close

एक्सबाट हुने आम्दानी परीक्षण गर्न मिस्टर बिस्टले पहिलो पटक राखे भिडिओ

टेकपाना टेकपाना

माघ ३, २०८० १२:९

एक्सबाट हुने आम्दानी परीक्षण गर्न मिस्टर बिस्टले पहिलो पटक राखे भिडिओ

काठमाडौं । युट्युबको तुलनामा एक्सबाट हुने आम्दानी परीक्षण गर्न युट्युबर मिस्टर बिस्टले पहिलो पटक एक्समा भिडिओ अपलोड गरेका छन् । बिस्टले यसअघि युट्युबमा अपलोड गरेको ‘$१ भर्सेस $१०० मिलियन’ शीर्षकको भिडिओ मङ्गलवार एक्समा अपलोड गरेका हुन् । 

उनले एक्समा अपलोड भएको भिडिओबाट एड रेभेन्यु (विज्ञापनबाट हुने आम्दानी) कति सङ्कलन हुन्छ भन्ने परीक्षण गर्न उक्त प्लेटफर्ममा भिडिओ राखेको जनाएका छन् । बिस्टले आगामी साता भिडिओबाट भएको आम्दानीबारे जानकारी दिने बताएका छन् । 

एक्सका मालिक एलन मस्कले मिस्टर बिस्टको भिडिओ शेयर गरेका छन् । “एक्समा डाइरेक्ट पोस्ट भएको मिस्टर बिस्टको पहिलो भिडिओ,” मस्कले लेखेका छन् । 

पछिल्लो समय एक्सले क्रियटरलाई सक्रिय बनाउन एड रेभेन्यु दिंदै आएको छ । विशेषगरी उनीहरूको पोस्टमा हुने ‘प्रयोगकर्ता अन्तरक्रिया’ (युजर इङ्गेजमेन्ट) लाई आधार बनाएर आम्दानी बाँड्ने मस्कको योजना थियो । त्यसैले अहिले एक्समा पनि क्रियटरहरू सक्रिय रूपमा कन्टेन्ट राख्न थालेका छन् ।

यसअघि मिस्टर बिस्टले एक्समा भिडिओ राख्दा जति खर्च भएको हुन्छ त्यसबाट पर्याप्त आम्दानी नहुने दाबी गर्दै आएका थिए । “मेरो भिडिओ तयार पार्नका लागि लाखौं खर्च हुन्छ,” बिस्टले एलन मस्कको पोस्टमा रिप्लाई गर्दै लेखेका थिए, “एक्समा अर्बौं भ्युज आए पनि निर्माण गर्दा लागेको खर्चको कत्ति पनि उठ्दैन ।”

यस पटक भने उनले त्यही कुरा परीक्षण गर्न भिडिओ अपलोड गरेका हुन् । मिस्टर बिस्ट युट्युबमा सबैभन्दा बढी सब्स्क्राइबर हुने व्यक्ति हुन् । हाल उनको मुख्य च्यानलमा २३ करोड १० लाख बढी सब्सक्राइबर छन् ।

उनी युट्युबबाट सबैभन्दा बढी आम्दानी गर्ने क्रियटरमध्य एक हुन् । सीबीएस न्युजका अनुसार बिस्टले २०२२ मा आठ करोड २० लाख डलर बढी आम्दानी गरेका थिए ।

पछिल्लो अध्यावधिक: माघ ३, २०८० १२:३९