close

यस्तो छ, ३० हजार मूल्य पर्ने ५१२ जीबी भएको ‘अनर एक्स ८ बी’

उष्मा अधिकारी

फागुन २७, २०८० १६:५२

यस्तो छ, ३० हजार मूल्य पर्ने ५१२ जीबी भएको ‘अनर एक्स ८ बी’

काठमाडौं । नेपाली बजारमा चिनियाँ मोबाइल ब्रान्ड अनरले हालै सार्वजनिक गरेको फोन हो, ‘अनर एक्स ८ बी’ (Honor x8b) । चल्तीको डिजाइन, १०८ मेगापिक्सेलको क्यामेरा. प्रिमियम फिनिस, हलुका र ५१२ जीबी स्टोरेज भएको यो फोन आकर्षक छ । 

नेपाली बजारमा फाेनकाे मूल्य ३० हजार रुपैयाँ तोकिएकाे छ । झट्ट हेर्दा आईफोन १४ प्रो म्याक्स जस्तै देखिने यो फोन फिचर/क्षमतामा के कस्तो छ, आज हामी यो सामग्रीमा चर्चा गर्छौं:

फोनको सबैभन्दा राम्राे पक्ष यसको लुक्स हो । धेरैले यसलाई आईफोन जस्तै देखिन्छ भनेका छन् । हुन पनि घुमाउरो किराना, भोल्युम र पावर बटनको स्थान, बक्सको डिजाइन हेर्दा आईफोनको पछिल्लो संस्करण जस्तै लाग्छ । 

फोनको पछाडि छालाको समथल टेक्स्चर छ । जसले फोनलाई भिन्न देखाएको छ । त्यही माथि ट्रिपल क्यामेरा सेटअप र एउटा फ्ल्याश देख्न सकिन्छ ।

दायाँ भागमा भोल्युम कन्ट्रोलर र फिङ्गर प्रिन्ट सेन्सरयुक्त पावर बटन पाउन सकिन्छ । फोनको बायाँ भागमा सिमकार्ड ट्रे पाउन सकिन्छ । जसमा दुईवटा न्यानो सिमको स्लट पाउन सकिन्छ । तर एसडी कार्डका लागि छुट्टै ठाउँ उपलब्ध गराइएको छैन । 

फोनको तल्लो भागमा एउटा स्पिकर र टाइप-सी चार्जिङ पोर्ट देख्न सकिन्छ । फोनको मोटाइ ६.७८ एमएम छ भने तौल जम्मा १६६ ग्राम छ । यसले फोन बोक्दा पातलाे र हलुका मात्र हाेइन, हातमा सजिलैसँग पनि अट्छ । 

फोनको बडी प्लास्टिकबाटै बने पनि छालाको टेक्स्चरका कारण त्यस्तो महसुस हुँदैन । यसका साथै फोन पनि हातमा मजाले अडिन्छ । 

अनरको यो फोन ग्ल्यामरस ग्रिन, टाइटानियम स्लिभर र मिडनाइट ब्ल्याक रङमा पाउन सकिन्छ ।

फोनको स्क्रिनको माथिल्लो भागमा आईफोन १४ प्रो म्याक्समा भएजस्तो डाइनामिक आईल्यान्ड देख्न सकिन्छ । तर त्यो डाइनामिक आईल्यान्ड भने पक्कै होइन । कम्पनीले यसलाई ‘म्याजिक क्याप्सुल’ नाम दिएको छ, जसमा कल आउँदा, अलार्म राख्दा, टाइमर राख्दा, अडियो रेकर्डिङ गर्दा वास्तविक समयमा सूचना देखिने कम्पनीले भनेको छ ।

हाम्रो परीक्षण दौरान टाइमर र अडियो रेकर्डिङबारे म्याजिक क्याप्सुलमा सूचना देखिएको थियो । तर अलार्म सेट गरेर हेर्दा र फोन कल आउँदा भने त्यसमा केही पनि देखिएको थिए । अनरले आफ्नो अपडेटमा सायद सबै फिचर अनलक गर्नेछ । 

यस फोनमा ९० हर्ज सहितको ६.७ इन्चको फुल एचडी प्लस एमोलेड डिस्प्ले पाउन सकिन्छ । फोनमा २००० निट्स सम्मको अधिकतम ब्राइटनेस छ । यसो हुँदा चर्को घाममा पनि फोन मजाले चलाउन सकिन्छ ।

त्यस्तै डिस्प्लेमा बेजल्स पनि एकदम कम मात्र देख्न सकिन्छ । यसकारण फोनमा भिडि‌ओ हेर्दा, गेम खेल्दा, सामाजिक सञ्जालका एप चलाउँदा अलि प्रिमियम फोन चलाएकाे महसुस हुन्छ ।

फोनको डिस्प्लेलाई ‘रिस्क फ्रि डिमिङ डिस्प्ले’ भनिएको छ । यसमा ३२४० हर्ज पीडब्लूएम डिमिङ डिस्प्ले छ । जुन टीयूभी राइन्ल्याण्ड फ्लिकर फ्रि प्रमाणित समेत छ । यसो हुँदा फोन चलाउँदा आँखालाई कम हानी हुने कम्पनीकाे भनाइ छ । साथै कम्पनीले यो फोनलाई एसजीएस फाइभ स्टार ड्रप रेजिस्टेन्स प्रमाणपत्र पाएको भनेर दाबी गरेको छ । 

फोनको क्यामेराले पनि निराश बनाउँदैन । प्रकाश पर्याप्त भएको ठाउँमा खिचेको फोटो गुणस्तरीय नै आउँछ । कोठाभित्र खिचेको फोटो पनि चित्तबुझ्दो नै हुन्छ ।

अल्ट्रावाइड क्यामेरा (५ मेगापिक्सेल)ले खिच्दा फोटो ठीकठाक नै आउँछ भने म्याक्रो लेन्स (२ मेगापिक्सेल)ले खिचेको पनि राम्रै नै आउँछ । तर नाइट मोडबाट खिचिएका फोटो भने ठीकै मात्र आउँछ । प्रकाश धेरै नभएको ठाउँमा खिचेको फोटोमा गुणस्तर कम हुने समस्या छ । 

यसबाहेक क्यामेरामा एपेर्चर, पोट्रेट, पानोरमा, टाइम ल्याप्स, हाइ रेजाेलुसन, स्टोरी आदि मोड छन् । यदि तपाईं भ्लगिङमा रुचि राख्नुहुन्छ भने स्टोरी मोड प्रयोग गरेर त्यस्ता भिडिओ बनाउन सक्नुहुन्छ । तपाईंले डुअल भ्यू मोडको विकल्प पनि पाउन सक्नुहुन्छ । साथै विभिन्न फिल्टरहरूको प्रयोग गरेर समेत फोटो खिच्न सक्नुहुन्छ ।

त्यसैगरी पोट्रेट मोडमा भने ब्युटी फिल्टर पनि उपलब्ध छन् । जहाँबाट टोन (Tone) मिलाउन, कन्टोर (contour) गर्न, टेक्स्चर मिलाउन सकिन्छ ।

फोनको अर्को राम्रो पक्ष यसमा ५० मेगापिक्सेलको सेल्फी क्यामेरा दिइएको छ । साथै क्यामेरा सेटिङ भित्र स्मार्ट क्याप्चर पनि छ, जसलाई ‘अन’ गर्दा हाँसेकै भरमा तपाईंले स्वत: फोटो खिच्न सक्नुहुन्छ । साथै यहाँ चाललाई कन्ट्रोल गर्ने मोड पनि छ । त्यसलाई ‘अन’ गर्ने हो भने हात देखाएकै भरमा तपाईंले सेल्फी क्यामेराबाट तस्वीर खिच्न सक्नुहुन्छ ।

त्यस्तै फोनबाट अगाडि र पछाडिको क्यामेराबाट १०८० पिक्सेलको भिडिओ ३० एफपीएसमा खिच्न सकिन्छ । यसबाट खिचिने भिडिओको गुणस्तर राम्रो भएता पनि स्थिर (stable) भने हुँदैनन् । साथै प्रकाश कम भएको ठाउँमा खिचिएको भिडिओको गुणस्तर पनि उस्तो राम्रो हुँदैन ।

क्यामेराको सेटिङभित्र एउटा फ्लोटिङ शटरको विकल्प छ, त्यसलाई इनेबल गर्ने हो भने क्यामेरा अन गर्दा एउटा पारदर्शी गोलो वस्तु स्क्रिनमा देखा पर्छ । त्यसलाई ‘फ्लोट’ गर्न मिल्ने भएकाले फोटो/भिडिओ खिच्दा तपाईंले आफ्नो औंला अनुसार मिलाउन सक्नुहुन्छ । 

फोनको अर्को आकर्षक फिचर स्टोरेज हो । यसमा ८ जीबी र्‍याम र ५१२ जीबी स्टोरेज दिइएको छ । कम्पनीका अनुसार फोनलाई कम्प्युटर तहको स्टोरेज भनेर बताएको छ । साथै भर्चुअल्ली फोनमा ८ जीबी र्‍याम बढाउन सकिन्छ । त्यसो हुँदा फोनमा जम्मा र्‍याम १६ जीबी हुन्छ ।

५१२ जीबी स्टोरेज भएपछि भण्डारणको तनाव नलिई मनग्गे फोटो, भिडिओ खिच्न सकिन्छ । आफ्नो महत्त्वपूर्ण फाइल भण्डारण गरेर राख्न सकिन्छ । यसलाई फोनको एउटा बलियो पक्षमा रूपमा लिन सकिन्छ । 

फोन एन्ड्रोइड १३ मा आधारित छ भने म्याजिक ओएस ७.२ मा फोन चल्छ । फोनमा चिपसेट भने क्वालकम स्नापड्रागन ६८० प्रयोग भएको छ । यो ३ वर्ष पुरानो चिपसेट हो । यस चिपसेटमा गिकबेन्चको स्कोर १४७२ र एनटुटु (AnTuTu) को स्कोर तीन लाख १० हजार ९९३ रहेको छ । मिडरेञ्ज स्मार्टफोनका लागि यो चिपसेट राम्रो मानिन्छ ।

फोनको यूआई प्रयोगकर्तामैत्री छ । फोनमा एज प्यानल पनि छ । जसबाट मल्टी-विन्डोज, स्प्लिट स्क्रिन गर्न सकिन्छ । यनले मल्टी-टास्किङको कामलाई सहयोग गर्छ ।

फोनमा अल्वेज अन डिस्प्ले, वालपेपर, थिम, आइकनमा कस्टमाइजेसनको पनि केही विकल्प पाउन सकिन्छ । त्यस्तै फोनको गेस्चर अन्तर्गत स्क्रिनमा दुईचोटि क्लिक गर्दा, स्क्रिनमा गोलाकार बनाउँदा स्क्रिनशट लिने फिचर छ भने अङ्ग्रेजी अक्षर ‘एस’ बनाउँदा स्क्रोलशट गर्न सकिन्छ । 

सुरक्षाका लागि फोनमा एप लक (App Lock) छ । यसबाहेक स्क्रिन लकका लागि फिङ्गरप्रिन्ट, फेसलक, पिन, पासवर्ड पनि पाउन सकिन्छ ।

यो फोरजी फोन हो, यसमा ब्लुटुथ भर्सन ५ छ भने फोनले डुअल ब्यान्ड वाई-फाई सपोर्ट गर्छ ।

ब्याट्रीको सन्दर्भमा यसमा ४५०० एमएएचको ब्याट्री पाउन सकिन्छ, जसलाई चार्ज गर्न ३५ वाटको टाइप-सी चार्जर उपलब्ध गराइएको छ । फोनले फास्ट चार्जिङ सपोर्ट गर्छ । फोनलाई ५० प्रतिशत चार्ज गर्न २५ मिनेट जति लाग्छ भने फुल चार्ज गर्न लगभग डेढ घण्टा लाग्छ । एकपटकको फुल चार्जमा फोनलाई एकदिन मजाले चलाउन सकिन्छ । 

यी त फोनका राम्रा पक्ष भए । अब सुधार गर्नुपर्ने पक्षबारे कुरा गर्दा फोनमा मोनो स्पिकर मात्र छ । ३० हजार मूल्यको यो फोनमा स्टेरियो स्पिकर भए अझ राम्रो हुने थियो । त्यस्तै अहिले ३० हजारका फोनमा १२० हर्जसम्मका रिफ्रेस रेट पाउन सकिन्छ । तर फोनमा ९० हर्जमात्र दिइएको छ ।  फोन पातलो र आकर्षक भएपनि अलि धेरै चलाउँदा तातिएको महसुस हुन्छ । 

क्यामेराको मामिलामा पनि अल्ट्रा र म्याक्रो लेन्सको गुणस्तर पनि सुधार गर्न सकिन्थ्यो । साथै फोनले फोरके रेकर्डिङ भिडिओ सपोर्ट गर्दैन नै, फोनमा ६० एफपीएसको भिडिओ सपोर्ट पनि गर्दैन । यसका साथै क्यामेरामा ओआईएसको सुविधा पनि भएको भए अझ राम्रो हुने थियो । फोनमा फोहोर र पानीबाट बचाउने कुनै आईपी रेटिङ पनि छैन । 

त्यस्तै एन्ड्रोइड १४ सार्वजनिक भइसक्दा यो फोनमा एन्ड्रोइड १३ हुनुले प्रयोगकर्तालाई अलिकति खल्लो महसुस हुन सक्छ । साथै स्टोरेजको सन्दर्भमा युएफएस २.२को साटो यूएफएस ३.१ सम्म दिन सकेको भए फोनको अनुभव अझै राम्रो हुने थियो ।

समग्रमा यदि तपाईं चल्तीको डिजाइन, मनग्गे स्टोरेज, राम्रो क्यामेरा भएको बजेट फोन खोज्दै हुनुहुन्छ भने अनरको एक्स ८ बी एउटा राम्रो विकल्प हुन सक्छ ।

पछिल्लो अध्यावधिक: फागुन २८, २०८० २१:४७