

कुनै भीपीएनले तपाईंको डेटा सङ्कलन गरेर बसिरहेको हुन सक्छ अनि बिक्री गर्न सक्छ । यस्ता भीपीएनले सङ्कलन गर्ने डेटा भनेको तपाईंको लोकेसन, डिभाइस र तपाईंले कुन कुन वेबसाइटमा केके भिजिट गर्नु भएको छ भन्ने हो । अर्थात् जुन डेटा हामीले भीपीएन प्रयोग नगर्दा सोझै वेबसाइटहरूलाई दिइरहेका हुन्छौं, सोही डेटा हो । 

वेबसाइट मात्र नभएर, गुगलले पनि गुगल एनालिटिक्स प्रयोग गरिएका वेबसाइटबाट डेटा सङ्कलन गर्छ । उसले उक्त डेटा सोझै बिक्री भने गर्दैन । तर, विज्ञापनदातालाई भने अप्रत्यक्ष किसिमले विज्ञापनको रूपमा बिक्री गरिरहेको हुन्छ । 

भीपीएन सर्भर प्रयोग गर्ने बित्तिकै वेबसाइटसँग हुने डेटा ट्रान्सफर भीपीएन सर्भरमार्फत हुने गर्छ । यसो गर्दा डेटाले पार गर्ने बाटो लम्बिन्छ र इन्टरनेट केही स्लो पनि हुन्छ ।

केही वेबसाइटहरूले ट्रयाक गर्न पाइँदैन भनेर भीपीएन ब्लक गरिरहेका हुन्छन् । जस्तै नेटफ्लिक्स धेरैजसो भीपीएनबाट चलाउन मिल्दैन । 

निःशुल्क भीपीएनहरूले बीचमा वेबसाइटको डेटालाई तोडमोड गरी विज्ञापन घुसाउने, भाइरस पठाउने, आदि जस्ता गतिविधि गर्न सक्छन् । एन्ड्रोइडमा भएका निःशुल्क भीपीएनहरूमा यो समस्या धेरै पहिलेदेखि नै थियो । 

गुगलले यस्ता धेरै भीपीएन एपहरू हटाइसकेको  पनि छ । त्यसैले अविश्वसनीय निःशुल्क भीपीएन प्रयोग गर्नु हुँदैन । निःशुल्क भीपीएनहरूमा ओपेरा ब्राउजरको निःशुल्क भीपीएन सबैभन्दा विश्वसनीय भीपीएन मध्ये एक हो । 

 

पछिल्लो अध्यावधिक: मंसिर ५, २०८० १६:५५