close

रोड टेस्ट नगरी ड्राइभिङ लाइसेन्स दिने प्रक्रिया गलत छ: गृहमन्त्री लामिछाने

टेकपाना टेकपाना

बैशाख २, २०८१ ११:३४

रोड टेस्ट नगरी ड्राइभिङ लाइसेन्स दिने प्रक्रिया गलत छ: गृहमन्त्री लामिछाने

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले ‘रोड टेस्ट’ नगरी ड्राइभिङ लाइसेन्स दिने प्रक्रिया गलत भएको बताएका छन् । आइतबार उपत्यका ट्राफिक प्रहरी कार्यालयद्वारा आयोजित ‘ट्राफिक सचेतना विशेष अभियान- २०८१’ को उद्घाटन गर्दै गृहमन्त्री लामिछानेले रोड टेस्ट नगरी लाइसेन्स दिने प्रवृत्ति परिवर्तन गर्नुपर्ने बताए । 

“ड्राइभरलाई सवारी लाइसेन्स दिने निकाय एउटा छ,” गृहमन्त्री लामिछानेले भने, “त्यो लाइसेन्स प्राप्त गरेको मानिसले सही ढङ्गले सवारी चलाएको छ कि छैन भन्ने कुरा रेगुलेट गर्ने निकाय अर्को छ । म त भन्छु रोड टेस्ट नगरी ड्राइभिङ लाइसेन्स दिने जुन परिपाटी छ त्यो परिपाटी नै ठीक छैन । त्यसलाई परिवर्तन गर्नुपर्ने छ ।” 

ट्रायल परीक्षण गर्ने ठाउँमा अङ्ग्रेजी अक्षरको ८ बनाएकै भरमा सामान्य टेस्ट गरेर लाइसेन्स दिने प्रवृत्ति गलत भएको उनकाे भनाइ छ ।

सवारी चालक अनुमति पत्र प्राप्त गर्ने प्रक्रिया जटिल बनाउनुपर्छ भन्ने मान्यता नभए पनि सडकमा सवारी बोकेर जाने मान्छेलाई ट्राफिक नियम थाहा हुनुपर्ने र राम्रोसँग सवारी सञ्चालन गर्न सकेपछि मात्र लाइसेन्स दिनुपर्नेमा उनले जाेड दिए ।

“ड्राइभिङ लाइसेन्स पाउन तपाईं योग्य हुनैपर्छ,” उनले भने, “रोड टेस्ट नगरी लाइसेन्स दिंदा आज सीप नभएका मान्छेले सवारी चलाउँदा सहरी क्षेत्रमा धेरै दुर्घटना भएको छ । दुर्घटनाको मृत्युदर हेर्दा धेरै दुर्घटना बाइकर्सको बढी देखिएको छ ।”

यसलाई न्यूनीकरण गर्नका लागि लाइसेन्स वितरणको प्रक्रिया सुधार गर्नुपर्ने उनको धारणा छ ।

पछिल्लो अध्यावधिक: बैशाख २, २०८१ १४:२३