close

सुशासन समितिले अस्वीकार गर्‍यो रवि लामिछानेको एनसेलसँग सम्बन्धित भिडिओ

टेकपाना टेकपाना

मंसिर २२, २०८० १२:४७

सुशासन समितिले अस्वीकार गर्‍यो रवि लामिछानेको एनसेलसँग सम्बन्धित भिडिओ

काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पठाएको भिडिओ अस्वीकार गरेको छ । लामिछानेले शुक्रवार सामाजिक सञ्जालमार्फत आफू समितिको बैठकमा अनुपस्थित हुने भएकाले भिडिओ मार्फत प्रश्न राख्ने अनुमति मागे पनि समितिले नदिएको बताएका छन् ।

“म अहिले कतारमा छु । नेपालमा भर्खरै राज्य व्यवस्था तथा सुशासन समितिको बैठक सुरु भएको छ,” उनले लेखेका छन्, “भौतिक रूपमा उपस्थिति जनाउन नसके पनि, मेरा केही प्रश्नहरू भिडियोमार्फत् राख्न दिनु भनी अनुमति मागेँ । तर, नपाएपछि सो भिडियो सामाजिक सञ्जालमा पोष्ट गर्दै छु ।”

उनले सामाजिक सञ्जालमा अपलोड गरेको भिडिओमा सोधिएका आफ्ना प्रश्न सम्बन्धित निकायसम्म पुग्ने अपेक्षा गरेका छन् । उनले अगाडि लेखेका छन्, “हामीले पहिलेदेखिनै संसदको क्यालेन्डर बनाइनु पर्छ भनेर भन्दै आइरहेका छौं । तर, बनेको छैन । जसका कारण कतिपय अवस्थामा यस्ता महत्वपूर्ण बैठकमा हामी सहभागी हुन असमर्थ हुन्छौं । त्यसैले संसदले यसतर्फ ध्यान दिन जरुरी छ ।”

भिडिओमा लामिछानेले एनसेल शेयर खरिद-बिक्री सम्बन्धमा पाँच सदस्य छानबिन समिति गठन गरेकोप्रति आक्रोश व्यक्त गरेका छन् । “किन चाहियो हामीलाई हरेक कुरामा समिति,” उनले भनेका छन्, “प्रहरीलाई कारवाही गर्न समिति चाहिने, राजश्व छली पत्ता लगाउन समिति चाहिने, तस्कर समाउन समिति चाहिने, ट्राफिकले लाइसेन्स समात्यो भने पनि हामीलाई समिति चाहिने हो ? कर छली भएको समाचार आएपछि प्रधानमन्त्रीले कर कार्यालयसँग सम्बन्धित निकायलाई बोलाउने हो कि सत्ता गठबन्धनको बैठक बोलाउने हो ?”

विशेषगरी छानबिन समितिमा भएका सदस्यमाथि खनिंदै उनले भनेका छन्, “अनि छानबिन गर्ने कसले त भन्दा उनैले जसले महालेखाको ५५ औं प्रतिवेदनमा एनसेलको विवरण नै हटाए । कर छलीको छानबिन गर्न उनैलाई छानियो जसले प्रतिवेदनमै विवरण हटाएर सजिलो पारिदिए ।”

यसअघि नेपालमा रहेका अन्य विभिन्न विदेशी कम्पनीको शेयर खरिद-बिक्रीमा आजियाटाका प्रतिनिधि जस्तो राजनीति दलका नेतालाई भेट्न गएको वा लबिङ गरेको कहिले पनि नसुनिएको भन्दै उनले आजियाटाका प्रतिनिधिले राजनीति दललाई घरमै धाएर भेट्नुपर्ने अवस्था किन आयो भनेर समेत प्रश्न राखेका छन् । 

 

पछिल्लो अध्यावधिक: मंसिर २२, २०८० १३:१०