close

‘बिजुली गाडी चलाउन यति सजिलो छ कि पेट्रोल गाडी स्टार्ट गर्नै बिर्सेछु’

सिफिना मास्के

माघ ९, २०८० १८:३१

‘बिजुली गाडी चलाउन यति सजिलो छ कि पेट्रोल गाडी स्टार्ट गर्नै बिर्सेछु’

 

हेर्ना साथै मैले मन पराएको थिएँ, जीडब्लूएम ओरा जिरो थ्री । यसको बाहिरी डिजाइनले मलाई सबैभन्दा धेरै आकर्षित गरेको थियो । हेर्दा सानो, तर चिटिक्कको छ यो गाडी । 

किन्ने टुङ्गो लागिसकेपछि गत सेप्टेम्बरमा मैले अर्डर गरेकी थिएँ । गाडी भने अक्टोबरमा पाएँ । यो गाडी लिने निर्णय म र मेरो श्रीमान् दुवैको थियो । तैपनि विशेष जोड मेरै थियो । 

यद्यपि डेढ वर्षअघि नै हामीले ओराको गाडी किन्ने सोचेका थियौं । त्यस बेला नेपालमा ओरा गुड क्याट भित्रिएको थियो । त्यो गाडीमा हामीले ‘टेस्ट ड्राइभ’ पनि गरेका थियौं । 

बच्चाहरूलाई पनि लगेकाले उनीहरूले पनि त्यसबेला नै गाडी मन पराएका थिए । तर विशेष कारण उक्त गाडी लिएनौं । अहिले भने उही कम्पनीको अर्को गाडी ओरा जिरो थ्री लिएका छौं । 

सामान्यत: गाडी खरिद गर्नुअघि विभिन्न ब्रान्ड हेर्ने गरिन्छ । हामीले भने अरु ब्रान्डको गाडी खासै हेरेनौं । किनकी एमजी ब्रान्डको गाडी हाम्रो एकजना आफन्तसँग थियो । 

त्यसमा प्राय: हामी चढिरहेका हुन्थ्यौं । नेटा ब्रान्डको गाडी पनि आफन्तसँग नै थियो । हामीले ओराको गाडी किन्नुअघि पुजोको गाडी हेरेका त थियौं । तर पहिल्यै ओराको गाडी मन परेकाले किनेनौं । अनि अरु ब्रान्डको गाडी नहेरी ओरा जिरो थ्री नै लियौं ।


गाडी किनेदेखि अहिलेसम्म मैले ६,८१८ किलोमिटर गुडाइसकेकी छु । चितवन र भैरहवा यसैमा गयौं ।

हामीलाई यो गाडीको मूल्य साढे ४७ लाख रुपैयाँ परेको थियो । त्यसमा कम्पनीले कुनै छुट दिएको थिएन । तर फास्ट चार्जर भने उपलब्ध गराएको थियो । जुन चार्जर अरु ग्राहकहरूलाई कम्पनीले त्यसअघि दिएको थिएन ।

यो गाडीबाट पहिलो पटक चितवन जाँदा काठमाडौंमा नै फुल चार्ज गरेकी थिएँ । रेन्जको डर थिएन । काठमाडौंमा गाडी कुदाइरहेकाले रेन्जले भ्याउने कुरामा म ढुक्क थिएँ । 

त्यहाँ हामी आफन्तको घरमा बसेका थियौं । तर बिजुली गाडी चार्ज गर्न आवश्यक पर्ने अर्थिङ, मिटर लगायतका मापदण्ड घरमा पूरा भएको थिएन । त्यसैले चार्जिङ स्टेसनमा नै चार्ज गर्नु पर्ने भयो । 

चितवनको पारस बसपार्कमा विद्युत् प्राधिकरणको चार्जिङ स्टेसन छ । त्यहाँ फास्ट चार्जरका दुई ओटा पोर्ट छन् । म प्राधिकरणको त्यही चार्जिङ स्टेसनमा गएकी थिएँ । 

स्टेसन सामान्य अवस्थामा नै थियो । तर चार्ज गर्न आएका गाडीहरू धेरै थिए । मैले पालो पाउन डेढ घन्टासम्म कुर्नु परेको थियो । त्यहाँ निजी बिजुली गाडी बाहेक टाटाले आफ्ना ट्याक्सी पनि चार्ज गर्न ल्याएको थियो । 

बिजुली टयाक्सीहरूलाई चार्ज गर्न तुलनात्मक रूपमा अलि बढी समय लाग्दो रहेछ । यदि चितवनमा भएको टाटाको शोरुमले आफ्ना गाडी चार्ज गर्न प्राधिकरणको चार्जिङ स्टेसनमा नल्याएको भए त्यति धेरै कुर्नु पर्ने थिएन ।  

त्यस्तै चार्जिङ स्टेसनमा अन्य सुविधाहरू भएको भए आफ्नो पालो कुर्न पनि अप्ठ्यारो हुन्थेन । किनकी पालो नआउन्जेलसम्म गाडीमा यत्तिकै बस्नु बाहेक अरु विकल्प त्यहाँ थिएनन् ।

हुन त हामी व्यापारको सिलसिलामा प्राय: चितवन गइरहनु पर्छ । आफन्तको घर त्यहाँ भएकाले रिसोर्टमा बस्नु पर्दैन । तर चितवन जाँदा हामीले गाडी दुई पटक चार्ज गर्ने गरेका छौं । 

एक पटक त्यहीं बस्दा र अर्को पटक काठमाडौं फर्कने बेला । चार्ज भने त्यही (पारस बसपार्क) स्टेसनमा गर्ने गरेका छौं ।

यो गाडीबाट मैले गरेको सबैभन्दा लामो यात्रा भनेको भैरहवासम्मको हो । बाटो राम्रो भएकाले काठमाडौं-चितवनको अनुभव राम्रै थियो । 

चितवनदेखि भैरहवाको अनुभव भने त्यति राम्रो भएन । किनकी बाटो अफ्ठ्यारो थियो । हामीलाई असहज बढी नै भयो । गाडीमा चितवनदेखि भैरहवा पुग्न कम्तीमा दुई घण्टा लाग्छ ।

अहिले त्यो बाटो निर्माणाधीन अवस्थामा छ । धेरै ठाउँमा कच्ची बाटा छन् । यता यो गाडीको ग्राउन्ड क्लियरेन्स १६७ मिलिमिटर मात्र छ । त्यसैले गाडीले जमिन छुन्छ होला भन्ने डरले विस्तारै कुदाएर लानु परेको थियो । 

हुन त त्यो यात्रामा म र श्रीमान मात्र थियौं । गाडीमा पनि त्यति धेरै सामान थिएन । तर पनि हामीलाई त्यो दुई घण्टाको बाटो छिचोलेर भैरहवा पुग्न चार घण्टाभन्दा बढी लागेको थियो ।

कम्पनीले दाबी गरे अनुसार फुल चार्जमा यो गाडी ४०० किलोमिटरसम्म गुड्छ । मैले भने ३५० किलोमिटर आसपासमा मात्र रेन्ज पाइरहेकी छु । हुन त गाडीको चार्ज २५ प्रतिशतभन्दा तल भएपछि मैले कुदाएकी छैन । 

त्यस्तै प्राय: म गाडीलाई फुल चार्ज पनि गर्दिनँ । काठमाडौंमा हुँदा ८०/९० प्रतिशतसम्म चार्ज गर्छु । लामो यात्रामा निस्कँदा मात्र फुल चार्ज गर्नु पर्ने बाध्यता हुन्छ । 

फास्ट चार्जरबाट गाडी फुल चार्ज गर्न ६/७ घण्टा लाग्छ । सामान्य चार्जिङमा १५ घण्टाभन्दा बढी लाग्छ भने डीसी चार्जमा २० मिनेटमै ८० प्रतिशतसम्म चार्ज हुन्छ । काठमाडौंमा हुँदा भने घरमै सामान्य तवरमा चार्ज गर्ने गरेकी छु ।

मलाई यो गाडीको सबैभन्दा मन परेको फिचर यसमा भएको पर्याप्त ठाउँ हो । मेरो ससुरा बुबाको खुट्टा दु:ख्ने समस्या छ । गाडी भित्र पर्याप्त ठाउँ भएकाले उहाँलाई सिटमा बस्दा पनि सजिलो हुन्छ । 

त्यस्तै गाडीको बाहिरको 'लुक्स' पनि मलाई निकै मन परेको हो । खासमा मलाई गाडी लोभ्याएको पनि त्यसैले हो ।

गाडीको 'ड्यासबोर्ड' अर्को मन परेको भाग हो । जुन सानो तर आकर्षक छ । गाडीमा वायरलेस चार्जिङको सुविधा पनि छ । यद्यपि चार्ज गर्न लाग्ने समय अलि बढी भएको महसुस गरेकी छु । 

अझ मलाई मन परेको यसमा दिइएको सुरक्षा फिचर हो । कम्पनीले सुरक्षाका लागि गाडीमा आठ ओटा एयर ब्याग राखेका छन् । यसबाहेक प्लास्टिकसँगै गाडीको बडी मेटलबाट पनि बनाइएको छ ।

त्यस्तै मलाई मन परेको अर्को फिचर ३६० डिग्री क्यामेरा हो । अर्थात् चारैतिरको भिडिओ खिच्ने क्यामेरा । यसले साँघुरो बाटोमा गाडी कुदाउन सहज बनाएको छ । 

यो गाडी मैले रातको समयमा पनि चलाएकी छु । गाडीको हेडलाइट राम्रो भएकाले मलाई त्यस बाट कुनै समस्या भएको छैन  । बिजुली गाडीको तुलना पेट्रोल गाडीसँग गर्ने गरिन्छ । 

बिजुली गाडीको मलाई मन पर्ने फिचर ‘हिल असिस्टेन्ट’ पनि हो । यो फिचर नभएको पेट्रोल गाडीमा मेरो नराम्रो अनुभव छ । 

हाम्रो पहिलेको पेट्रोल गाडीबाट एक पटक म मेडिसिटी अस्पतालको उकालोमा गइरहेकी थिएँ । मेरो गाडी बीचैमा अड्कियो । मैले गाडीलाई उकालोमा चढाउनै सकिनँ । श्रीमान्‌ले गाडी माथि निकाल्नु भयो । 

हुन त त्यसमा मेरै गल्ती थियो । किनकी म डराएकी थिएँ । अलि बढी एक्सिलेरेटर थिचौं गाडी हुत्तिने डर, नगरौं गाडी पछाडि आउने डर । 

अब मैले त्यस्तो समस्या बिजुली गाडीमा भोग्नु पर्दैन । किनकी हिल असिस्टेन्ट ‘अन’ गरेपछि गाडी न अगाडि जान्छ न त पछाडि सर्छ । 

यो गाडीको कुरा गर्दा मलाई साउन्ड सिस्टम पनि राम्रो लागेको छ । बुट स्पेस भने अरु गाडीको तुलनामा सानो छ । भित्री भागमा पर्याप्त खाली ठाउँ भएकाले त्यस्तो भएको हुन सक्छ, कम्तीमा मलाई यस्तो लाग्छ । 

गाडीको पछाडिको सिटका लागि एसी दिइएको छैन । यसको गुनासो मेरी छोरीले गरिरहेकी हुन्छे । यद्यपि पछाडि एसी नदिएको कुरामा मलाई चिन्ता छैन । 

स्पेयर पार्ट्स नपाउनुलाई पनि हामीले खासै ठूलो समस्याको रूपमा हेरेका छैनौं । किनकी टायर पञ्चर भएपनि गाडी चलाउन सकिने कम्पनीले बताएको छ ।

गाडी कुदाउन पनि मलाई सजिलो छ । मैले यो गाडी कुदाउन थालेपछि एक पटक पेट्रोल गाडी चलाउनै भुलेकी थिएँ । पेट्रोल गाडी कसरी स्टार्ट गर्ने भनेर अलमलिएकी थिएँ । 

अनि गाडी स्टार्ट गर्न मैले श्रीमान्‌लाई कल नै गर्नु परेको थियो । खासमा त्यस बेला मैले गाडीको ‘क्लज’ नै थिच्न बिर्सेकी रहेछु ।

समग्रमा यो गाडीमा सुधार गर्नु पर्छ भनेर सल्लाह दिने त्यस्तो कुनै पनि कुरा अहिलेसम्म मैले भेटेकी छैन ।

हामीले गाडी लिंदा शोरुम अनुभव पनि राम्रो रह्यो । अहिले गाडीमा केही समस्या भएर कल गर्दा पनि उहाँहरूले तुरुन्तै प्रतिक्रिया दिनुहुन्छ ।

गाडी लिएको सुरुका दिनमा हामीलाई गाडीको सेटिङ चलाउन आउँदैन थ्यो । अनि हामी नियमित कल गर्थ्यौं । 

त्यस्तै गाडीमा एक प्रकारको आवाज आइरहने समस्या पनि थियो । त्यो समस्या पनि हामीले कल गरेरै समाधान गरेका थियौं । 

यी सबैको आधारमा मेरो लागि यो गाडी उत्तम छ । म गाडीलाई अङ्क दिनु पर्‍यो भने १० मा ८ दिन्छु ।

पछिल्लो अध्यावधिक: माघ ९, २०८० १८:३२