close

नामीलाई विश्वकै उत्कृष्ट एआई ल्याबको रूपमा स्थापित गर्न चाहन्छौं: डा. विशेष खनाल

सञ्जीवन राई सञ्जीवन राई

फागुन २१, २०८० १४:३०

नामीलाई विश्वकै उत्कृष्ट एआई ल्याबको रूपमा स्थापित गर्न चाहन्छौं: डा. विशेष खनाल

डा. विशेष खनाल लन्डनमा रिसर्चरको राम्रो जागिर छाडेर केही गर्ने हुटहुटीका साथ सन् २०१९ मा नेपाल फर्किए । वि.सं २०६१ को आईओई टपर उनी एआई सम्बन्धी अध्ययन/अनुसन्धान गर्ने नेपाल अप्लाइड म्याथम्याटिक्स एन्ड इन्फर्मेटिक्स इन्स्टिच्युट फर रिसर्च (नामी) का सह-संस्थापक तथा निर्देशक समेत हुन् । आईएनआरआईए युनिभर्सिटी फ्रान्सबाट कम्प्युटर साइन्स तथा मेडिकल इमेजिङमा विद्यावारिधि गरेका खनालसँग देश/विदेशमा लामो समय काम गरेको अनुभव छ । उनै खनालसँग नामी अन्तर्गत नेपालमा भइरहेका अध्ययन/अनुसन्धान, एआईमा यहाँको अवस्था, एआईको नियमन, एआईको व्यवहारिक प्रयोग, एआईको चुनौती र यसको भविष्य लगायतका विषयमा टेकपानाका लागि सञ्जीवन राईले गरेको कुराकानीको सम्पादित अंश:

 

नामी के हो र यसको सुरुवात कहिले अनि कसरी भयो ? 

पुल्चोक इन्जिनियरिङ क्याम्पसमा स्नातक तह पढ्दै गर्दा कम्प्युटर, इलेक्ट्रोनिक्स, रोबोटिक्स, इलेक्ट्रिकल लगायतका विषयमा विश्वस्तरीय अनुसन्धान नहुने महसुस गरेको थिएँ । यी विषय सम्बन्धी उच्च शिक्षा अनुसन्धान नेपालमा पनि हुनु पर्छ र त्यसका लागि विश्वस्तरीय अनुसन्धान केन्द्र  खोल्नु पर्छ भन्ने मलाई लागिरहन्थ्यो, जसले अनुसन्धान गर्न इच्छुक वैज्ञानिकहरूलाई ठाउँ दिन सकोस् ।

स्नातकपछि स्नातकोत्तर गर्न फ्रान्स गएँ । त्यहाँ आफ्नै जस्तो सोचाइ भएका नेपाली साथीहरूसँग भेट भयो । त्यसपछि नेपालमा हुँदा देखेको सपना माथि थप कुराकानी हुन थाल्यो र पछि संस्था बनाउनेबारे छलफल पनि सुरु भयो ।

संस्था खोल्ने मात्र नभएर ‘नेपालमा केही हुँदैन, केही पनि गर्न सकिँदैन’ भन्ने भाष्यलाई संस्थाका कामबाट परिवर्तन गरौं भन्ने हाम्रो मनसाय थियो । अनुसन्धानसँगै वास्तविक उत्पादन बनाउने र त्यसलाई अर्थतन्त्रसँग पनि जोडौं भन्ने सोच थियो । 

काम गर्न हामी संसारको उत्कृष्ट विश्वविद्यालय र प्रयोगशालासम्म पुग्यौं । यदि त्यहाँ पुग्न सकिन्छ भने आफूले चाहे जस्तो संस्था पनि बनाउन सकिन्छ भन्ने आत्मविश्वास हामीमा थियो । 

हामी विदेशमा रहँदा नामी दर्ता गर्‍यौं । खासमा आफूले खोजे जस्तो संस्था नेपालमा नभएपछि नामी स्थापना भएको हो ।


तपाईं बाहेक नामीको सह-संस्थापकमा अरू कोको हुनु हुन्छ ?

म बाहेक नामीको सह-संस्थापकमा डा. भाष्करराज पन्त, डा. अजाद छत्कुली , डा. विनोद भट्टराई, डा. दण्डपाणि पौडेल, डा. शारिब अली, डा. सुमनराज विष्ट र डा. तमन उपाध्याय हुनु हुन्छ । जसमध्ये डा. भाष्करराज पन्त नेपालमै हुनुहुन्छ ।

नामी स्थापना गरे पनि नेपाल तत्काल नफर्किनेमा अरू सह-संस्थापक प्रस्ट हुनु हुन्थ्यो । म भने संस्थाले राम्रो  गर्न सके पनि नसके पनि नेपाल फर्किने कुरामा निश्चित थिएँ । यद्यपि विदेशकाले यो यो काम गर्ने र नेपाल रहेकाले फलानो फलानो काम गर्ने भनेर स्पष्ट थियौं ।

बाँकी अरु सहसंस्थापक बाहिर रहेर पनि संस्थाकै धेरै कामहरू गरिरहनु भएको छ । भविष्यमा नामीले ठुल्ठुला काम गर्न सक्यो भने अवश्य पनि उहाँहरू नेपाल फर्किनु हुन्छ । कति जनाले तीन/चार महिना नेपाल आएर काम गर्ने र बाँकी समय विदेशबाट काम गर्ने पनि गरिरहनु भएको छ । यसरी बाहिर बसेर पनि संस्थागत तथा अनुसन्धानको कार्य गर्न सकिन्छ भन्ने नामी एउटा उदाहरण हुन सक्छ ।

 

नामीको पाँचौं वार्षिकोत्सव पछिको सामूहिक तस्विर

फेरि नामीका धेरै काम अनलाइन माध्यमबाट हुने भएकाले पनि सजिलो छ । संस्थाका बैठकका लागि नेपाल आइरहनु पर्दैन । अर्को तर्फ अध्ययन/अन्वेषण गर्न यहाँ नै आउनु पर्छ भन्ने बाध्यता पनि छैन । उहाँहरूले विदेशबाटै नामीमा रिसर्च एसोसिएट, रिसर्च एसिस्टेन्ट, पीएचडी तथा मास्टर थेसिस सुपरभिजन तथा इन्टर्न गरिरहेकालाई नेतृत्व दिने काम पनि गरिरहनु भएको छ ।

नामीले ‘एनुअल नेपाल एआई स्कुल’ जस्ता कार्यक्रम गरेको समयमा भने उहाँहरू आउनुहुन्छ । तर ती कार्यक्रमको तयारी गर्न नेपाल आइरहनु पर्दैन । कार्यक्रम अघिका तयारी अनलाइन मार्फत गर्ने गरेका छौं । नेपाल बाहिर पनि हामीले कार्यक्रम गरिरहेका हुन्छौं । त्यो पनि अनलाइनबाटै तयारी गर्न सकिने भइहाल्यो । 

कतिपय काम विदेश बस्दैमा रोकिंदैनन् । सह-संस्थापकका रूपमा नेपालमा बसेर पूरा समय नामीमा काम गर्ने अहिले म मात्रै छु । हाल नै हावार्ड युनिभर्सिटीबाट पाेस्ट डक्टरेट गर्नुभएकाे शिशिर अधिकारी पनि पूर्णकालीन वैज्ञानिकका रूपमा जाेडिनु भएकाे छ ।


नामी सुरु भएको पाँच वर्ष पूरा भइसकेछ । यी पाँच वर्षलाई फर्केर हेर्दा संस्थाको उद्देश्य केकति पूरा भए वा भएनन् के लाग्छ ?

नामी अन्तर्गत अनुसन्धान, शिक्षा र नवप्रवर्तन गरी मुख्य तीन खम्बा छन् । यी तीन खम्बालाई जोड्न सक्नु नामीको उद्देश्य हो । 

अनुसन्धान भन्ना साथ नयाँ ज्ञान उत्पादन गर्ने, अध्ययनको श्वेतपत्र सार्वजनिक गर्ने आदि बुझिन्छ । यस अन्तर्गत संसारका राम्रो श्वेतपत्र प्रकाशन गर्ने ठाउँमा हाम्रा अनुसन्धान प्रकाशन भएका छन् । कतिपयमा त नेपालबाट पहिलो पटक समेत प्रकाशन भए । नामीको जति स्रोत छ, त्यसका आधारमा अनुसन्धानमा धेरै राम्रो भएको छ । 

नामीको अर्को खम्बा हो, शिक्षा । पढाउने शैली र पाठ्यक्रममा भएको समस्या सुधार गर्ने तथा अवसर दिने उद्देश्यसहित नामीले निश्चित समयका लागि एआई स्कुल सञ्चालन गरिरहेको हुन्छ । अहिलेसम्म एआई स्कुलको चार संस्करण सम्पन्न भइसकेका छन् । कोभिडका कारण बीचको एक वर्ष भने सञ्चालन हुन सकेन ।

हालसम्म उक्त स्कुलबाट ३०० बढीले एआई विषय पढिसकेका छन् । ३० भन्दा बढी देशबाट पढ्न र २० भन्दा बढी देशबाट पढाउनका लागि मानिसहरू नेपाल आएका छन् । हामीले भर्खरै इन्टर्नशिप दिन समेत थालेका छौं । त्यसबाहेक कलेज तथा विश्वविद्यालयहरूसँगको सहकार्य बढाउने काम पनि गरिरहेका छौं ।

नामीले 'इन्कुबेट' गरिरहेको मध्येको ‘दियो एआई’बारे जानकारी दिँदै प्रतिनिधि

त्यस्तै नवप्रवर्तन नामीको अर्को खम्बा हो । यसअन्तर्गत नामीले स्टार्टअपहरूलाई 'इन्कुबेट' गर्ने र भएका कम्पनीको क्षमता वृद्धिमा सहयोग गर्ने गर्छ । अहिले नामी आफैंले दुई स्टार्टअप 'इन्कुबेट' गरिरहेको छ । साथै बिजनेस स्कुल, सफ्टवेयर कम्पनी र लगानीकर्ताहरूसँग सहकार्य गरेर नामीले हालै अर्को 'इन्कुबेट' सेन्टर सुरु गरेको छ । त्यसमा पनि दुई ओटा स्टार्टअप 'इन्कुबेट' भइरहेका छन् । यसरी सबै गरेर नामीले चार स्टार्टअप 'इन्कुबेट' गरिरहेको छ ।

यसबाहेक नामीले केही विदेशी कम्पनीको रिसर्च एन्ड डेभलपमेन्ट (आरएन्डडी) को काम पनि गरिरहेको छ । केही समय अघिसम्म फ्युज मसिन र लिफफ्रग जस्ता सफ्टवेयर कम्पनीका सिनियर इन्जिनियरहरूलाई तालिम समेत नामीले दिइरहेको थियो । 

समग्रमा तीन ओटै खम्बामा नामीले एक तहको आधार बनाउन सफल भएको छ । अनि त्यसैअनुसार काम पनि गरेर देखाएको छ ।


सहसंस्थापकहरूसँग लामो समय विदेश बसाइको अनुभव हुनुले नामीलाई आफ्नो उद्देश्यमा प्राप्तिमा कत्तिको सहज भएको छ ?

संस्थालाई आकारमा ठूलो भन्दा पनि गुणस्तरीय बनाउनु पर्छ भन्ने हाम्रो सोच हो । विश्वकै राम्रा एआई ल्याबहरूमा नामी गनिनु पर्छ भन्ने हाम्रो उद्देश्य हो । जसका लागि बाटो सजिलो छैन । त्यसमा हिंड्ने आँट चाहिन्छ ।

सबै सह-संस्थापक नेपाल आउन र काम गर्न अप्ठ्यारो हुन्छ । तर विदेशमा रहेकाले राम्रा ल्याबमा काम गर्ने मौका पाएका छन् । हाम्रा सह-संस्थापकमध्ये एक जनाले युरोपभरको उत्कृष्ट वैज्ञानिकको उपाधि पाउनु भएको छ । 

विदेशमा उत्कृष्ट काम गरेकाले यहाँ पनि त्यसैलाई निरन्तरता दिऔं भन्ने सोच हो । त्यसका लागि कुनै पनि कुरामा सम्झौता नगर्नेमा नामी प्रतिबद्ध छ । त्यही लक्ष्य पूरा गर्न नामी लागिपरेको हो । 

नामीमा अमेरिका, जर्मनी लगायतका विद्यार्थीहरू इन्टर्न गर्न आएका छन् । नेपालका पनि जोकोहीले इन्टर्नको अवसर पाउँदैनन् । कडा प्रतिस्पर्धापछि मात्र अनुसन्धानकर्ताको रूपमा छानिने गर्छन् । त्यही उत्कृष्टताले गर्दा नामी अहिलेको अवस्थामा आउन सकेको हो ।


अहिले नामीको आर्थिक स्रोत विशेष अनुसन्धान वृत्ति, तालिम आदि रहेका छन् । ती बाहेक अरू पनि छन् ?

अहिले 'इन्कुबेट' गरिरहेका स्टार्टअप भविष्यमा नामीका आर्थिक स्रोत हुन सक्छन् । ती मध्ये कुनै स्टार्टअप सफल भए नामीलाई केही सहयोग गरेर अलग हुने मोडेल अपनाउने सोच छ । भविष्यमा यो मोडेलले काम गर्छ जस्तो लाग्छ । त्यसका लागि समय भने पक्कै लाग्छ । किनभने स्टार्टअप आजको भोलि सफल हुँदैनन् । फेरि धेरै स्टार्टअपलाई 'इन्कुबेट' गर्न जरुरी छ ।

संसारभर अनुसन्धान गर्न वित्तीय सहयोग प्राप्त हुने गर्छ । जस्तै: क्यान्सर रोगको औषधी पत्ता लगाउन दाताहरूले वित्तीय सहयोग गर्छन् । त्यसमा कडा प्रतिस्पर्धा हुन्छ । किनकी अन्य अनुसन्धान केन्द्र अथवा प्राध्यापकहरूले पनि आवेदन दिन्छन् । त्यसमा उत्कृष्ट छानिने गर्छन् ।

अहिलेसम्म परियोजनामा आधारित भएर मात्र नामीले सहयोग पाएको छ । संस्था स्वयंले सहयोग पाएको छैन । तिनै परियोजनाहरूको सहयोग अलिअलि मिलाएर नामी चलिरहेको छ । विदेश तिर भने मुनाफा वितरण नगर्ने संस्थालाई दाताहरूले सहयोग गर्छन् । नामी पनि मुनाफा वितरण नगर्ने संस्था नै हो । हुन त हामीले सहयोग नमागेका पनि हौं । काम नगरी सहयोग माग्नु भन्दा गरेर माग्दा राम्रो हुन्छ । 

यद्यपि नेपालमा सरकारी तवरबाट नामीलाई सहयोग नआएको होइन । कोभिड कालमा नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट)ले नामीलाई दश लाख रुपैयाँ दिएको थियो । त्यसखाले सहयोग गर्ने संयन्त्र नेपालमा छैन । यसका लागि नीतिगत सुधार जरुरी छ ।

एआई कार्यशालामा डा. खनाल

नामीले विश्वविद्यालय अनुदान आयोगबाट सिधै पैसा पाउँदैन, विश्वविद्यालयहरूले पाउँछन् । करौडौंको आर्थिक स्रोत आयोगमा छ । तर त्यस मध्ये कति यत्तिकै खेर जान्छ, त कति राम्रोसँग प्रयोग हुँदैन । केहीले भने राम्रा गरिरहेका हुन्छन् । तर उस किसिमको स्रोत सदुपयोग भने कमै हुने गर्छ । 

मन्त्रालयहरूले टुक्रा टुक्रा लगानी दिइरहेका हुन्छन् । जुन त्यति पारदर्शी हुँदैन । यी सबै समस्या समाधान गर्न ‘नेसनल साइन्स एजेन्सी’ जस्तो एउटा ‘साइन्स फन्डिङ बडी’ चाहिन्छ । त्यसमा जोकोसैले पनि आवेदन दिन योग्य हुनु पर्छ । स्वतन्त्र मूल्याङ्कन गर्न सक्ने अधिकार त्यो निकायमा हुनु पर्छ । खासमा त्यस्तो निकाय नभएर नामीले अहिलेसम्म आफैं वित्तीय सहयोग नमागेको हो ।

कर्पोरेट सोसल रेस्पोन्सिबिलिटी (सीएसआर) नामी जस्ता संस्थाको राम्रो विकल्प हुन सक्छ । धेरै कम्पनीले सही तरिकाले सीएसआर प्रयोग गरेका हुँदैनन् । त्यो पैसालाई अलिकति भए पनि विज्ञानमा खर्च गर्न सकिन्छ । त्यसले अध्ययन अनुसन्धान गर्न ठूलो सहयोग गर्न सक्छ । जसको नतिजा अकल्पनीय हुन्छ । अहिले त्यस्तो व्यवस्था नभएको अवस्था छ । 


अहिले हाम्रा विश्वविद्यालयहरूले अध्ययन अनुसन्धानमा कत्तिको जोड दिएको पाउनु हुन्छ ?

विश्वविद्यालयमा ठूलै परिवर्तन चाहिएको छ । पढाउने तरिका, काम गर्नेहरूको विकास, अध्ययन/अनुसन्धान, मूल्याङ्कन लगायतका आधारभूत विषयमा नै परिवर्तन गर्नु पर्ने आवश्यकता छ ।  

त्यो बिना केही हुनेवाला छैन । अपवादमा अहिले केही राम्रो भएको छ । त्रिभुवन विश्वविद्यालय लगायतका अन्य केही विश्वविद्यालयमा रिसर्च ल्याब बनेका छन् । केही प्राध्यापक छन्, जो आफ्नै बलबुतामा अनुसन्धानको काम गरिरहेका छन् ।

वास्तवमा नामी जस्ता पचासौं संस्था बनिसक्नु पर्ने हो । तर नेपालका अप्ठ्यारा परिस्थितिलाई झेलेर अठोटका साथ काम गर्नुपर्ने भएकाले त्यस्ता संस्था जन्मिन सकिरहेका छैनन् । सबैले सहजै काम गर्न सक्ने माहोल बनिसकेको छैन । यहाँ राम्रो गर्नेलाई पुरस्कृत र नराम्रो गर्नेलाई दण्ड सजाय गर्ने व्यवस्था नै छैन । 

केही प्रयास अवश्य भइरहेका छन् । जुन गतिमा  हुनुपर्ने हो, त्यो छैन । अनि राजनीतिक नेतृत्वले ती समस्या जरैदेखि रूपान्तरण गरौं भन्ने आँट गरेको पनि देखिंदैन । सामान्य काम मात्र भइरहेका छन् ।


यस्ता समस्या काम गर्दै जाँदा महसुस गर्नु भएको हो कि विदेशबाट फर्किनु अघि नै थाहा पाउनु भएको थियो ?

विदेशमा हुँदा नै यी समस्याबारे थाहा थियो । यिनलाई झेल्न भनेर नै नेपाल आएको हुँ । अप्ठ्यारो हुन्छ भन्ने कुरा थाहा नभएको होइन । सरकारले समाधान गर्छ, अनि आउँला भन्ने सोच थिएन । आफ्नो तरिकाले कति सकिन्छ गर्ने अनि विस्तारै सरकारबाट पनि केही होला भन्ने थियो । नेपालको उत्कृष्ट भनिने पुल्चोक क्याम्पसमा पढ्दै गर्दादेखि म यी समस्यासँग परिचित थिएँ । नेपालमा गुणस्तरीय शिक्षा नहुनुको कारण नै त्यही हो ।


तपाईं आफैं पनि पुल्चोक क्याम्पसमा पढ्नु भएको, कार्यालय पनि क्याम्पस नजिकै रहेछ । तर अलिसम्म नामीले इन्जिनियरिङ अध्ययन संस्थानसँग किन कुनै पनि सहकार्य नगरेको होला ?

पहिले पुल्चोक क्याम्पसमा सहकार्यको प्रस्ताव राखेका थियौं । उच्च गुणस्तरको विद्यावारिधि कार्यक्रममा सहकार्य गरौं भन्ने प्रस्ताव थियो । त्यसका लागि लगानी पनि आफैं ल्याउँछौं भनेका थियौं । यहाँ त विद्यार्थी आफैंले पैसा तिर्नु पर्छ । हामीले विद्यार्थीलाई तलब दिएर पूर्ण रूपमा काम गर्ने वातावरण दिन्छौं भनेका थियौं । त्यस विषयमा सल्लाह भएपनि अरू कुरा अघि बढ्न सकेन ।  

ज्वागल ललितपुर स्थित नामीको कार्यालय

खासमा विद्यार्थीको फाइदा हेर्नु पर्छ । यहाँ विद्यार्थीको फाइदाभन्दा पनि अरू नै हेरिन्छ । सहकार्य गर्न नसक्नुमा हामीले नजानेर पनि हुन सक्छौं । तर मुख्यतः खुलापन देखेनौं । जुन खुलापन सहित विश्वविद्यालय खुल्नु पर्ने हो त्यो नहुन सकेको छैन ।


पछिल्लो समय विभिन्न कलेजहरूले एआई कोर्स पढाउन थालेका छन्, त्यसलाई कसरी लिनु भएको छ ?

संसार नै त्यतातिर गइरहेको सन्दर्भमा नेपालमा पनि एआई कोर्स पढाइ हुन थाल्नु स्वभाविक छ । त्यस्ता कोर्स जति धेरै पढाउन सक्यो, त्यति नै राम्रो हुन्छ । नयाँ ज्ञान थाहा पाउन मान्छेलाई धेरै अवसर चाहिएका छन् । त्यस्ता अवसर प्रदान गर्न कलेजहरू अघि सरेका छन् । 

त्यसरी कलेजमा हाम्रो क्षेत्रको विषय पढाइ हुनु पनि राम्रो हो । किनकी हामीलाई जनशक्ति पनि चाहिन्छ । नामीलाई सीपभन्दा पनि गुणस्तर चाहिएको हो । अहिले एउटा पद खुला गर्दा ३००/४०० आवेदन आउँछन् । हामीले राखेको उद्देश्य पूरा गर्न सङ्ख्या भन्दा पनि गुणस्तरमा ध्यान दिनु पर्छ । त्यो विश्वस्तरीय गुणस्तर निकाल्न अहिलेको पढाइले पुग्दैन । अतिरिक्त तालिम लिनुपर्छ । त्यसकारण नामीले एआई स्कुल जस्ता कार्यक्रम सञ्चालन गर्ने गरेको छ । समग्रमा नेपालमा पनि एआई कोर्स पढाइ हुनु सकारात्मक छ ।


तर यस्ता विषयको पढाई  राजधानी केन्द्रित छ । त्यसमाथि पछिल्लो समय च्याटबटलाई नै एआई ठान्ने गरिएको छ । यसमा तपाईंको भनाई के छ ?

एआईका परिभाषा फरक फरक छन् । त्यसमाथि समय अनुसार परिभाषा फेरिने कुरा पनि हुन्छ । अहिलेको समय अनुसार एआई भनेको कुनै पनि एउटा काम बुद्धिमतापूर्वक सम्पन्न गर्न सक्ने मान्छेले बनाएको कम्प्युटर/डिभाइस/प्रोग्राम हो । त्यो काम गर्न सामान्य अवस्थाको तुलनामा केही दिमाग लगाउनु पर्छ । अनि त्यो काम मान्छेले गर्न सक्ने वा गर्न नसक्ने दुवै हुन सक्छ ।

जस्तै: भाषा अनुवाद गर्ने, एक्स-रे गरेको इमेजबाट रोग पत्ता लगाउने आदि । तर यो परिभाषा पनि क्रमश: फेरिंदै जान्छ । अहिले एआईमा पनि जेनेरेटिभ एआई लगायत फरक फरक विधा छन् । यी विस्तारै एकै ठाउँमा आउँदा एआई परिवर्तन हुन सक्छ ।


विश्वभर नै अहिले एआईको चर्चा भइरहेको छ । यसमा नेपाल ठ्याक्कै कहाँ छ ?

एआईमा गर्न सक्ने काम धेरै छन् । हाम्रो नीति, मानसिकता त्यहाँसम्म पुग्ने/नपुग्ने, त्यो अर्को विषय भयो । नेपालसँग युवाहरू छन् । जसले अवसर पाए जे पनि गर्न सक्छन् । संसारका लागि एआई नयाँ छ । अरू देशले धेरै गरिसके, हामीले केही गरेका छैनौं भन्न मिल्दैन । 

युवाहरूले सजिलै यो प्रविधि बुझ्न सक्छन् । किनकी अहिले सूचनाको पहुँच पनि पहिलेको तुलनामा बढी छ । एआई फेरि गाह्रो प्रविधि होइन । यसमा काम गर्न पनि सजिलो छ । कम्प्युटर र दिमाग भए धेरै काम गर्न सकिन्छ । 

केही अपवाद पनि छन्, च्याटजीपीटी जस्ता टुल विकास गर्न करौडौं लाग्न सक्छ । फेरि त्यो तहको एआई पनि हामीलाई चाहिंदैन । त्यसो भन्दैमा जेनेरेटिभ एआईमा काम नै गर्न नसकिने भन्ने पनि होइन । 

नामी कार्यालयमा छलफल हुँदै
सरकारले विभिन्न क्षेत्रमा बजेट छुट्याइरहेको हुन्छ । त्यही अनुसार तदारुकता देखाउने हो भने केही करोडमा जेनेरेटिभ एआई बनाउन सकिन्छ । अझ अर्बौं रुपैयाँ छुट्याउने हो भने धेरै काम गर्न सकिन्छ ।

एआईको सन्दर्भमा नेपाल तलमाथि छैन । सबै देशलाई भएको अवसर समान हो । त्यसबाट अर्थतन्त्र विकास गर्ने/नगर्ने हाम्रो कुरा । यदि त्यसो गरेनौं भने हामी निरन्तर पछाडि पर्दै जान्छौं । आज पछाडि पर्नु भनेको एक वर्ष पछाडि पर्नु बराबर हो । किनभने अरू देश त निरन्तर अघि बढिरहेका हुन्छन् । हामी जति ढिला हुन्छौं, त्यति नै दूरी बढ्दै गएर एक दिन भेटाउनै नसक्ने अवस्था पनि आउन सक्छ ।

 

एआईको नियमनको सवालमा तपाईंको दृष्टिकोण के छ ?

एउटा कुनै देशमा मात्र नभएर संसारभर एआईको नियमन आवश्यक छ । नेपालको परिप्रेक्ष्यमा नियमनसँगै प्रयोग बढाउन पनि पहल गर्न जरुरी छ । 

गैरसरकारी संस्थाहरूले नेपालमा समाज सेवा सम्बन्धी थुप्रै काम गरेका छन् । तर अझैं पनि गाउँ गाउँमा स्वास्थ्य सेवा पुगेको छैन । कृषिका समस्या यथावत् छन् । अर्थात् लगानी अनुसारको नतिजा आएको छैन । जति हुनु पर्ने, भएको छैन । 

अर्को तर्फ त्यस्ता संस्थाहरूको कामले केही सामाजिक परिवर्तन गरेपनि मान्छेको आय गर्न सक्ने क्षमता जहाँको त्यहीं छ । राम्रो शिक्षा-स्वास्थ्य पाउने लगायतका सामाजिक आकाङ्क्षा बाहेक आफूले आय गर्न सक्नु मान्छेको आधारभूत आवश्यकता हो । आयको कुरा उत्पादकत्वसँग प्रत्यक्ष जोडिएको हुन्छ । यदि आम नेपाली जनता उत्पादनसँग प्रत्यक्ष जोडिए किनबेच गर्न सक्ने क्षमता राष्ट्रिय रूपमा बढ्छ । फलस्वरूप विदेशमा निर्यात गर्ने क्षमता स्वत: बढ्छ । 

अहिले नेपालमा विदेशबाट समान ल्याउने र यहाँ बेच्ने मात्र भइरहेको छ । त्यसले गर्दा स्थानीय उद्योगहरू बन्न र विकास हुन सकिरहेका छैनन् । अर्थात् नेपालमा उद्योग बन्न नसक्ने समस्या र सामाजिक आकाङ्क्षा बीच तादम्यता छैन । अहिलेसम्म यी दुवैलाई अलग्गै राखिएको छ ।

अब नेपालले बनाउने एआई सम्बन्धी नीतिमा यी दुवै कुरा जोड्ने कुरा समेटिनु पर्छ । किनकी गैरसरकारी संस्थाहरूको कामलाई थप प्रभावकारी बनाउन एआईले भूमिका खेल्न सक्छ । जस्तैं: गाउँगाउँमा स्वास्थ्य सेवा बढाउन एआईले भूमिका खेल्न सक्छ ।

नेपालले एआईलाई नियमन गरिरहँदा आम मान्छेको सामाजिक आकाङ्क्षा र अर्थतन्त्रलाई जोड्न सक्नुपर्छ । अनि मात्र मान्छेको आय क्षमता वृद्धि हुन सक्छ । जस्तै: नेपालमा डेङ्गुको समस्या छ । डेङ्गुलाई रोक्न एआईमा केही अनुसन्धान हुन सक्छ । त्यस आधारमा कुनै उत्पादन तयार हुन सक्छ । जसलाई अरू देशहरूमा बेच्न सकिन्छ । किनकी त्यहाँ पनि डेङ्गु व्याप्त छ ।

नामीले सञ्चालन गर्ने एआई स्कुलमा सहभागी विद्यार्थीहरू

समग्रमा नेपालको अर्थतन्त्रको रूपान्तरणका लागि आवश्यक पर्ने नवप्रवर्तन एआईबाट आउनु पर्छ । त्यसबाट तयार हुने वस्तु वा सेवालाई निर्यात गर्न सक्ने क्षमता अभिवृद्धि गर्न पनि एआईलाई जोड्न सक्नु पर्छ । किनकी उद्यमशीलतामा एआई प्रयोग हुन सक्ने सम्भावना निकै छ । 

जस्तै: च्याउ खेती गरिरहेका किसानको उत्पादकत्व बढाउन एआई प्रयोग गर्नु पर्छ । गलैचाको अझ बढी निर्यात गर्न एआईको प्रयोग गरिनु पर्छ । पर्यटन क्षेत्रको विकासमा एआईको प्रयोग हुनुपर्छ ।

तर यी सबै कुरा गरिरहँदा हामी पूरै उपभोक्ता मात्रै भने हुनु हुँदैन । उद्यममा प्रयोग हुने एआईलाई समेत आयात गर्न थाल्यौं भने हामी झन् मार्कामा पर्छौं । त्यसो हुँदा अर्थतन्त्र झन् धराशायी हुन जान्छ । त्यसकारण नेपालमा एआई बनाउने वातावरण विकास गरिनु पर्छ । नेपाली एआई एप्लिकेसनलाई प्रवर्द्धन गर्नु पर्छ । भन्नुको अर्थ नेपालमै बनाइने एआईलाई स्थानीय उद्यमशीलतामा प्रयोग गरौं भन्ने हो ।

त्यस्तै एआईको दुरुपयोग समेत उतिकै रोक्नु पर्छ । मान्छेलाई दु:ख दिने कामहरूमा एआई प्रयोग गर्नबाट रोक्नु पर्छ ।  त्यस्ता खतरा हुने क्षेत्रमा एआईको प्रयोग रोक्ने गरी नीति बन्नु पर्छ ।


एआई एप्लिकेसनको कुरा गरिरहँदा धेरैजसो देशले आफू अनुकूल एप्किलेसन बनाइरहेका छन् । नेपालले आफ्नै भाषाहरू बुझ्ने एआई एप्कलिकेसन बनाउन कत्तिको गाह्रो छ ?

नेपालले आफ्नै एआई एप्लिकेसन बनाउन कुनै गाह्रो छैन । प्राविधिक रूपमा नेपाल सक्षम छ । अभाव छ त केवल स्रोतको । जस्तै: नेपाली भाषा ट्रान्सक्राइब गर्ने एप्लिकेसन बनाउन स्रोतको अभाव छ । त्यस्ता एआई एप्लिकेसन बनाउँदा पर्याप्त डेटामा तालिम दिनु पर्छ।  ती स्रोत जुटाउने हो भने एआई टुल विकास गर्न कुनै समस्या छैन ।

यसका लागि राज्यले सोच्नु पर्छ । सबै भाषाको एआई एप्लिकेसन बनाउन करोडौं खर्च हुन सक्छ । सुरुआत नेपाली भाषाबाट गर्ने हो भने केही करोडमा बनाउन सकिन्छ । फेरि यो विषय एआई प्रविधि भन्दा पनि हाम्रो मानसिकतासँग जोडिन्छ । 

हामी मध्ये धेरै नेपालीमा लेख्न वा टाइप गर्न आउँदैन भनेर मक्ख परिरहेको हुन्छौं । नजानेकोमा गर्व गरिरहेका हुन्छौं । यो सांस्कृतिक हीनताबोध हो । व्यक्तिगत रूपमा अङ्ग्रेजीको जमाना छ भन्ने तर्क होला । तर सामाजिक रूपमा यो हामी गरिब भएको उदाहरण हो ।  

तर भविष्यमा अङ्ग्रेजी भाषा अहिलेको अवस्थामा नहुन सक्छ । यदि भाषानुवादमा एआई सक्षम भए त्यही प्रविधिको प्रयोग बढ्छ । विदेश जाँदा त्यही डिभाइस प्रयोग गर्न सकिन्छ । त्यसो हुँदा अनुवादक समेत आवश्यक पर्ने छैन । 

नेपाली भाषाको एआई एप्लिकेसन बनाउन डेटा, स्रोत र बजार चाहिन्छ । अङ्ग्रेजी भाषाका च्याटबटको बजार ठूलो भएरै चर्चामा आएका हुन् । नेपाली भाषाको एआई टुल बनाउन नामी जस्ता कम्पनी आफैंले गर्न सक्दैनन् । किनकी बजार छैन । स्रोत छैन ।

अहिले ‘एआई फ्रम भारत’ भनेर भारतले आफ्नो भाषाका एआई टुल बनाउने काम गरिरहेको छ । नेपालले पनि भारतले जस्तै काम सक्छ । यसमा सरकारको सहयोग भने महत्त्वपूर्ण हुन्छ ।


एआई च्याटबटले सर्च इन्जिनलाई विस्थापित गर्न सक्ने चर्चा पनि भइरहेको सुनिन्छ । तपाईंलाई के लाग्छ ?

यो कुरा प्रयोगकर्ताको अनुभवसँग सम्बन्धित छ । विस्थापन गर्नै नसक्ने भन्ने छैन । च्याटबटमा भएका धेरै प्राविधिक समस्या समाधान भइसकेका छन् । प्रयोगकर्ताको सङ्ख्या बढ्दै गएपछि च्याटबटमा थप फिचर आउने निश्चित छ । अहिले पनि कतिपय च्याटबटमा भोइस लगायतका फिचर छन् ।

मेरो विचारमा कुनै पनि विषय खोज्न सर्च इन्जिनको तुलनामा च्याटबटमा निकै सजिलो छ । किनकी सर्च गर्न जान्ने मान्छेहरूले ‘किवर्ड’ राख्लान् । तर धेरैले सामान्य तरिकाले सर्च गर्छन् । त्यसको आधारमा च्याटबटले सजिलैसँग राम्रो उत्तर दिन्छ ।

फेरि च्याटबटले सर्च इन्जिनलाई विस्थापन गर्ने नगर्ने कुरा अर्थसँग पनि जोडिन्छ । गुगल सर्च इन्जिन यति धेरैले प्रयोग गर्नुको कारण नि:शुल्क हुनु पनि हो । 


एआईले मानव जीवनलाई सहज बनाउनेमा कुनै सन्देह छैन । तर यसलाई दुरुपयोग गर्ने प्रवृत्ति पनि बढिरहेको छ । यस्तोमा एआईको खतराबाट सतर्क हुन कत्तिको जरुरी छ ?

स्वभाविक रूपमा मानव जीवनलाई एआईबाट खतरा आउन सक्छ । किनभने मानिस भावनात्मक तरिकाले पनि जोडिन्छ । सजीव वस्तु बाहेक घर, फोन जस्ता निर्जीव वस्तुसँग त मान्छे यति धेरै नजिकिएका हुन्छन् कि ती छोड्दा मान्छे भावनात्मक रूपमा निकै पीडा महसुस गर्छ ।

अहिलेका एआई च्याटबट यतिमा मात्र सीमित हुनेवाला छैनन् । आफूलाई मन पर्ने आवाज/स्वर/गुण जडान गर्न मिल्ने च्याटबट भविष्यमा आउने निश्चित छ । त्यस्ता टुलले प्रयोगकर्तालाई मानिस जसरी सजिलै न्याय गर्दैनन् । यी सहित अन्य कारणले मानिस भावनात्मक रूपमा समेत त्यस्ता टुलसँग नजिकिन्छन् । मानिसले तिनसँग मनोवैज्ञानिक रूपमा सहज महसुस गर्नेछन् । मानसिक स्वास्थ्यसँग सम्बन्धित अहिलेका च्याटबट यसका उदाहरण हुन् । विभिन्न श्वेतपत्रले ती च्याटबटसँग मान्छेहरू अधिक नजिक भइरहेको देखाएका छन् । 

अबको डर एआईसँग भन्दा मान्छे र एआईको अन्तरक्रियाले बनाउने नयाँ सामाजिक मूल्य मान्यतासँग हुनु पर्छ । लामो समयदेखि नग्नता, स्वतन्त्रता, खुलापन लगायतका विषयमा मानिसले फरक फरक धारणा राख्दै आएका छन् । यस्तोमा बहुमत तथा शक्तिशाली वर्गले राख्ने धारणा जहिल्यै बाहिर आउँछ । यस्तो धारणामा स‍धैं वैचारिक द्वन्द्व हुने गर्छ । त्यसरी नै एआईबारे नयाँ धारणा आउने छ ।

विदेशी नागरिकलाई नामी परियोजनाबारे बताउँदै नामीका प्रतिनिधि

कसैले एआईसँग अन्तरक्रिया गर्न हुन्छ त कतिले गर्न हुन्न भन्ने दोधारे धारणा आउँछन् । ती फरक फरक धारणाबीच मानिस कसरी सहिष्णु भएर बस्छ भन्ने कुरा अबको सबैभन्दा ठूलो चुनौती हो ।

एआईबाट हुन सक्ने अर्को चुनौती काममा हो । एआईका कारण कामको प्रकृति फेरिने निश्चित छ । एआईको दुरुपयोग अर्को चुनौती हो । समग्रमा यी तीन कुरा तत्काल देखिने एआईका खतरा हुन् । 

यही कुराकानीमा एआई हामी भन्दा पनि बुद्धिमान भए के हुन्छ भन्ने प्रश्न पनि जोडिन्छ । तर यस विषयमा अहिले केही भन्न सकिँदैन । किनकी त्यो समय कस्तो हुन्छ देखिएकै छैन । एआई मानिसभन्दा बुद्धिमान भए हामीले विश्लेषण गर्न सक्दैनौं । जसरी कमिला, चिल, हात्तीहरूले मानिससँग एक तहको अन्तरक्रिया गर्न सक्छन् । तर मानिसले सोचेर कहाँ के के गरिरहेको छ भन्ने कुरा उनीहरूले भेउ पाउन सक्दैनन् । त्यस्तै अवस्थामा मानिस हुन सक्छ । 

हामीभन्दा एआई बुद्धिमान हुनुलाई ‘सुपर इन्टेलिजेन्स’ भनिन्छ । त्यो भन्दा अघिको आर्टिफिसियल जनरल इन्टेलिजेन्स (एजीआई) हामी समानको अवस्था हो । जसरी एउटा मानिसले अर्को मानिसलाई प्रयोग गरेर अनेकन् आपराधिक गतिविधि गरिरहेको छ, एजीआई त्यही अवस्थामा प्रयोग हुन सक्छ । अथवा राम्रो कामका लागि समेत एजीआई प्रयोग हुन सक्छ । तर एआई सुपर इन्टेलिजेन्स भयो भने त्यो समय मान्छेको हातमा हुँदैन । जसरी यो संसार कता जाने विषयमा हात्तीको हात छैन, उसरी नै त्यस समय मानिसको हातमा हुँदैन ।

त्यसरी एआई हामीभन्दा शक्तिशाली भएपछि मानव सभ्यतालाई राम्रो गर्ने वा नगर्ने भन्ने विषय उसको मूल्य मान्यतामा कसरी चल्छ भन्ने कुरामा भर पर्न सक्छ । असमान रहेको  संसारको अर्थतन्त्रलाई समाधान  गर्ने सजिलो तरिका त्यस्ता एआईले ल्याउन सक्छन् । संसारमा भएका कुनै पनि समस्या हल गर्न आवश्यक पर्ने उत्कृष्ट समाधानहरू निकाल्न सक्छन् । मानिसहरू सबै रमाइलो गर्दै बस्न सक्छन् । जुन राम्रो पक्षबाट सोच्दा हुने घटना भए । अब नराम्रो विषय सबैलाई थाहा छँदै छ ।


यस्तो संसार नै परिवर्तन गर्न सक्ने एआईको क्षेत्रमा आउन चाहने नयाँ पुस्तालाई तपाईंको सल्लाह सुझाव के हुन सक्छ ?

सबैभन्दा पहिला कत्तिको गहिराइमा जाने भन्ने कुराको निष्कर्ष निकाल्नु पर्ने हुन्छ । किनकी एआई क्षेत्रमा प्राविधिकबाहेक गैर-प्राविधिक क्षेत्रमा पनि उत्तिकै भविष्य छ । किनकी समाजशास्त्र र एआईको सम्बन्धलाई लिएर थुप्रै नयाँ जागिर सिर्जना हुने सम्भावना छन् । जस्तैं: समाजमा एआई कसरी आउनु पर्छ ? एआईलाई नियमन कसरी गर्नु पर्छ ? एआईको नैतिकता कस्तो हुनु पर्छ ? एआई युगमा अर्थतन्त्रको ढाँचा कस्तो हुनु पर्छ ? यस्ता प्रश्नको समाधान गर्न जनशक्ति चाहिन्छ । यसका लागि सामाजिक, आर्थिक क्षेत्रका व्यक्ति आउन सक्छन् ।

अब प्राविधिक धारमा जाने भए अहिले अनलाइनमा निकै स्रोत भेटिन्छन् । तिनको एक तहसम्मको अध्ययन गर्नु पर्छ । नामीले पनि एआईसँग सम्बन्धित विभिन्न कार्यक्रमहरू आयोजना गरिरहेको हुन्छ । त्यस्ता कार्यक्रमहरूमा भाग लिन सकिन्छ । 

त्यस्तै एआईमा लाग्नु छ भने प्रोग्रामिङ ल्याङ्ग्वेज जान्नु आवश्यक छ । त्यसपछि मसिन लर्निङको आधारभूत ज्ञान लिन पनि जरुरी हुन्छ ।  जस्तै: डेटा भनेको के हो ? एआईमा डेटाले कसरी काम गर्छ ? डेटा कसरी तयार गर्नु पर्छ ? लगायतका कुरा जान्नु पर्छ । छोटकरीमा भन्दा डेटा, इन्पुट मोडेल, आउटपुट पर्फमेन्स , इभ्यालुएट सम्बन्धी कुरा बुझ्नु पर्छ ।

पछिल्लो अध्यावधिक: फागुन २३, २०८० १२:०