close

सुशान्त केसीले हटाए युट्युबबाट नयाँ म्युजिक भिडिओ, यस्तो छ कारण

टेकपाना टेकपाना

मंसिर १७, २०८० २३:२०

सुशान्त केसीले हटाए युट्युबबाट नयाँ म्युजिक भिडिओ, यस्तो छ कारण

काठमाडौं । नेपाल प्रहरीबाट अनुमति नलिई भिडिओमा प्रहरीको पोसाक लगाएको दृश्य राखेपछि गायक तथा संगीतकार सुशान्त केसीले आइतवार बेलुका छ बजे सार्वजनिक गरेको म्युजिक भिडिओ युट्युबबाट हटाएका छन् । केसीले आइतवार राति सामाजिक सञ्जाल फेसबुकमा एक भिडिओ सार्वजनिक गर्दै सामग्री हटाउनुको कारण खुलाएका छन् ।

"हाम्रो भिडिओमा पुलिसको युनिफर्म युज भएको थियो," उनले भिडिओमा भनेका छन्, "केही दृश्यहरूका लागि हामीले अप्रुभल लिनुपर्ने भयो नेपाल पुलिसबाट । त्यसैले हामीले अहिलेलाई भिडिओ हटाउनुपर्‍यो ।" उनले प्रहरी कार्यालय वा अन्य कुनै निकायबाट भिडिओ हटाउन दबाब आएको थियो वा थिएन भन्नेबारे केही खुलाएका छैनन् । 

अब भिडिओका लागि के गर्ने भन्नेबारे टिमसँग बसेर छलफल गरिरहेको उनले बताए । केसीले आफ्नो सामाजिक सञ्जालका माध्यमबाट केही दिनअघि प्रहरी कार्यालयमा शुट भइरहेको फोटो सार्वजनिक गरेका थिए । त्यस्तै उनले आइतवार दिउँसो म्युजिक भिडिओको टिजर राख्दै बेलुका युट्युब च्यानलमा हेर्न सकिने बताएका थिए । 

गत भदौमा गायक प्रकाश सपुतले सार्वजनिक गरेको म्युजिक भिडिओको एक दृश्य विवादित बनेपछि नेपाल प्रहरीले कुनै पनि भिडिओमा नेपाल प्रहरीको पोसाक प्रयोग गर्नुपर्ने भए अनिवार्य रूपमा अनुमति लिनुपर्ने चेतावनी दिएको थियो ।

 

पछिल्लो अध्यावधिक: मंसिर १८, २०८० ८:५०