close

स्पेयर टायरले लोभ्याउने सिट्रोन ईभीमा लिक्विड कुलिङ पनि भइदिए अझै राम्रो हुने थियो*

मनोहर कोइराला

पुस १६, २०८० ११:२०

स्पेयर टायरले लोभ्याउने सिट्रोन ईभीमा लिक्विड कुलिङ पनि भइदिए अझै राम्रो हुने थियो*

म कार्यरत कम्पनीले बिजुली गाडी खरिद गर्ने निर्णय गरेको थियो ।  त्यसपछि हामी मूल्य र फिचर सुहाउँदो गाडीको खोजीमा थियौं । त्यसै बिच म सिट्रोन ब्रान्डसँग ठोक्किन पुगें । 

सिट्रोनसँगको मेरो सम्बन्ध पुरानो थियो । घरमा कान्छा हजुरबाले यही ब्रान्डको गाडी चलाउनु हुन्थ्यो । त्यसकारण यो ब्रान्डसँग पहिले देखि नै परिचित थिएँ । गाडी हेर्ने क्रममा नै सिट्रोन ई सीथ्री हेर्न पुगेका थियौं । 

टेस्ट ड्राइभ पनि गर्‍यौं । मूल्य पनि बुझ्यौं । सबै हाम्रो अनुकूल भएपछि यो गाडी खरिद गर्‍यौं । त्यसबेला हामीले खरिद गरेको मूल्यमा यत्तिको फिचर भएको गाडी अन्य ब्रान्डमा थिएन ।

यो गाडीबाट अहिलेसम्म म दुई पटक राजमार्गको यात्रामा गइसकेको छु । एक पटक काठमाडौंबाट चितवन, चितवनबाट हेटौंडा र हेटौंडाबाट मकवानपुरगढी हुँदै टीका भैरवको बाटो भएर पुन: काठमाडौं फर्किएको थिएँ। अनि अर्को काठमाडौंबाट बन्दीपुर र बन्दीपुरबाट काठमाडौं । 

पहिलो यात्रामा निस्किनु अघि काठमाडौंमा गाडी फुल चार्ज गरेको थिएँ । त्यो यात्रामा हामी तीन जना थियौं । गाडीमा एसी अन थियो । अनि डिकी भरी सामान । रिजेनका कारण चितवन पुग्दा जम्मा ३०/३५ प्रतिशत मात्र चार्ज सकिएको थियो । 

चितवनबाट जगतपुर २५ किलोमिटर छ । त्यहाँ पुग्दा गाडीले अझैं ८५ किलोमिटर रेञ्ज देखाइरहेको थियो । ब्याट्री प्रतिशत भने ख्याल गरिनँ । अनि अर्को दिन फर्केर हेटौंडा आउनु पर्ने थियो । 

त्यसैले बास बसेको होटलमा एसी चार्ज गर्ने सोच बनाएँ । तर अर्थिङ लगायतको कुरा नमिलेर चार्ज गर्न पाइनँ । अनि भरत‍पुर पुगेर मात्रै डीसी चार्जरमा लगाएँ । 

दशैंको समय भएर पनि गाडी चार्ज गर्न भरतपुरमा खासै कुर्नु परेन । त्यहाँ करिब एक घण्टा चार्ज गरेर ९० प्रतिशत पुर्‍याएपछि निस्कें ।

डीसी चार्ज गर्ना साथ हिंड्न भने पाएको थिइनँ । किनकी तराईंको तापक्रम अलि बढी हुन्छ । त्यसो हुँदा डीसी चार्ज गर्ना साथ कुदाउँदा ब्याट्री हिटको वार्निङ आउँछ । 

रिभ्यु हेरेर मैले यो कुरा थाहा पाएको थिएँ । त्यस्तो समस्या आउँछ भनेर मैले तत्कालै यात्रा थालिनँ । केही समय फर्खेर जाँदा समस्या भएन । 

तर यो एउटा बेफाइदा कुरा हो । गाडीमा लिक्विड कुलिङ भइदिएको भए त्यसरी कुर्नु भने पर्दैन थ्यो ।

त्यसपछि म हेटौंडा पुगें । हेटौंडामा चार्ज गर्न समस्या भएन । बास बसेको होटलमा एसी चार्जिङ थियो । रातभर गाडीलाई एसी चार्जिङमा राखिदिएँ । 

भोलि पल्ट मकवानपुरको टीका भैरवको बाटो हुँदै घर फर्किनु पर्ने थियो । त्यो बाटो उकालो छ । मैले एसी अन नै गरेको थिएँ । गाडी इको मोडमा थियो । 

जब गाडी उकालोमा चढ्न थाल्यो, तब क्रमशः रेञ्ज घट्न थाल्यो । घरको दुरी २७ किलोमिटर देखाउँदा गाडीमा ४५ किलोमिटर मात्र  रेञ्ज बाँकी थियो । गाडीमा भएका अरूलाई मैले ‘रेञ्ज ह्वात्तै घटिरहेको छ । अझैं उकालो छ । जे पनि हुन सक्छ, तयारी हुनु’ भनेको थिएँ । 

पहिलो पटक मलाई रेञ्ज एन्जाइटी भएको थियो । ओरालो बाटो आएपछि भने त्यो डर कम भयो । किनकी गाडीमा रिजेन थियो । घर पुग्दा  मसँग अझैं १०२ किलोमिटर रेञ्ज बाँकी थियो । 

यो यात्रामा नै मैले गाडीको औसत रेञ्जको हिसाब गरेको थिएँ । किनकी काठमाडौंबाट भरतपुर १३५ किलोमिटर टाढा छ । 

त्यहाँबाट जगतपुर २५ किलोमिटर । यसको आधारमा मैले रेञ्जको हिसाब गरेको हुँ । मौसम गर्मी नै भएकाले यात्राभर गाडीमा एसी अन थियो । त्यस्तै अवस्थामा १६० किलोमिटर दुरी पार गरेर जगतपुर पुगिसकेका थियौं । 

तर अझैं ८५  किलोमिटर रेञ्ज बाँकी रहेको थियो । अर्थात् यो गाडीले एक पटकको फुल चार्जमा औसत २५० किलोमिटर रेञ्ज दिने रहेछ ‍। 


अर्को यात्रा (काठमाडौं-बन्दीपुर-काठमाडौं) मा भने मलाई केही पनि समस्या भएन । यो यात्रामा निस्कनु अघि पनि काठमाडौंमा नै फुल चार्ज गरेको थिएँ । 

त्यही चार्जले म बन्दीपुर पुगें । यो गाडीको ओडोमिटर निकै साधारण छ । रेञ्ज हेर्दा ब्याट्री प्रतिशत देखिंदैन । 

ब्याट्री प्रतिशत हेर्दा रेञ्ज हेर्न मिल्दैन । अर्थात् एक पटकमा एउटा मात्र सूचना हेर्न सकिन्छ । त्यसो हुँदा मैले ब्याट्री प्रतिशत नहेरेर रेञ्ज मात्र हेरिरहेको थिएँ । 

बन्दीपुरको उचाईमा पुग्दा ४५ किलोमिटर जतिको रेञ्ज बाँकी थियो । अर्को बिहान करिब चार घण्टा चार्ज गरेपछि रेञ्ज १७० किलोमिटर जति पुग्यो । 

त्यो दिन म कुरिनटार पुग्नुपर्ने थियो । त्यति रेञ्जले पुगिहाल्छु भनेर म कुरिनटार फर्किएँ । अनि कुरिनटारको रिसोर्टमा मैले गाडी फुल चार्ज गरें । 

त्यहाँबाट काठमाडौं फर्कदा म्याप अन राखेको थिएँ । घरसम्मको दुरी १३० किलोमिटर वरीपरी देखाएको थियो । नौबिसेसम्म बिना कुनै समस्या सजिलै आएँ । 

धार्केमा फास्ट चार्जिङ छ, चार्ज गरौं भनेर श्रीमतीले भनेकी थिइन् । म भने गाडीको रेञ्जले पुग्छ, सोझै घर जाऔं भन्ने पक्षमा थिएँ । 

बल्खु त जसरी पनि पुगिन्छ, घर नपुगे त्यहाँ पुगेर चार्ज गरौंला भन्ने सोचमा थिएँ । अनि धार्केमा चार्ज नगरी नौबिसेको उकालो उक्लन थाल्यौं । त्यहाँ रेञ्ज स्वात्तै घट्यो । 

त्यसबेला मभन्दा अरू दुई जना रेञ्ज एन्जाइटीको सिकार भए । नागढुङ्गाबाट ओरालो झर्न थालेपछि फेरि रिजेन हुन थाल्यो । घर आइपुग्दा अझैं ९० किलोमिटर जति रेञ्ज देखाइरहेको थियो । 

यी दुई यात्रा थाल्नु अघि नै मलाई ‘प्री ट्राभल एन्जाइटी’ थियो । विद्युत् प्राधिकरणको चार्जिङ स्टेसनबारे थाहा थियो । मोबाइल एप पनि डाउनलोड गरेको थिएँ  । 

लाइन बस्नु पर्‍यो अथवा अन्य केही गर्नु पर्‍यो भने गाह्रो हुन्छ भन्ने डर थियो । भाग्यवश यी दुवै यात्रामा बाहिर चार्ज गर्न समस्या भएन । किनकी भरतपुरबाहेक अन्य ठाउँमा डीसी चार्जिङ नै गरिनँ । 

भरतपुरमा डीसी चार्जिङ गर्न जाँदा एउटा मात्र गाडी थियो । म पुग्दा त्यो गाडिको चार्ज झन्डै ६०/७० प्रतिशत पुगिसकेको थियो । करिब ८० प्रतिशत चार्ज गरेपछि चालकले झिक्नु भयो । 

त्यसपछि मैले चार्ज गरें । गाडी चार्ज हुन लाग्ने ४०/४५ मिनेट अल्छी लाग्दो हुने रहेछ । चार्जिङ स्टेसनमा टहलाउन अरू कुनै सुविधा छैन । कुरेर बस्नु बाहेक विकल्प देखिंन । 

त्यसबेला मेरी श्रीमतीले चार्जिङ स्टेसन अगाडि क्याफे राखे हुन्थ्यो भन्ने कुरा गरेकी थिइन् । खासमा त्यो राम्रो विचार हो । व्यापार हुन्छ । चार्ज गर्दा मान्छेहरू टहलाउँछन् । 

बल्खुमा पनि मैले त्यही कुराको अनुभव गरेको थिएँ । त्यहाँ पहिलो पटक जाँदा म र मेरो साथी गएका थियौं । गाडीलाई चार्जमा राखेपछि गफ गर्नु बाहेक अन्य विकल्प नै थिएन । 

काठमाडौंबाट बाहिर जाँदा फुल चार्ज गरेर मात्र जाने गर्छु । तर काठमाडौंमा हुँदा भने त्यस्तो कुनै रुटिन पछ्याउँदिन । घरमा नै गाडी एसी चार्ज गर्दा फुल हुन ८ देखि १० घण्टासम्म लाग्छ । 

यसो हिसाब गर्दा एक घण्टामा १० प्रतिशत चार्ज हुने रहेछ । हामीले अफिसमा पनि एसी चार्जिङ जडान गरेका छौं । प्राय: हप्तामा एक पटक मात्र चार्ज गर्ने मेरो बानी छ । 

कहिलेकाँही हप्तामा दुई पटकसम्म चार्ज गरेको हुन सक्छु । मैले काठमाडौंमा नै ब्याट्री सबैभन्दा कम हुँदा गाडी कुदाएको थिएँ । 

त्यसबेला ब्याट्री २० प्रतिशत जति मात्र बाँकी थियो । तर गाडीमा भएका कुनै फिचर बन्द भएको थिएन । 

प्राय: अहिले सबै गाडीमा ब्याट्री प्रतिशत, रेञ्ज लगायत अन्य कुरा ओडोमिटरमा नै देखिन्छ । यसको ओडोमिटर भने अति सामान्य छ । 

त्यसले कहिलेकाहीं समस्या दिन्छ । सबै सूचना एकै पटकमा हेर्न मिल्ने भए गज्जब हुन्थ्यो । एउटा ग्राहकले यो माग गरिरहनु पर्ने कुरा होइन । मैले यसको नराम्रो अनुभव केही ठाउँमा गरेको छु । 

गाडीको ओडोमिटर सामान्य छ भन्ने थाहा थियो ।  तर गाडी किन्ने समयसम्म यस्तो हुन्छ भनेर मलाई थाहा भने थिएन । यद्यपि गाडी कुदाउनै अप्ठ्यारो भने बनाएको छैन । 

गाडीको साइड मिरर अटोमेटिक छैन । मलाई यो कुरा गाडी किन्दा नै थाहा थियो । त्यसबेला चित्त पनि बुझेको थिएन । काम चलाउन सकिन्छ भनेर नै सम्झौता गरेको थिएँ । 

अहिले मिररको छेवैमा ३६० डिग्री खिच्न सक्ने क्यामेरा राखेको छु । त्यही भएर मिररको अलाइनमेन्ट नमिले पनि समस्या हुँदैन । पछाडिको झ्यालको सिसा खोल्ने विकल्प कप होल्डरमा दिइएको छ, जुन झ्यालमै भए सजिलो हुन्थ्यो । एसी पनि अगाडि मात्र छ । 

यो कुरालाई लिएर पछाडि बस्नेले गुनासो भने गरेका छैनन् । बरु चितवन, हेटौंडाको बाटोमा पनि चिसो नै भयो भनेका थिए । 

गाडीको इन्टेरियर (भित्री) डिजाइनसँग सन्तुष्ट छ । किन्ने बेला पनि हेरेको हुँ । गाडीको स्क्रिन मलाई मन परेको भाग हो । यो १० इन्चको छ । 

भद्दा छैन । अगाडिको भ्यु पनि छेक्दैन । चालकका लागि चाहिने सबै कुरा भने यसमा छैन । गाडीको ग्राउन्ड क्लियरेन्स पनि राम्रो भएको मैले पाएँ । 

कम्पनीले १८० एमएम भनेको छ । टीका भैरवको अफरोड बाटो आउँदा गाडीले तल छुन्छ कि भनेर अलि डराएको थिएँ । ब्याट्री तल्लो भागमा छ । 

सुरक्षाका लागि स्टील गार्ड राखिएको छ । बिजुली गाडीमा ब्याट्री जोगाउनु भनिन्छ । मैले विस्तारै गुडाएँ । त्यसकारण कतै पनि गाडीले भुईं छोएन । 

गाडीको पिकअप र पावर पनि राम्रो छ । बन्दीपुरको उकालो बाटोमा समेत मैले इको मोडमा नै गाडी चलाएको थिएँ । अब चार्जिङ स्टेसनको व्यवस्था भए यो गाडीलाई जहाँ पनि लान सक्ने विश्वास आएको छ ।


गाडीमा स्पेयर टायर दिइएको छ । गाडी किन्ने बेला सुरुमा नै मन परेको सुविधा यही थियो । स्पेयर टायरका कारण बुट स्पेस सानो भएको छैन । किनकी ती दुवै यात्रामा तीन जनाको सामान मजाले अटेको थियो । 

गाडीको हेड लाइटमा पनि खासै समस्या छैन । रातको समयमा गाडी कुदाउँदा सजिलो नै हुन्छ । तर ड्राइभर सिट नजिककै प्यासेन्जर सिटका लागि ह्यान्ड रेस्ट छैन । 

त्यहाँ बस्ने धेरैले यसको गुनासो गरेका छन् । अहिले धेरै गाडीको चाबीमा पुस बटन आउने गर्छ । यो गाडीको चा‍बीमा त्यस्तो विकल्प दिइएको छैन । यदि त्यो सुविधा पनि भइदिएको भए धेरै राम्रो हुने थियो । 

अहिलेसम्म गाडीलाई एक पटकमात्र सर्भिसिङमा लगेको छु । कम्पनीले नै दुई हजार किलोमिटर दुरी पार गरेपछि सर्भिसिङ गराउनु भनेको थियो । त्यो अनुसार नै म सर्भिसिङ गराउन गएको थिएँ । 

अहिलेसम्म सर्भिस सेन्टर एकै ठाउँमा मात्र छ । जुन सुधार गर्नु पर्ने कुरा हो । किनकी म पेप्सिकोला बस्छु । अफिस गौरीघाटमा छ । 

अनि सर्भिस सेन्टर सीतापाइलामा । त्यो एक दुई घण्टामा मैले गर्ने काम केही हुँदैन । खैर, सर्भिसिङमा भने मेरो कुनै गुनासो छैन । सर्भिसिङको क्रममा प्राविधिकले गाडीको सामान्य परीक्षण गरेका थिए ।  

मेरो गाडीको सर्भिस वार्निङ लाइट पहिले बल्थ्यो । त्यो अफ गरिदिनु भयो । ब्याट्रीको स्वास्थ्य जाँच गरिदिनु भयो । यी सबै परीक्षण गर्न भने कुनै शुल्क लागेन । 

अहिले यो गाडीको भन्दा कम मूल्यमा बढी फिचर सहितका अरू गाडीहरू नेपाल भित्रिसकेका छन् । तर ती सबै कार सेग्मेन्टमा छन् । यो गाडीलाई कम्प्याक्ट एसयूभी नै मान्नु पर्छ । 

गाडी चलाउँदा त्यसको महसुस हुन्छ । फेरि यो गाडी किन्ने सोच व्यक्तिगत नभएर संस्थागत थियो । त्यो सोचाइ ठीकै थियो । हामीलाई गाडीको मूल्य ३५ लाख रुपैयाँ परेको थियो । 

जसमा ४० हजार छुट पनि थियो । चिनजानका आधारमा नभएर छुट मागेका कारण नै कम्पनीले दिएको थियो । 


 

*यसअघिको शीर्षकमाम 'स्पेयर टायरले लोभ्याउने सिट्रोन ईभी चार्ज गर्ने बित्तिकै गुडाउन नमिल्ने रहेछ' उल्लेख भएकोमा त्यसले नकारात्मक सन्देश दिएको  गुनासो आएपछि परिवर्तन गरिएको छ । -स.

पछिल्लो अध्यावधिक: पुस १८, २०८० १३:२४