close

ईसेवाले ल्यायो ७०० मै ५ लाख ३० हजारसम्मको बीमा सुविधा भएको लाइफ केयर योजना

टेकपाना टेकपाना

फागुन १४, २०८० ११:३

ईसेवाले ल्यायो ७०० मै ५ लाख ३० हजारसम्मको बीमा सुविधा भएको लाइफ केयर योजना

काठमाडौं । भुक्तानी सेवा प्रदायक तथा डिजिटल वालेट कम्पनी ईसेवाले ईसेवाकेयरको सफलतासँगै ईसेवा लाइफ केयर योजना सार्वजनिक गरेको छ । जीवन बीमा हुने गरी कम्पनीले ईसेवा लाइफ केयर योजना सार्वजनिक गरेको हो ।

यसअघि दुर्घटना तथा बिरामी पर्दाको अवस्थालाई मध्यनजर गर्दै कम्पनीले ल्याएको ईसेवाकेयरलाई ग्राहकले अत्यधिक मन पराएपछि यो नयाँ योजना थप गरिएको बताइएको छ । ईसेवा लाइफ केयर एक टर्मलाइफ जीवन बीमा प्याकेज हो, जसले पाँच लाख ३० हजार सम्मको जीवन बीमाको ग्यारेन्टी गर्छ । 

यो जीवन बीमा योजना सन लाइफ इन्स्योरेन्स, हिमालयन एभरेस्ट इन्स्योरेन्ससँगको सहकार्यमा सञ्चालन गरिएको हो । यस योजनामा ईसेवा केयरमा जस्तै विभिन्न स्वास्थ्य सम्बन्धी सेवाहरूमा अफर तथा छुट समेत समावेश गरिएका छन् । 

जसमा वार्षिक सात सयको सुरुवाती मूल्यमा पाँच लाख ३० हजार रुपैयाँको लाइफ केयर प्राप्त गर्न सकिन्छ । यस योजनाले सस्तो मूल्यमा १८ देखि ४५ वर्ष उमेरसम्मको बीमाका साथै अन्य स्वास्थ्य सुविधा प्रदान गर्न मद्दत गर्ने अपेक्षा गरिएको छ । 

यस योजनामा उमेर अनुसार प्रिमियम रकम पनि फरक हुनेछ । ईसेवा लाइफ केयर योजनामा टर्मलाइफ कभरेज दुई लाख ५० हजार, दुर्घटना उपचार खर्च एक लाख, अस्पतालको बेड चार्जमा दश हजार, दुर्घटनाबाट भएको मृत्युमा एक लाख २० हजार, गम्भीर रोगको ५० हजार र ३० भन्दा बढी स्वास्थ्य र सौन्दर्य सम्बन्धित सेवामा ३५ प्रतिशतसम्म छुट प्राप्त गर्न सकिनेछ ।

ईसेवा प्रयोगकर्ताले यो सेवा लिन सुरुमा ईसेवाको मोबाइल एप अथवा वेब पेजमा जानुपर्नेछ । 

 

कसरी खरिद गर्ने इसेवालाइफ केयर ?

१. ईसेवाको एपमा गएर ईसेवा केयर अप्सनमा क्लिक गर्नुहोस् । 

२. त्यसपछि त्यहाँ ईसेवाकेयर र ईसेवा लाइफ केयरको अप्सन देखिनेछ । 

३. ईसेवालाइफ केयरमा क्लिक गरी आवश्यक विवरण भरेर भुक्तानी गरेपछि यो सेवा लिन सकिन्छ । 

४. यो योजना खरिद गर्नका लागि प्रयोगकर्ताले ईसेवामा आफ्नो केवाईसी प्रमाणित गरेको हुनुपर्नेछ भने खरिद गरेको २४ घन्टामा यो योजना लागु हुनेछ । 

५. प्रयोगकर्ताले बीमा सेवाको उपभोग गर्न बीमा गरेको प्रमाण साथमा राख्नुको साथै दाबीका लागि आवश्यक कागजात बोक्नु पर्ने हुन्छ । ईसेवा प्रयोगकर्ताले दुर्घटना, अस्पताल भर्ना, मृत्यु दाबीका लागि हिमालयन एभरेस्ट इन्स्योरेन्समा सम्पर्क गरी आवश्यक कागजात पेस गरी भुक्तानीका लागि दाबी गर्नुपर्ने हुन्छ ।

 

पछिल्लो अध्यावधिक: फागुन १४, २०८० ११:४