close

पशुपतिमा हुने आरतीको भिडिओ सामाजिक सञ्जालमा राखे बुढासुब्बा डिजिटलको कपिराइट लाग्ने

टेकपाना टेकपाना

पुस १९, २०८० १६:३६

पशुपतिमा हुने आरतीको भिडिओ सामाजिक सञ्जालमा राखे बुढासुब्बा डिजिटलको कपिराइट लाग्ने

काठमाडौं ।  अब पशुपति आर्यघाट क्षेत्रको बागमती नदी किनारमा हुने गङ्गा आरती र कोर क्षेत्रमा हुने दीप प्रज्वलनको भिडिओ खिचेर सामाजिक सञ्जालमा राखे कपिराइट लाग्ने भएको छ ।

पशुपति क्षेत्र विकास कोष र बुढासुब्वा डिजिटल प्रालिले एक सूचना निकाल्दै पशुपति क्षेत्रमा भिडिओ खिचेर सामाजिक सञ्जालमा राखे कपिराइट ऐन अन्तर्गत कारवाही गर्ने चेतावनी दिएका हुन् । कोषका सूचना अधिकारी रेवतीरमण अधिकारीले टेकपानासँग कुरा गर्दै पशुपति क्षेत्रमा भिडिओको टेन्डर बुढासुब्वा डिजिटलले पाएकाले सो कम्पनीले सम्झौतामा उल्लेख भए अनुसार कसैले व्यावसायिक प्रयोजनका लागि भिडिओ राखे कपिराइट लगाउनसक्ने बताए  ।

“६ भदौ २०८० मा बुढासुब्वा डिजिटलले  पशुपति क्षेत्रकाे भिडिओ अधिकारको टेन्डर पाएको थियो,” उनले भने, “त्यो कम्पनीलाई कति अधिकार दिने भन्ने कुरा सम्झौतामा उल्लेख छ । उसले त्यसमा भएको सम्झौता अनुसार बुढासुब्बाले त्यहाँको भिडिओ राखे कपिराइट लगाउने तयारी गरिरहेको छ ।”

पशुपति क्षेत्रमा फोटो, लाइभ भिडिओ, आरतीको भिडिओ खिच्ने अधिकार बुढासुब्बाले पाएकाले उसले त्यहाँ व्यावसायिक प्रयोजनका लागि राखेको भिडिओमा कपिराइट लगाउन पाउने उनले बताए ।

“कसैले पशुपतिमा गएर ब्रतबन्ध गरेको छ, न्वारन गर्न आएको छ भने त्यस्तोमा सम्झनाका लागि फोटो भिडिओ खिच्न नपाउने भन्ने हुँदैन,” उनले भने, “त्यसबाहेक आरतीमा आफू गएको छु भन्ने जानकारी दिन सामाजिक सञ्जालमा भिडिओ राखे पनि कपिराइट लाग्दैन । तर, आम्दानी गर्ने उद्देश्यले भिडिओ राखे बुढासुब्बाले कपिराइट लगाउन सक्छ ।”

बुढासुब्वा डिजिटलले सामाजिक सञ्जालमा अपलोड भएको भिडिओको प्रकृति हेरी आम्दानी गर्ने उद्देश्यले राखेको पाएमा कपिराइट लगाउने उनले सुनाए ।

सार्वजनिक सूचनामा लेखिएको छ, "यहाँ खिचिएका भिडियो सामग्री फेसबुक, इन्स्टाग्राम, टिकटक तथा युट्युबमा व्यावसायिक प्रायोजनका लागि राखिएको थाहा भएमा डिजिटल कपिराइट ऐन अन्तर्गत कारवाही हुने जानकारी गराउदछौं ।"

 

 

पछिल्लो अध्यावधिक: पुस १९, २०८० १६:३६