close

मे १ देखि भारतमा वनप्लस स्मार्टफोन नबेच्ने व्यवसायीको चेतावनी

टेकपाना टेकपाना

बैशाख ४, २०८१ १२:४२

मे १ देखि भारतमा वनप्लस स्मार्टफोन नबेच्ने व्यवसायीको चेतावनी

काठमाडौं । चिनियाँ स्मार्टफोन निर्माता वनप्लसलाई भारतमा व्यावसायिक चुनौती थपिएको छ । अल इन्डिया मोबाइल रिटेलर्स एसोसियसन (एआईएमआरए)ले देशभरका एक लाख ५० हजार बढी स्टोरबाट फोन बिक्री नगर्ने अडान कसेपछि वनप्लस संकटमा परेको हो ।

त्यस्तै मोबाइल वितरकको अर्को संस्था साउथ इन्डियन अर्गनाइज्ड रिटेलर्स एसोसिएसन (ओआरए)ले पनि आफ्ना ४३०० बढी स्टोरबाट वनप्लसका फोन बिक्री नगर्ने चेतावनी दिएको छ । यही साता वनप्लसका प्रतिनिधिलाई आधिकारिक पत्र पठाउँदै मोबाइल वितरकहरूले यस्तो चेतावनी दिएका हुन् । 

भारतीय सञ्चार माध्यमका अनुसार रिटेलर्स सङ्गठनहरूले फोनको वारेन्टी ख्याल नगरेको, कम्पनीले गरेका दाबी राम्रोसँग नमिलेको, मार्जिन कम राखेको, भारतीय रिटेलरसँग राम्रो सम्बन्ध नबनाएको, बजार अध्ययन नगरेको, गैरकानूनी च्यानलबाट फोन बिक्री गरेको  जस्ता आरोप वनप्लसमाथि लागेको छ ।

यी मुद्दाको समाधान नभए १ मेदेखि भौतिक रूपमा वनप्लस फोन स्टोरहरूबाट बिक्री नगर्ने व्यवसायीहरूको चेतावनी छ ।यसको अर्थ भारतीय बजारका अफलाइन पसलमा वनप्लस फोनमाथि प्रतिबन्ध लाग्ने सम्भावना उच्च छ ।

एन्ड्रोइड अथोरिटीलाई प्राप्त एआईएमआरएको पत्रमा वनप्लसले फोनमा देखिएका समस्या समाधान नगरेकाले व्यवसायीहरूले यस्तो अडान कसेको उल्लेख छ ।

पछिल्लो अध्यावधिक: बैशाख ४, २०८१ १४:२४