close

अब इन्स्टाग्रामले १८ वर्ष तलका प्रयोगकर्तालाई पठाएका अश्लील तथा नग्न फोटो ब्लर गरिदिने

टेकपाना टेकपाना

चैत ३०, २०८० १३:४३

अब इन्स्टाग्रामले १८ वर्ष तलका प्रयोगकर्तालाई पठाएका अश्लील तथा नग्न फोटो ब्लर गरिदिने

काठमाडौं । इन्स्टाग्रामले अब १८ वर्ष मुनिका प्रयोगकर्तालाई पठाइएका नग्न तस्वीर ब्लर गरिदिने भएको छ । खासगरी आफ्नो प्लेटफर्ममा रहेका बालबालिकालाई दुर्व्यवहार र यौन शोषण जस्ता घटनाबाट जोगाउन यस किसिमको फिचर ल्याउन लागिएको हो ।

मेटाले बिहीबार घोषणा गरेको यो नयाँ फिचरले नग्नता पहिचान भएका तस्वीर ब्लर गर्नुका साथै प्रयोगकर्तालाई त्यस्ता तस्वीर पठाउनबाट समेत निरुत्साहित गर्नेछ ।

इन्स्टाग्राम अकाउन्टमा रहेको जन्म मितिको आधारमा किशोरकिशोरी तथा नाबालिग प्रयोगकर्ता पहिचान गरेर उनीहरूको अकाउन्टमा यो फिचर डिफल्ट रूपमा नै इनेबल अर्थात् सक्रिय हुनेछ । त्यस्तै बालिग तथा वयस्क प्रयोगकर्तालाई समेत यो फिचर अन तथा सक्रिय पार्न एउटा नोटिफिकेसन मार्फत प्रोत्साहित गरिने उल्लेख छ ।

मेटा अन्तर्गत रहेका फेसबुक र इन्स्टाग्रामका कारण कलिलो उमेरका प्रयोगकर्तालाई हानी पुग्ने गरेको भन्ने आलोचना लामो समयदेखि हुँदै आएको छ । त्यसैलाई पछ्याउँदै कम्पनीले यो प्रयास थालेको हो ।

त्यति मात्र नभई बालबालिकाहरूको मानसिक स्वास्थ्यमा नकारात्मक असर पुर्‍याउने र जानाजान उनीहरूका शरीरका तस्वीर लिएर दुर्व्यवहार  गर्ने अभिभावकलाई मञ्च प्रदान गर्ने र बालबालिकाको खोजीमा रहेका अपराधीका लागि बजार तयार पार्ने गरेको जस्ता आरोप समेत फेसबुक र इन्स्टाग्राममाथि लाग्ने गरेका छन् ।

वाल स्ट्रिट जर्नलका अनुसार यो नयाँ फिचर आउँदो सातादेखि परीक्षण गरिनेछ र त्यसपश्चात अर्को केही महिनामा विश्वव्यापी रूपमा उपलब्ध गराइनेछ ।

मेटाका अनुसार यो फिचरले इन्स्टाग्रामको डाइरेक्ट मेसेजिङ (डीएम) सर्भिसबाट पठाइएको कुनै तस्वीरमा नग्नता छ कि छैन भन्ने कुराको विश्लेषण गर्न डिभाइस तथा उपकरणमा आधारित रहेको मसिन लर्निङ प्रयोग गरिनेछ र रिपोर्ट प्राप्त नभएसम्म त्यस्ता तस्वीरमा कम्पनीको पहुँच रहने छैन ।

जब यो सुरक्षा तथा संरक्षण फिचर सक्रिय हुन्छ, त्यसपछि नग्न तस्वीर प्राप्त गर्ने इन्स्टाग्राम प्रयोगकर्तालाई प्रतिक्रियाका लागि दबाब महसुस नगर्न भन्दै एउटा मेसेज देखाइन्छ र त्यसको साथमा पठाउनेलाई ब्लक गर्ने र रिपोर्ट गर्ने विकल्प समेत हुनेछ ।

"यो फिचर केवल मानिसहरूलाई आफ्नो डीएममा नचाहिंदो नग्नताबाट  जोगाउनका लागि मात्र डिजाइन गरिएको छैन, त्यसका साथै स्क्यामर (ठग/बेमान) ले उनीहरूलाई उनीहरूको आफ्नै नग्न तस्वीर पठाएर जालझेल गर्न सक्ने कार्यबाट समेत संरक्षण दिनेछ," मेटाले आफ्नो विज्ञप्तिमा भनेको छ । 

 

कुनै नग्नताका साथ डीएम गर्न खोज्ने प्रयोगकर्ताले समेत संवेदनशील फोटो शेयर गर्दा हुन सक्ने जोखिमको विषयमा चेतावनी सहितको मेसेज देख्नेछन् । त्यसका साथै नग्न फोटो फर्वार्ड गर्न खोज्ने प्रयोगकर्तालाई निरुत्साहित गर्न अर्को चेतावनी सहितको मेसेज हुनेछ । 

पछिल्लो अध्यावधिक: चैत ३०, २०८० १४:२०