close

रिमालको ईभी अनुभव- ‘चार्जिङ स्टेसन गतिला छैनन्, सर्भिसिङ गर्न काठमाडौं आउनुपर्ने बाध्यता’

हरिराम रिमाल

माघ १३, २०८० १८:५४

रिमालको ईभी अनुभव- ‘चार्जिङ स्टेसन गतिला छैनन्, सर्भिसिङ गर्न काठमाडौं आउनुपर्ने बाध्यता’

पहिले पेट्रोल गाडी हुन्डाई स्यान्ट्रो चलाउँथे । गाडीले खर्च धेरै गराउन थालेको थियो । त्यही समयतिर बजारमा विद्युतीय गाडीको चर्चा हुन थालेकाले मलाई पनि विकल्प रोज्ने यही बेला हो जस्तो लाग्यो । केही कम्पनीका ईभी बुझेपछि एमजी जेड एस लिएँ ।

पहिले यो गाडीको सुरुवाती मूल्य ७३ लाख रुपैयाँ थियो । कर घटेपछि कम्पनीले गाडीको मूल्य ५२ लाख रुपैयाँ तोक्यो । मैले किन्ने समयमा नै गाडीको मूल्य घटेको थियो । अनि त्यही मौकामा गाडी किनेँ । छुट भने पाइनँ ।

एमजी जेडएसबाट पूर्वदेखि पश्चिमसम्मको यात्रा गरेको छु । म इटहरी, दाङ, सुर्खेत, धनगढी, चितवन, भैरहवा, महेन्द्रनगर जस्ता ठाउँ यही गाडीमा गएँ । तर यी ठाउँमा भएका चार्जिङ स्टेसनहरू गतिला छैनन् । कतिपय ठाउँमा चार्जिङ स्टेसन नै छैनन्, भएका ठाउँमा पनि कुनै न कुनै कुरा बिग्रिरहेका हुन्छन् । त्यस्तै चार्ज गर्न कतै लाम लाग्नुपर्ने हुन्छ भने कतै होटलमा चार्ज गर्नुपर्ने बाध्यता हुन्छ । बिजुली गाडीबाट करिब १४ हजार किलोमिटर गाडी गुडाएपछि कम्तीमा मेरो अनुभवले त्यस्तै छ । 

जस्तै; दशैंअघि यही गाडीबाट पूर्वी नेपालतिर गएको थिएँ । विद्युत प्राधिकरणको मोबाइल एपमा खुर्कोटमा चार्जिङ स्टेसन देखाएको थियो । तर त्यहाँ पुग्दा ठूला गाडी (विद्युतीय भ्यान) मात्र चार्ज गर्न सकिन्थ्यो । सानो गाडी (कार) लाई चार्ज गर्न मिल्ने चार्जर थिएन ।

बाटोका रेञ्ज घट्नु अर्थात् अफरोड बाटोमा बाध्यात्मक रूपमा गाडी गुडाउनु बिजुली गाडीबाट लामो यात्रामा निस्कनुको अर्को चुनौती हो । जस्तै; अहिले चितवन-बुटवलबीचको १०० किलोमिटर जति बाटो निर्माण भइरहेको छ । १०० किलोमिटर दूरी पार गर्दा बिजुली गाडीको २५ प्रतिशत चार्ज खपत हुनुपर्ने हो । तर मैले त्यो बाटो पार गर्दा ५० प्रतिशतभन्दा बढी चार्ज खपत भएको थियो । त्यो बाटोभर म औसत २० प्रतिघण्टा किलोमिटरको गतिमा थिएँ ।

नेपालको पश्चिममा भन्दा पूर्वमा गाडी चार्ज गर्न लाइनमा बस्नुपर्छ । किनकि पश्चिम नेपालको तुलनामा पूर्वी नेपालमा बिजुली गाडीको चाप बढी छ । पश्चिम नेपालमा बिजुली गाडीको लोकप्रियता तुलनात्मक रूपमा कम छ । प्राय: म यात्रामा हुँदा कुन-कुन ठाउँमा बिजुली गाडीको कति चाप छ भनेर पनि हेर्ने गर्छु । तथ्याङ्कले पनि पश्चिम नेपालमा गाडीहरू कम बिक्ने गरेको देखाउँछ ।

पश्चिम नेपालमा पूर्वी नेपालको तुलनामा आर्थिक अवस्था र सेवा सुविधा कम छन् । सोही कारण पनि हुन सक्छ, पश्चिम नेपालमा बिजुली गाडीका शोरुम कम छन् ।

त्यत्रो लामो यात्रा गरेता पनि मैले अफरोडका कारण खासै दु:ख पाइनँ । बाटो धेरै अप्ठ्यारो भएको खण्डमा बरु गाडी नै फर्काउने गर्छु । तर हिँड्दा हिँड्दै गाडी बिग्रिएला भन्ने डर छैन । किनभने गाडीमा खासै प्रविधि छैन । यदि बिग्रिहाले पनि मोटर कन्ट्रोल बक्स र ब्याट्री बिग्रिने हो ।

तर यदि गाडी बिग्रेछ भने पनि कम्पनीले केही गर्छ जस्तो मलाई लाग्दैन । कम्पनीको ध्यान गाडी बेच्नमा मात्र छ । एमजीमात्र नभएर बिजुली गाडी बेच्ने सबै कम्पनीले इकोसिस्टम विकास गरिसकेका छैनन् ।

गाडी चार्ज गर्न कम्पनीले दुई किलोवाटको चार्जर दिएको छ । त्यसबाट २० देखि ८० प्रतिशतसम्म चार्ज गर्न ‍१७ देखि १८ घन्टा लाग्छ । गाडीमा कम्तीमा ३० प्रतिशत जति ब्याट्री भएपछि चार्ज गर्ने गर्छु । त्यतिबाट गर्दा भने फुल चार्ज हुन १३ घन्टा जति लाग्छ ।

मेरो प्राय: अटो मोडमा गाडी चलाउने बानी छ । अनि एसी पनि चलाइरहेको हुन्छु । यी दुवैले गाडीको रेन्ज घटाउन सहयोग गर्ने रहेछ । मेरो अनुभवमा गर्मी महिनामा मोटरले जति चार्ज खपत गर्छ, त्यति नै चार्ज एसील‍े पनि खपत गर्छ । 

यो गाडीको सिटलाई गर्मीमा चिसो बनाउन सकिदैँन । जाडोमा भने तातो बनाउन सकिन्छ । यो गाडीको डिजाइन हेर्दा चिसो ठाउँको लागि बनाइएको जस्तो लाग्छ । 

गाडीमा भएको अर्को समस्या क्यामेराको हो । किनभने क्यामेराको गुणस्तर राम्रो छैन । म क्यामेराको क्षेत्रमा काम गर्ने मान्छे, त्यसको गुणस्तरलाई एचडी बनाउन खासै खर्च लाग्दैन । रातको समयमा क्यामेराको गुणस्तर कत्ति पनि उपयोगी हुँदैन । 

पाँच हजार किलोमिटर गाडी कुदाइसकेपछि कम्पनीले गाडीलाई सर्भिसिङ गराउनु भनेको थियो । त्यो अनुसार अहिलेसम्म गाडीलाई तीन पटक सर्भिसिङ गर्नुपर्ने हो । तर प्राय: म काठमाडौं ‍बाहिर हुने भएकाले एक पटक मात्र सर्भिसिङ गराउन गएको छु । 

गाडी सर्भिसिङ गराउन काठमाडौं नै हुनुपर्ने/पुग्नुपर्ने बाध्यता छ । यदि काठमाडौं बाहिर पनि सर्भिस सेन्टर भए हामीलाई सजिलो हुनेथ्यो । हुन त मन पराएपछि मात्र यो गाडी किनेको हुँ । यसको राम्रो/नराम्रो दुवै पक्षलाई मध्यनजर गदै अङ्क दिनु परे १० मा ६ दिन्छु ।

पछिल्लो अध्यावधिक: माघ १३, २०८० २१:३८