close

यस्तो छ २४ हजार मूल्य पर्ने ‘अनर एक्स सेभेन बी’ स्मार्टफोन

उष्मा अधिकारी

बैशाख २, २०८१ १४:५८

यस्तो छ २४ हजार मूल्य पर्ने ‘अनर एक्स सेभेन बी’ स्मार्टफोन

काठमाडौं । ६००० एमएएच क्षमताको ब्याट्री, १०८ मेगापिक्सेलको मुख्य क्यामेरा, आकर्षक डिजाइन सहितको अनरको नयाँ फोन हो, अनर एक्स सेभेन बी (Honor X7b) । बजेट फोनको खोजीमा रहेका जोकोहीको लागि उपयुक्त यो फोनको मूल्य नेपाली बजारमा २३ हजार ९९९ रुपैयाँ छ । फोनमा अरु के कस्ता विशेषता र फिचर छन्, आज हामी यस सामग्रीमा चर्चा गर्दै छौं:

फोन हातमा पर्ने बित्तिकै तपाईंको आँखा क्यामेरा बम्पमा जान्छ । प्राय: अनरले आफ्नो फोनमा रियर क्यामेरा (पछाडि)को स्थानलाई फेरिरहेको हुन्छ । अनर एक्स ९ बी, अनर एक्स ८ बीको तुलनामा यसमा ठूलो देखिने क्यामेरा बम्पमा तीन ओटा क्यामेरा सेटअप र एउटा फ्ल्याश पाउन सकिन्छ । 

‘फ्लोइङ सिल्भर’ रङमा रहेको यो फोनको पछाडिको भाग हार्ड प्लास्टिकबाट बनाइएको छ । यो चिल्लो छ । तर हातबाटै चिप्लिहाल्ने समस्या भने छैन । अर्थात् फोन चलाउँदा हातमा राम्रै महसुस हुन्छ ।

फोनको दायाँ भागमा भोलुम कन्ट्रोलर बटन र फिङ्गरप्रिन्ट सेन्सर सहितको पावर बटन दिइएको छ । त्यसैगरी बायाँ भागमा सिम कार्ड ट्रे छ । जसमा डुअल नानाे सिमको लागि ठाउँ पाउनुहुन्छ भने एसडी कार्डका लागि कुनै विकल्प छैन । 

फोनको तल्लो भागमा ‍३.४ एमएम ज्याक पोर्ट, एउटा स्पिकर र टाइप-सी चार्जिङ पोर्ट पाउन सकिन्छ । फोनको अगाडि पन्च होल डिस्प्ले छ, जहाँ सेल्फी क्यामेरा रहेको छ । 

कम्पनीले फोनमा ९० हर्ज रिफ्रेस रेट सहितको ६.८ इन्चको आईपीएस एलसीडी डिस्प्ले छ । ब्राइटनेस भने ८५० निट्ससम्म मात्र दिइएको छ । जुन तुलनात्मक रूपमा कम हो । तर पनि चर्को घाममा स्क्रिन हेर्दा कुनै समस्या हुँदैन । फोनको किनारतिर घुमाउरो भाग अलि बढी छन् । यति हुँदा पनि भिडिओ हेर्दा भने कुनै समस्या आउँदैन ।

क्यामेराको कुरा गर्दा कम्पनीले १०८ मेगापिक्सेलको मुख्य, ५ मेगापिक्सेलको अल्ट्रा वाइड र २ मेगापिक्सेलको म्याक्रो लेन्स दिइएको छ । क्यामेरामा एपर्चर, नाइट, पोट्रेट, डुअल भ्यू, टाइम ल्याप्स, पानाराेमा, स्लोमो, स्टोरी लगायतका अन्य मोड पाउन सकिन्छ । 

फोनको सेल्फी क्यामेराबाट खिचिएका फोटो चित्तबुझ्दो नै आउँछ । रातको समयमा खिचिएका फोटोको गुणस्तर भने अलि कम भएको महसुस हुन्छ । भिडिओको सन्दर्भमा ३० एफपीएसमा १०८० पिक्सेलको भिडिओ खिच्न सकिन्छ । त्यस्तै स्टेबलाइजेसनको फिचर नभएकाले यसबाट खिचिएका भिडिओ हल्लिएको महसुस हुन्छ ।

यो फोन एन्ड्रोइड १३ मा आधारित छ भने म्याजिक ओएस ७.२ बाट सञ्चालित छ । फोनको युजर इन्टरफेस प्रयोगकर्तामैत्री नै छ । यसमा क्वालकम स्नापड्रागन ६८० फोरजी ६ नानाे मिटरको चिपसेट प्रयोग भएको छ । यो चिपसेटबाट फोनमा गरिने सामान्य काम गर्न तथा गेम खेल्न सकिन्छ । अलि बढी मेमोरी आवश्यक पर्ने काम भने यो फोनमा नगर्दा नै राम्रो हुन्छ ।

कम्पनीका अनुसार यसमा भएको ६००० एमएएच क्षमताको ब्याट्री तीन दिनसम्म टिक्छ । सामान्य प्रयोगमा यो फोनको ब्याट्री दुई दिनसम्म मजाले टिक्न सक्छ । त्यस्तै फोनलाई चार्ज गर्न ३५ वाटको सुपर चार्जर उपलब्ध गराइएको छ । यसबाट फुल चार्ज गर्न लगभग साढे एक घण्टा लाग्छ ।

त्यसैगरी फोनको अर्को आकर्षक फिचर स्टोरेज हो । बजेट फोन भएपनि यसमा ८ जीबी एलपीडीडीआरएक्स र्‍याम (LPDDRX RAM ) छ । यसलाई  बढाएर १६ जीबीसम्म पुर्‍याउन सकिन्छ । फोनमा भने यूएफएस २.२ जीबी इन्टर्नल स्टोरेज दिइएको छ । फोनको मूल्य अनुसार यो स्टोरेजलाई फोनको अब्बल पक्षका रूपमा लिन सकिन्छ । नेपालमा यही स्टोरेज भेरियन्टको मात्र फोन उपलब्ध छ । 

त्यस्तै अन्य फिचरहरूको कुरा गर्दा फोनको डुअल स्टेरियाे स्पिकर पनि राम्राे पक्ष हाे । सामान्यतः यो रेञ्जको फोनमा हामीले मोनो स्पिकर पाइरहेका हुन्छौं । फोनको यस फिचरले गीत सुन्दा वा भिडिओ हेर्दा अझ राम्रो अनुभव दिन्छ ।

फोनमा एज प्यानल पनि पाउन सकिन्छ । यसले मल्टी विन्डो, स्प्लिट स्क्रिन सपोर्ट गर्छ । यी बाहेक कस्टमाइजेसनका अन्य विकल्प छैनन् । कनेक्टिभिटीका लागि फोनमा ब्लुटुथ भर्सन ५ पाउन सकिन्छ । फोनले डुअल ब्यान्ड वाई-फाई सपोर्ट पनि गर्छ । 

सुरक्षाका लागि फोनमा फिङ्गर प्रिन्ट सेन्सर, फेस आईडी, पासवर्ड, पिन आदि पाउन सकिन्छ । समग्रमा फोनबारे भन्नु पर्दा मूल्य अनुसार ठीकै फिचर दिइएका छन् । ठीकैको क्यामेरा गुणस्तर भएको बजेट फोन किन्ने योजनामा हुनुहुन्छ भने अनर एक्स सेभेन बी राम्रो विकल्प हुन सक्छ ।

पछिल्लो अध्यावधिक: बैशाख २, २०८१ १५:२०