close

सुजल शर्माको ईभी अनुभवः १५० सीसीको बाइकभन्दा यो स्कुटर राम्रो छ

सुजल शर्मा

पुस ६, २०८० १२:३५

सुजल शर्माको ईभी अनुभवः १५० सीसीको बाइकभन्दा यो स्कुटर राम्रो छ

हाम्रो परिवार बिजुली गाडीमय छ । बुबा, दाइ, म सबैले बिजुली गाडी नै चलाउँछौं । यसकारण पनि नेपालमा केही समयअघि भित्रिएको बिजुली स्कुटर 'एथर ४५० एक्स' किन्नु सामान्य नै थियो ।

यो स्कुटर वैद्य अर्गनाइजेसनले नेपालमा सार्वजनिक गरेको समयमा नै हामीले किनेका थियौं । झट्ट कसैलाई नयाँ ब्रान्डको सामग्री किन्न अलि अप्ठ्यारो हुन्छ । हामीलाई भने यो ब्रान्डको स्कुटर किन्न कुनै सन्देह भएन ।

मैले पहिलेदेखि एथरबारे बुझिरहेका कारण ब्रान्ड थाहा थियो । भारतमा आएका प्रतिक्रियाहरू पनि हेरिरहेको थिएँ । आफ्टर सेल्स सर्भिस अर्थात् बिक्री पश्चातको सेवामा कुनै समस्या हुन्न भन्ने थाहा थियो ।

स्कुटर किन्दा हामीलाई चार लाख २० हजार मूल्य पर्‍याे । हामीले हाई रेञ्ज मोडेल लिएका हौं । हुन त तीन लाख ८५ हजारमा लो रेञ्ज मोडेल पनि पाइन्छ । दुवै स्कुटरको पफमेन्स एउटै भएता पनि रेञ्ज भने फरक छ ।

हामी पहिलो ग्राहक भएका कारण छुट मागेका थियौं । छुट पाइएन । बरु उहाँहरूले साइड स्टेप, टायर प्रेसर मोनिटरिङ सिस्टम (टीपीएमएस), सिट कभर, म्याट जस्ता एसोसरिज दिने भन्नुभयो । अहिलेसम्म ती सामान भने पाएका छैनौं । म स्कुटरमा टीपीएमएस भएको देख्न इच्छुक छु ।

स्कुटरको राम्रो पक्ष गुगल म्याप इन्टिग्रेटेड गर्नु हो । टच डिस्प्ले समेत भएकाले चलाउन पनि सजिलो छ । म प्राय: बाटोमा झुक्किरहेको हुन्छु, त्यस्तोमा मेरो लागि यो फिचर निकै उपयोगी बनेको छ । बाटो हेर्नका लागि भनेर मोबाइल चलाइरहनु पर्ने झन्झट हटेको छ । यसका लागि स्कुटरमा सिम राखिएको हुन्छ ।

कम्पनीले सिममा दुई वर्षसम्मको सब्सक्रिप्सन दिएको छ । त्यसपछि हामीले शुल्क तिर्नुपर्ने हुन्छ । कम्पनीले पानी परेको समयमा समेत स्क्रिनमा केही समस्या नहुने दाबी गरेको छ । अहिलेसम्म मैले पानी परेको समयमा स्कुटर कुदाएकै छैन । सायद आईईपी ६० रेटिङ भएकाले त्यस्तो समस्या नहोला ।

एथरले स्कुटरका लागि मोबाइल एप पनि उपलब्ध गराएको छ । जुन स्कुटरको आकर्षक हो । एपमार्फत कति रेञ्ज बाँकी छ ? ब्याट्री कति प्रतिशत बाँकी छ ? चार्ज कति पुगेको छ ? जस्ता कुरा हेर्न सकिन्छ । त्यस्तै स्कुटर कुन मोडमा चलाइयो ? कुदाउँदा उच्चतम गति कति पुग्यो ? कति किलोमिटर गुड्यो ? लगायतका कुरा पनि हेर्न मिल्छ । साथै एपमा आफ्नो कागजपत्र राख्न सकिन्छ । कागजपत्र घरमा छुटे एपको यो फिचर उपयोगी हुन सक्छ ।

मलाई एपको मन पर्ने फिचर ‘फाइन्ड स्कुटर’ र ‘फाइन्ड चार्जर’ हुन् । एथरको एप खासै ह्याङ हुँदैन । यद्यपि ‘सिमलेस कनेक्टिभी’ अर्थात् इयरबड खोल्नासाथ आईफोनसँग कनेक्ट हुने फिचर एपमा पनि भइदिए सजिलो हुन्थ्यो । एप चलाउँदा हरेक पटक ब्लुटुथ अन गर्नुपर्छ । यदि सिमलेस कनेक्टिभीटी भए एप चलाउन हरेक पटक सेटिङमा जानुपर्ने बाध्यता हट्थ्यो ।  

स्कुटरमा ३.७ किलोवाटको ब्याट्री छ, जुन निकाल्न मिल्दैन । यसमा २६ न्यूटन मिटरको टर्क छ । कुनै पनि स्कुटरका लागि त्यो धेरै हो । एथरका अनुसार यो स्कुटरले एक पटकको चार्जमा ११० किलोमिटर रेञ्ज दिन्छ । मैले करिब करिब त्यति वरपर रेञ्ज पाउँछु । उकालो बाटोमा रेञ्ज धेरै कम हुन्छ । ओरालोमा रिजेन भए पनि पर्याप्त हुँदैन । कतिपयले चार्जिङ समय धेरै भएको भन्छन् । मैले पनि त्यो महसुस गरेको छु । चार्जिङ समय कम भएको भए सजिलो हुन्थ्यो ।

यसमा रिभर्स मोड पनि छ । पार्किङको समयमा यो मोड निकै उपयोगी हुन्छ । मैले प्रयोग गरिरहने फिचरमा यो पनि पर्छ । स्कुटरको बुट स्पेस पर्याप्त नै छ । मलाई फुस फेस हेल्मेट मन पर्छ । तर त्यो भने बुट स्पेसमा अट्दैन । सानो आकारको हेल्मेट अट्छ, म प्राय: त्यही लगाउँछु । स्कुटरको बडी आल्मुनियम र स्टिलबाट बनाइएको छ । च्यासिस र सस्पेन्स निकै राम्रो छ ।

स्कुटरको अर्को मन पर्ने फिचर हो, अटोहोल्ड । यो फिचरका कारण उकालोमा तपाईंले ब्रेक थिच्नु पर्दैन । स्कुटरले नै ब्रेक थिचिदिन्छ ।  तर साँझको समयमा स्कुटर चलाउन भने हेडलाइटको ‘भिजिबिलिटी’ राम्रो छैन । म पहिले अर्को स्कुटर कुदाउँथे, त्यसको तुलनामा यसको हेडलाइट/हाई बिम त्यति शक्तिसाली छैन । स्ट्रिट लाइट बलेको खण्डमा असर हुँदैन । बाटो अँध्यारो हुँदा बाटो हेर्न समस्या हुन सक्छ ।

त्यस्तै दुवै टायरमा डिसब्रेक छ, जुन निकै उपयोगी छ । स्कुटरको डिजाइन पनि राम्रो छ । व्यक्तिगत रुपमा मलाई स्कुटरको रङ्ग पनि राम्राे लाग्छ । तर स्कुटरको ब्याट्री ८० प्रतिशतभन्दा माथि हुँदा एसी चार्ज गर्न नसकिने रहेछ । चार्ज गर्नैपरे डीसी चार्जिङ मात्र गर्न मिल्छ । एक पटक मैले यो स्कुटर कुदाउँदा ब्याट्री जिरोसम्म नै पुगेको छ ।

घरसम्म नपुगेपछि नक्साल शाेरुममा फास्ट चार्ज गर्न गएको थिएँ । त्यहाँ पुग्दा ब्याट्री जिरोमा पुगेको थियो । यस्तो हुँदा पनि यो स्कुटरबाट म अफरोड पनि गइसकेको छु । एक पटक घरमा फुल चार्ज गरेर नगरकोट पुगि फर्केर आएको हुँ । बीच बाटोमा मैले कतै चार्ज गरिनँ । घर पुग्दा अझै ब्याट्री २० प्रतिशत बाँकी थियो । त्यो यात्रा रमाइलो भए पनि डर भने कतै न कतै लागेको थियो । 

मलाई कुनै पनि नयाँ साधनमा भिज्न मन लाग्छ । अहिले बिहान उठ्नासाथ नजिकैको डाँडासम्म स्कुटर कुदाउन जान्छु । त्यो बाटोमा धेरै कर्नरहरू छन् । स्कुटरबाट कर्नरिङ गर्न पनि रमाइलो हुन्छ । कलेज पनि म स्कुटरबाटै नियमित गइरहेको हुन्छु । यसकारण एक महिनाभन्दा कम समयमा यो स्कुटर एक हजारभन्दा बढी किलोमिटर गुडिसकेको छ ।

हुन त कम्पनीले स्कुटरमा पाँच वर्ष अथवा ६० हजार किलोमिटरसम्मकाे वारेन्टी दिएको छ । ब्याट्रीको स्वास्थ्य ७० प्रतिशतभन्दा बढी बिग्रिए कम्पनी आफैंले परिवर्तन गरिदिने बताएको छ । त्यस्तै मोटरमा तीन वर्ष, लाइट, बेल्टमा लगायतका भागमा पनि कम्पनीले वारेन्टी दिएको छ । कतिपय अवस्थामा कुनै पनि १५० सीसीका बाइकभन्दा यो स्कुटर राम्रो छ । मलाई लाग्छ, फिचरको मामिलामा बजारमा भएकामध्ये यो उत्कृष्ट स्कुटर हो । 

पछिल्लो अध्यावधिक: पुस ६, २०८० १३:५४