close

यस्तो छ नेपाली ब्रान्ड अलेवाको बजेट स्मार्टवाच रेन्जर

टेकपाना टेकपाना

फागुन २८, २०८० १४:२६

यस्तो छ नेपाली ब्रान्ड अलेवाको बजेट स्मार्टवाच रेन्जर

काठमाडौं । स्मार्टवाच अहिले एउटा चल्तीको फेसन बनिसकेको छ । रहरले होस् वा आवश्यकताले, आफू सुहाउँदो वा प्रविधिसँगै अपडेट हुन स्मार्टवाच लगाउने चलन बढ्दो छ । 

त्यसै अनुरूप अहिले बजारमा विभिन्न प्रकारका स्मार्टवाच आइरहेका छन् । आज हामी नेपाली ब्रान्ड अलेवाले बजारमा ल्याएको स्मार्टवाच रेन्जरबारे चर्चा गर्दै छौं;

नेपाली बजारमा यो स्मार्टवाचको मूल्य पाँच हजार रुपैयाँ रहेको छ । जुन कालो, हरियो र खैरो रङ्गमा उपलब्ध छ ।

गोलाकार डिजाइन भएको यो स्मार्टवाचले ‘स्पोर्टी लुक्स’को महसुस गराउँछ । यसको बनावटको गुणस्तर पनि राम्रै मान्न सकिन्छ । तर यसमा  ‘प्लास्टिक बडी’ छ । 

यद्यपि बेजलको टेक्स्चर भने धातुको छ । जसमा केही सङ्केत र चिन्ह देख्न सकिन्छ । जस्तै: अङ्ग्रेजी अक्षर ‘ई’ र ‘डब्लू’ । यी अक्षरले क्रमशः पूर्व र पश्चिम दिशालाई जनाउँछन् । साथै त्यहाँ माथि र तल फर्केको तीरको चिन्ह पनि देख्न सकिन्छ । 

घडीको बेजलमा किला जोडिएको जस्तो डिजाइन छ । त्यसले घडीलाई अलिकति भए पनि ‘रफ लुक्स’ दिएको छ । घडीको फिता सिलिकनको छ । जुन लगाउँदा खासै असहज महसुस पनि हुँदैन । कम्पनीका अनुसार घडीले वाटर रेजिस्टेन्सका लागि आईपी ६८ रेटिङ पाएको छ । ब्याट्री भने यसमा ४१० एमएएचको छ । 

घडीमा १.४३ इन्चको एमोलेड फुल टच स्क्रिन डिस्प्ले छ । पछिल्लो समय नाम चलेका बजेट स्मार्टफोन ब्रान्डहरूले समेत एमोलेड स्क्रिन दिन थालिसकेका छन् । यसैबीच रेन्जरमा पनि एमोलेड स्क्रिन पाउनु एउटा राम्रो पक्ष हो । 

घडीमा ८०० निट्सको अधिकतम ब्राइटनेस पाउन सकिन्छ । त्यसो हुँदा घाममा पनि मजाले घडी चलाउन सकिन्छ । त्यसैगरी यसमा रियलटेक ८७६३ ई (Realtek 8763E) चिपको प्रयोग गरिएको छ । यो चिपसेटले छरितो कनेक्टिभिटी र कम ऊर्जा खपतमा मद्दत गर्छ । कम्पनीले घडीमा र्‍याम १९२ केबी, रोम २५६ केबी र फ्ल्याश मेमोरी १२८ एमबी दिएको छ ।

स्मार्टवाचको युजर इन्टरफेस पनि प्रयोगकर्तामैत्री नै छ । घडीको माथिल्लो भागमा भएका दुई ओटा बटन (रातो र कालो) ले पावर बटनको समेत काम गर्छन् । घडीलाई ‘अन’ गरेर सुरुको रातो बटन घुमाउँदा त्यहिंबाट ‘वाच फेस’ परिवर्तन गर्न सकिन्छ । कम्पनीले यसमा डिफल्ट रूपमा छ ओटा वाच फेस दिएको छ ।

त्यसैगरी अर्को कालो बटन थिच्दा सिधै स्पोर्टस मोडमा पुग्न सकिन्छ । जहाँ रनिङ, हाइकिङ, साइकलिङ, बास्केटबल, योग लगायत १२३ स्पोर्टस मोड छन् । आफूले चाहेको मोडलाई स्क्रिनको सबैभन्दा माथि पारेर त्यस बटनमा डबल क्लिक गरे सिधै उक्त मोड स्टार्ट सकिन्छ । 

स्क्रिनमा दायाँतिर स्वाइप गर्दा हर्टरेट मनिटरिङ, स्टेप काउन्टिङ, स्लिप मनिटरिङ, म्युजिक लगायतका एप देख्न सकिन्छ । यसका साथै त्यहींबाट आफूलाई मन पर्ने कुनै फिचर थप्न सकिन्छ ।  त्यसैगरी बायाँतिर स्वाइप गर्दा मेनु सेक्सन खुल्छ, जहाँ कल लग, भोइस असिस्टेन्ट, मेसेज, अलार्म क्लक, सेटिङ लगायतका एप देखिन्छन् । सेटिङ भित्र भने मेनु स्टाइल, डिस्प्ले, ब्याट्री, ल्याङ्ग्वेज, क्यूआर कोड जस्ता अन्य सेटिङ भेट्न सकिन्छ । 

त्यस्तै स्क्रिनलाई तलतिर सार्दा एउटा छुट्‍टै स्क्रिन खुल्छ, जहाँ समय र बाँकी रहेको ब्याट्री हेर्न सकिन्छ । यसका साथै शर्टकटबाट पनि सेटिङमा पुग्न सकिन्छ । साथै यहींबाट ब्राइटनेश, टर्चलाइट, डु नट डिस्टर्ब, कल अडिओ लगायतका फिचर प्रयोग गर्न सकिन्छ । त्यसैगरी स्क्रिनलाई माथितिर धकेल्दा मेसेजका नोटिफिकेसन हेर्न सकिन्छ ।  घडीमा स्वास्थ्य सम्बन्धी आधारभूत मनिटरिङ फिचर प्रयोग गर्न सकिन्छ ।

घडीमा जी-सेन्सर (G-sensor) प्रविधि पनि छ, जसले स्मार्टवाचको गतिविधि ट्रयाक गर्न, मनिटर डिटेक्ट गर्न, स्क्रिन ओरेन्टेसन मिलाउन सहयोग गर्छ । कनेक्टिभिटीका लागि यसमा ब्लुटुथ भर्सन ५.० दिइएको छ । अर्को आकर्षक कुरा घडीले २० भन्दा बढी भाषा सपोर्ट गर्छ ।

यो स्मार्टवाचलाई एन्ड्रोइड ४.० र आईओएस ९.० भन्दा माथिका अपरेटिङ सिस्टम भएका सबै डिभाइसमा कनेक्ट गरेर प्रयोग गर्न सकिन्छ । त्यसैगरी घडीका सबै फिचर राम्रोसँग उपयोग गर्न फिट क्लाउड प्रो (FitCloudPro) एप डाउनलोड गरेर कनेक्ट गर्न सकिन्छ । उक्त एपसँग स्मार्टवाच कनेक्ट नगरे पनि आधारभूत फिचर सबै उपयोग गर्न पाइन्छ ।

यद्यपि स्मार्टफोनमा कैद भएका डेटालाई अझैं बुझ्न र थप फिचर प्रयोग गर्न उक्त एपले मद्दत गर्छ । एपभित्र ‘होम’, ‘डिभाइस’ र ‘मी’ गरेर तीन खण्ड छन् । ‘होम’ बाट रेकर्ड भएका स्टेप काउन्ट र हेल्थ डिटेल्स हेर्न सकिन्छ । ‘डिभाइस’बाट स्मार्टवाचलाई एपसँग कनेक्ट गर्दाको फाइदा उठाउन सकिन्छ । जस्तै; त्यसमा ३०० बढी वाचफेस पाउन सकिन्छ । 

यसका साथै आफ्नो फोनको फोटो ग्यालरीमा भएको फोटोलाई पनि वाचफेसमा प्रयोग गर्न सकिन्छ । त्यसैगरी ‘एप’बाट फाइन्ड द स्मार्टवाच, टाइम फर्म्याट आदि मिलाउन सकिन्छ । 

समग्रमा बजेट स्मार्टफोनको खोजीमा हुनुहुन्छ भने तपाईंका लागि अलेवाको रेन्जर एउटा राम्रो विकल्प बन्न सक्छ ।

 

पछिल्लो अध्यावधिक: फागुन २८, २०८० १४:२६