close

सस्तो मूल्यमा सामान डेलिभरी गरिदिने भन्दै अनलाइनबाट झण्डै ५० लाख ठगी, चार जना पक्राउ

टेकपाना टेकपाना

फागुन २१, २०८० ७:१५

सस्तो मूल्यमा सामान डेलिभरी गरिदिने भन्दै अनलाइनबाट झण्डै ५० लाख ठगी, चार जना पक्राउ

काठमाडौं । अनलाइनमार्फत साढे ४९ लाख रुपैयाँ बढी ठगी गरेको आरोपमा चार जना पक्राउ परेका छन् । सस्तो मूल्यमा सामान डेलिभरी गरिदिने, उपहार पठाइदिने, वैदेशिक रोजगारीमा पठाइदिने लगायतका प्रलोभन देखाई ठगी गरेको आरोपमा प्रहरीले विभिन्न ठाउँबाट उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सर्लाहीको विष्णु गाउँपालिका ४ घर भई हाल काठमाडौंको पुरानो बानेश्वर बस्ने २१ वर्षीय आदित्य कुमार सिंह र २० वर्षीय सिद्धार्थ कुमार सिंह, बाराको कलैया उपमहानगरपालिका ११ घर भई हाल भक्तपुर गठ्ठाघर बस्ने २२ वर्षीय राम सेवक राम र पर्साको वीरगञ्ज महानगरपालिका १५ घर भई हाल गठ्ठाघरमा बस्ने २४ वर्षीय आकाश साह सोनार रहेका छन् ।

प्रहरीका अनुसार उनीहरूले विभिन्न व्यक्तिसँग फेसबुक, भाइबर, इमो, ह्वाट्सएप जस्ता सामाजिक सञ्जालको माध्यमबाट साथी बनाई अनलाइनमार्फत फेक अकाउन्टबाट कुराकानी गरी रकम माग गर्नुका साथै, ‘जाम जाम इलेक्ट्रोनिक्स’ नामक फेसबुक पेजमा विभिन्न महँगो ब्राण्डका मोबाइल तथा आईफोन सेटहरू सस्तो मूल्यमा खरिद बिक्री वितरण गरेको लाइभ भिडिओ, पेजमा पोस्ट गर्ने गरेको प्रहरीले जनाएको छ ।

यस्तै, विभिन्न ब्राण्डका मोबाइल सेट, आईफोन, १४ प्रोम्याक्स जस्ता महङ्गो मूल्यका मोबाइल सेटहरू उपलब्ध गराई दिने भन्ने जस्ता प्रलोभन देखाई रकम पठाउन लगाउने र अमेरिका लगायतका देशहरूबाट पार्सल स्वरुप सुनका गरगहना, औंठी, जुत्ता, कपडा लगायतका सामानहरू पठाइदिएका छौँ, भनी भन्सार शुल्क, डेलिभरी चार्ज जस्ता प्रयोजनको लागि रकम पठाउन लगाउने गरेको पाइएको छ ।

त्यस्तै सामाजिक सञ्जालमार्फत आकर्षक तलब सुविधामा विदेश पठाइदिने लोभ देखाई प्रलोभनमा पार्ने गरेको समेत अनुसन्धानबाट खुलेको छ ।

नेपालमा रहेका विभिन्न व्यक्तिहरूको बैंक खातामा रकम पठाउन लगाई अनलाइनमार्फत ४९ लाख ५८ हजार ८०० रुपैयाँ रकम ठगी गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ठगी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान एवं कारबाहीका लागि उनीहरूलाई जिल्ला प्रहरी परिसर, टेकु पठाइएको छ ।

पछिल्लो अध्यावधिक: फागुन २१, २०८० ७:१५