close

‘ईसेवाले चाँडै नै सापटी लेनदेन गर्न मिल्ने डिजिटल लेन्डिङ सेवा ल्याउँदैछ’

माघ १४, २०८० १६:२६

‘ईसेवाले चाँडै नै सापटी लेनदेन गर्न मिल्ने डिजिटल लेन्डिङ सेवा ल्याउँदैछ’

डिजिटल वालेट ईसेवाले भर्खरै १५ वर्ष पूरा गरेको छ । पछिल्लो वर्षमा ईसेवाले केकति प्रगति गर्‍यो, अहिले के काम गरिरहेको छ र आगामी योजनामा केके छन् भन्ने लगायतका विषयहरू यो लेखमा चर्चा गरिएको छ:

विगत एक वर्षमा ईसेवा ग्राहक केन्द्रित नवप्रवर्तन र सेवा विविधीकरणमा केन्द्रित थियो । ग्राहक केन्द्रित नवप्रवर्तनमा सेवालाई प्रयोगकर्तामैत्री बनाउने र एपको अनुभवलाई प्रयोगकर्तामैत्री बनाउने परियोजना सञ्चालनमा थिए । जसका लागि सिस्टमलाई थप अपडेट तथा अपग्रेड गरिएको छ ।

सेवाको विविधीकरण अन्तर्गत ईसेवालाई भुक्तानी गर्ने प्लेटफर्म मात्र नभएर अन्य काम गर्ने ठाउँ बनाउने प्रयास भइरहेको छ । यो वर्ष ईसेवा थप सेवाहरूमा जोडिएको छ । जस्तो: कुनै पनि ग्राहकले ईसेवाबाटै नेपालभरका अधिकांश होटेल बुक गर्न सक्छन् । यात्रामा निस्किंदा यो फिचर उपयोगी हुन सक्छ । 

ग्राहकको अपेक्षा र ईसेवाको प्रयास 

ग्राहकको सङ्ख्या बढ्नु ईसेवाको निम्ति अवसर पनि हो । पहिले ईसेवा सीमित ठाउँमा पुगेको थियो भने अहिले गाउँ गाउँसम्म पुगेको छ । गत आर्थिक वर्षको अन्त्यमा ओखलढुङ्गामा रहेका एक प्रयोगकर्ताले आफ्नो ईसेवामा समस्या आएपछि कल गरेका थिए । 

ईसेवा नचल्दा उनको दैनिकी प्रभावित भएको थियो । त्यसले दूरदराजका प्रयोगकर्ताहरूको दैनिकी ईसेवामा कतिसम्म निर्भर छ भन्ने पुष्टि हुन्छ । 

त्यसैले ग्राहक बढ्नु अवसरका साथै चुनौती पनि हो । ग्राहक बढ्दा उनीहरूको अपेक्षा पनि बढ्ने गर्छ । जसलाई पूरा गर्न हामी लागिरहनु पर्छ । 

आउँदा दिनमा धेरै सेवा दिने भन्दा पनि भइरहेका सेवाबाट प्रयोगकर्ताको दैनिकीलाई कसरी सजिलो बनाउन सकिन्छ भन्नेतर्फ ईसेवा लाग्ने छ ।

डेटा सुरक्षा

डेटा गोपनीयता तथा सुरक्षाका लागि ईसेवाले अन्तर्राष्ट्रिय मापदण्ड अनुसारका सबै प्रोटोकल अनुसरण गरिरहेको छ । कम्पनी आईएसओ २७००१-२०१३ बाट प्रमाणित छ । 

अहिले जति डेटा भण्डारण तथा ट्रान्सक्रिप्ट हुन्छ, त्यो सबै  पीसीआई डीएसएसको आधारमा हुने गर्छ । ईसेवा चाँडै पीसीआई डीएसएस प्रमाणित कम्पनी पनि बन्दैछ ।

मर्जरको सम्भावना कति ?

केन्द्रीय बैंकले ल्याएको डिजिटल वालेट मर्जर नीतिबारे ईसेवा सकारात्मक नै छ । अहिले बजारमा २७ ओटा पीएसपी, १० ओटा पीएसओ र बैंकिक एपहरूबाट प्रयोगकर्ताले डिजिटल वालेटको सेवा सुविधा पाइरहेका छन् । 

बजारमा २७ ओटा डिजिटल वालेट भएकाले मर्जमा जान सकिन्छ भन्ने नीति केन्द्रीय बैंकले ल्याएको हो । तर मर्जका लागि अहिले नै ईसेवाले सोचिसकेको छैन ।  

ईसेवा सहकार्यमा विश्वास गर्छ । सहकार्यको सिद्धान्त लिएर आफ्नो क्षमता बाहिरको काम गर्न ईसेवाले साझेदारहरूसँग काम गरिरहेको छ । सहकार्यको मोडेलबाट जान अहिले पनि ईसेवा तयार छ । तर तत्काल नै मर्ज हुने भन्ने  छैन । 

वालेट-वालेटबीचको कारोबार

वालेटबीचको अन्तरआबद्धता ईसेवाले नचाहेको जस्तो देखिन्छ । तर नचाहेको भने होइन । राष्ट्र बैंकले वालेटबीचको अन्तरआबद्धताबारे निर्देशिकामा राखेको छ । तर कसरी हुने भन्ने कुरा स्पष्ट छैन ।

त्यसो हुँदा वालेटबीच कारोबार गराउन सबै पीएसपी गृहकार्यमा छन् । आजको दिनमा ईसेवाको पैसा बैंकमा पठाउने र बैंकबाट अरू वालेटमा पैसा पठाएर वालेट वालेटको कारोबार गर्न सकिन्छ । त्यसलाई सामान्यिकरण गर्ने काम अन्तरआबद्धताले गर्छ । आशा गरौं, अन्तरआबद्धताको ब्रेकथ्रु चाँडै हुनेछ ।  

हुन त ईसेवाले पीएसओहरूसँग त पहिले देखि नै काम गरिरहेको हो । फोनपे  पीएसओको क्यूआरमा खल्ती, प्रभु पे लगायतका पीएसपीबाट स्क्यान गर्न मिल्छ । 

ईसेवामा बैंक लिङ्क  

ईसेवामा जम्मा हुने रकम बैंकको माध्यमबाट नै आउँछ । अरू विकल्प छैनन् । अहिले राष्ट्र बैंकले वालेट र बैंकबीच लिङ्क गराउनेबारे सोचिरहेको छ ।

वास्तवमा ईसेवाले तपाईंको बैंक अकाउन्ट नभएर पर्स/खल्ती विस्थापन गर्न लागेको हो । पर्समा पैसा धेरै भए बैंकमा डिपोजिट गर्ने गरिन्छ । राष्ट्र बैंकले त्यही पर्सको डिजिटल भर्सनको वालेटलाई बैंकमा लिङ्क गराउने काम गरिरहेको हो । फिचरको पाटोबाट हेर्ने हो भने राष्ट्र बैंकले गर्न लागेको काम राम्रो छ । 

सामान्यतया विमानको अन्तरराष्ट्रिय टिकेटको मूल्य बढी पर्छ । जुन ईसेवाले पनि बिक्री गरिरहेको छ । त्यसको बिल बढी हुने भएकाले प्रयोगकर्ताले सोझै ईसेवाबाट भुक्तानी गर्न सक्दैनन् । तर लिङ्क गरिएको बैंकबाट भुक्तानी गर्न सक्छन् । 

वालेटका आफ्नै केही सीमा छन् । जस्तै: ५० हजार रुपैयाँ, जुन ईसेवाको सीमा हो । त्यसभन्दा बढी भए आफ्नो बैंकमा पैसा पठाउ भन्ने मेसेज आउँछ । तर आफ्नै वालेट र बैंक अकाउन्ट छ भने त्यहाँ सीमा हुँदैन । आफ्नो बैंकमा पैसा पठाउँदा त्यस्तो सीमा लाग्दैन ।

अन्य बैंक अकाउन्टमा भन्दा यसरी बढी रकम पठाउन सकिन्छ । साथै विदेशबाट अथवा रेमिटेन्सबाट वालेटहरूमा पैसा पठाइरहँदा सीमा खुकुलो गर्न सकिन्छ । यद्यपि वालेटमा बैंक अकाउन्ट हुनु अनिवार्य छैन । जुन वालेटको विशेषता नै हो ।

ईसेवाका प्रमुख रणनीति अधिकृत रवि शाक्य र प्रमुख व्यवसाय अधिकृत आशिष गौतम

क्रिप्टोकरेन्सी/बेटिङको चुनौती

ईसेवामा पैसा पठाउन सजिलो बनाउने ‘सेन्ड मनी’ फिचर छ । त्यसैलाई दुरुपयोग गरेर प्रयोगकर्ताहरूले बेटिङ र क्रिप्टोकरेन्सीमा  प्रयोग गरिरहेका छन् । गैरकानूनी मानिएका यस्ता गतिविधि प्रवर्द्धन गर्न अनुकूल हुने गरी यस्तो फिचर ईसेवा वा अन्य वालेटले ल्याएको होइन । 

त्यस्ता गैरकानूनी कार्यमा प्रयोग हुने रकमको कारोबार वा अनलाइन ठगी जस्ता क्रियाकलाप आफ्नो प्लेटफर्मबाट हुन नदिन ईसेवाले नयाँ सेवाहरू ल्याइरहेको छ । जस्तै; 'ईस्क्रो' फिचर । अज्ञात मान्छेलाई पैसा पठाउनु परे 'ईस्क्रो' फिचर प्रयोग गर्न सकिन्छ ।

यो फिचरले जबसम्म सेवाको डेलिभरी पाइँदैन, तबसम्म आफ्नो पैसा रोकेर राख्न सकिन्छ । यदि सेवा पाइएन भने पैसा फिर्ता लिन पनि मिल्छ ।

केवाईसी प्रमाणीकरण

अर्काको नाम प्रयोग गरेर अकाउन्ट खोल्ने प्रवृतिलाई रोक्न ईसेवाले केवाईसीमा नयाँ फिचर ल्याएको छ । जसमा ग्राहकको केवाईसी प्रत्यक्ष तवरमा प्रमाणित गर्ने कार्यमा सुधार गर्नु हो ।

 यसका लागि ग्राहकले केवाईसी प्रमाणीकरण गर्ने क्रममा फोटोभन्दा पनि सेल्फी लिनु पर्ने अनिवार्यता लागु गरिएको छ । जब प्रयोगकर्ताले केवाईसी प्रमाणीकरणका लागि सेल्फी लिन्छन्, तब उक्त सेल्फी आफैंले लिएको हो वा होइन भन्ने चेकजाँच पनि हुन्छ । 

यससँगै अर्को तहको भेरिफिकेसन पनि हुन्छ । उक्त चरणमा सेल्फी र प्रयोगकर्ताले उपलब्ध गराएको कागजपत्रमा भएका फोटोहरू मिले/नमिलेको जाँच गरिन्छ ।

यी सबै चरण पूरा गरेपछि मात्र केवाईसी प्रमाणित हुने गर्छ । अबका दिनमा केवाईसी प्रमाणीकरणको काम यसरी नै हुनेछ । 

डिजिटल लेन्डिङ सुविधाको तयारी

राष्ट्र बैंकको निर्देशन वा कार्यविधिभित्र बसेर बजारमा डिजिटल लेन्डिङ अर्थात् सापटी आदानप्रदान गर्न सकिने फिचर ल्याउने तयारी ईसेवाले गरिरहेको छ । यसको अर्थ ईसेवा स्वयंले ऋण दिने भने होइन । कोही साझेदार बैंक हुनुपर्छ, जसले ऋण दिन सकोस् । अहिले ‘सेटलमेन्ट’का लागि ईसेवाले नविल बैंकसँग सहकार्य गरिरहेको छ । यो फिचरका लागि भने जुनसुकै बैंक पनि हुन सक्छन् । 

डिजिटल लेन्डिङ ल्याउँदा सबैभन्दा ठूलो चुनौती ग्राहक पहिचानमा हुन्छ । यसका लागि ईसेवाले डिजिटल फुटप्रिन्टलाई प्राथमिकता दिनेछ । कसलाई कति पैसा दिन सकिन्छ भन्ने निर्क्योल  प्रयोगकर्ताको डिजिटल फुटप्रिन्टका आधारमा हुनेछ । यसका लागि ईसेवाले गृहकार्य गरिरहेको छ ।

जस्तै: आफ्नो घरको बिजुली/पानीको रकम भुक्तानी ईसेवाबाट गरे/नगरेको कुराले ऋण पाउने योग्यतालाई फरक पार्न सक्छ । आफ्नो र परिवारका लागि कति कारोबार गरिरहनु भएको छ, त्यसले क्रेडिट स्कोरमा प्रभाव पार्न सक्छ । 

अब छिट्टै ईसेवाको एप खोल्दा क्रेडिट स्कोर देखिनेछ । अर्थात् कति ऋण पाइन्छ, ऋणका लागि कत्तिको योग्य हुनु हुन्छ जस्ता जानकारी एपबाटै हेर्न पाइनेछ । त्यसपछि विभिन्न काम गर्न रकम अभाव भए ऋण लिन ईसेवा एउटा माध्यम बन्न सक्छ । डिजिटल लेन्डिङ नेपालमा ल्याउने गृहकार्य अन्तिम चरणमा पुगेको छ ।

वालेटमा ब्याज 

ईसेवामा भएका सबै पैसा सेटलमेन्ट बैंकमा हुन्छ । अहिले ‘कल अकाउन्ट’ बराबरको ब्याज दिन पाउने भन्ने कुरा निर्देशिकामा छ । ‘अपरेटिङ अकाउन्ट’मा जति अपरेट गर्नुपर्ने हुन्छ, त्यो छुट्ट्याएर बल्ल ‘कल अकाउन्ट’ मा रकम राखिसकेपछि ब्याज पाइन्छ भन्ने सोचाइ हो । 

यद्यपि ईसेवा जस्ता प्लेटफर्म ब्याज दिन बनेका होइनन् । अन्यथा वालेट र बैंकबीच प्रतिस्पर्धा हुन्छ । ब्याज दिने कुरा बैंकको पाटो हो । प्रयोगकर्ताले यदि ब्याज चाहन्छन् भने बैंकमा पैसा जम्मा गर्न सक्छन् ।

डिजिटल वाट भुक्तानी गर्न सहयोग गर्ने प्लेटफर्म हुन्, बैंकलाई नभएर पर्सलाई हटाउने प्लेटफर्म हुन् । कसैले आफ्नो भौतिक पर्समा बोकेको पैसाको त ब्याज अपेक्षा गर्दैनन् । भविष्यमा ईसेवाका प्रयोगकर्ताहरूलाई ब्याज दिनु असम्भव छैन । तत्कालै दिने सोच भने नभएकै हो । 

रिवार्ड प्वाइन्ट

हुन त प्रयोगकर्ताले अहिले पनि ‘रिवार्ड पोइन्ट’ पाइरहेका हुन्छन् । जति ‍रिवार्ड पोइन्ट पाउँछन्, त्यसको १० प्रतिशतलाई रकममा रूपान्तरण गर्न सकिन्छ ।  ईसेवाका भौतिक कार्यालयहरूमा गएर त्यो काम गर्न सकिन्छ ।

प्रयोगकर्ताले कमाउने रिवार्ड पोइन्टलाई अलि व्यवस्थित रूपमा ‘रिडिमसन’ गर्ने प्लेटफर्म ल्याउने छ । यसबाहेक ईसेवा प्रयोग गरेको आधारमा पनि प्रयोगकर्ताले विभिन्न अवार्ड पाइरहेका हुन्छन् । 

अकाउन्ट डिलिटको विकल्प

बारम्बार अकाउन्ट डिलिट गर्ने र बनाउने कार्यले प्रयोगकर्ताको डिजिटल इतिहास व्यवस्थापन हुँदैन । त्यसकारण पनि ईसेवा अकाउन्ट डिलिट गर्ने कार्यमा कडाइ गरिएको हो ।

बैंक अकाउन्टलाई जसरी प्रयोगकर्ताले लिन्छन्, डिजिटल वालेटलाई पनि त्यसरी नै लिउन् भन्ने हाम्रो चाहना हो । त्यसका लागि लामो समय निष्क्रिय भएको अकाउन्ट बन्द गर्छौं । यदि कारणवश अकाउन्ट डिलिट गर्नै परे पर्याप्त प्रमाण भएको खण्डमा त्यो काम गर्न सकिन्छ ।

दुर्घटनामा परेर मृत्यु भएको खण्डमा विशेष प्रक्रिया अपनाएर ईसेवाबाट रकम झिक्न सकिन्छ । वास्तवमा यस्तै अवस्था आउन सक्छ भनेर  बैंक लिङ्क आवश्यक पर्ने हो । किनकी बैंकमा उत्तराधिकारी हुने गर्छन् ।

वास्तवमा जे उद्देश्यका लागि बनाइएको हो, ईसेवा त्यही रूपमा प्रयोग गरियोस् भन्ने हाम्रो सपना हो । यसलाई पर्सनलाइज्ड बनाऔं भन्ने हो । ईसेवाले ग्राहकलाई गाह्रो बनाउन खोजेको होइन । तर डिलिट गर्ने विकल्प सहज बनाउने सोच पनि छैन ।  
 

(ईसेवाका प्रमुख रणनीति अधिकृत रवि शाक्य र प्रमुख व्यवसाय अधिकृत आशिष गौतमसँगको कुराकानीमा आधारित)

पछिल्लो अध्यावधिक: माघ १४, २०८० १६:२६