close

पडकास्ट सहित युट्युबमा आउँदै कान्तिपुर दैनिकका पूर्व प्रधान सम्पादक सुधीर शर्मा*

टेकपाना टेकपाना

चैत २९, २०८० १६:२५

पडकास्ट सहित युट्युबमा आउँदै कान्तिपुर दैनिकका पूर्व प्रधान सम्पादक सुधीर शर्मा*

काठमाडौं । कान्तिपुर दैनिकका पूर्व प्रधान सम्पादक सुधीर शर्मा युट्युबर बनेका छन् । लामो समयसम्म छापा पत्रकारितामा क्रियाशील शर्माले युट्युबमा आजदेखि ‘अनि, अब’ नामको अन्तर्वार्ता तथा​ पडकास्ट शैलीको कार्यक्रम ल्याउन लागेका हुन् । जसमा पहिलो एपिसोडको अतिथिका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डा. स्वर्णिम वाग्ले देखिनेछन् ।

प्रविधि र पाठक दुवैमा अन्तर आइरहेको सन्दर्भमा नयाँ माध्यममार्फत आफू प्रस्तुत हुन लागेको शर्माले बताएका छन् । एक भिडिआमा उनले भनेका छन्, ‘‘अहिले भिजुअल र अडियो माध्यम जसरी प्रभावकारी भएर आएको छ, त्यसमा जान खोजेको हो ।’’

उनले आफ्नो कार्यक्रममा ‘फ्रेस आइडिया’ भएका तथा विभिन्न क्षेत्रमा राम्रो काम गरिरहेका व्यक्तिसँग संवाद गर्ने उल्लेख गरेका छन् । यसअन्तर्गत अतिथिसँग विचार र दृष्टिकोणमा डुबुल्की मार्नेगरी ‘लङ फर्म’ संवाद र केही विषयवस्तुमा भिजुअल प्रिजेन्टेसन राख्ने उनको योजना छ ।

‘‘हामीले हिजो विषयवस्तुलाई प्रभावकारी रूपले पाठकसम्म पुर्‍याइन्थ्यो । अब पनि पुग्छ । तर पाठकभन्दा दर्शकसँग यो मिडियामार्फत पुग्न खोजेको हो,’’ उनले भनेका छन् ।

पछिल्लो समय अनलाइन पडकास्टको अभ्यास बढ्दो छ । छापा तथा विद्युतीय माध्यममा क्रियाशील पत्रकारहरू समेत न्यू मिडियामा आउने प्रवृत्ति बढेको छ ।

यसअघि लामो समयसम्म टेलिभिजन पत्रकारितामा रहेका विजयकुमार पाण्डे र टीकाराम यात्री अहिले पूर्ण रूपमा युट्युब कार्यक्रममा केन्द्रित छन् ।

(*समाचारको शीर्षक सच्याइएको छ । -सं.)

पछिल्लो अध्यावधिक: चैत ३०, २०८० १५:८