काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले पहिलो पटक सफ्टवेयर प्रयोग गरी कक्षा १२ का परीक्षा केन्द्र छनोट गरेको छ । आगामी १४ देखि २६ वैशाखसम्म हुने परीक्षाका लागि सफ्टवेयर प्रयोग गरी स्वचालित विधिबाट केन्द्रहरू तोकिएको हो ।
मन्त्रालयले पहिलो चरणमा काठमाडौंमा यो विधि लागू गरेको हो । यसका लागि मन्त्रालय र राष्ट्रिय परीक्षा बोर्डको प्राविधिक टोलीले ‘पाइलट प्रोजेक्ट’को रूपमा सफ्टवेयरबाट काठमाडौं जिल्लामा कक्षा १२ का परीक्षा केन्द्र निर्धारण गरेकाे थियाे ।
यसका लागि प्राविधिक टोलीले हरेक विद्यालयका परीक्षार्थीको सङ्ख्या र परीक्षा केन्द्रको सिट सङ्ख्याको आधारमा विद्यालय र केन्द्रको ल्याटिच्युड, लङ्गिच्युडको आधारमा दूरी निकालेको थियो । प्रत्येक पटक परीक्षा केन्द्र तोक्न प्रोग्राम चलाउँदा फरक-फरक नतिजा आउने गरी ‘ऱ्यान्डोमाइज’ गरिएको थियो ।
त्यस्तै सकभर १०० वा २०० भन्दा बढी परीक्षार्थी एकै केन्द्रमा नपर्ने गरी बाँड्ने तथा आफ्नै विद्यालयमा केन्द्र नपार्ने मापदण्ड राखिएको थियो । साथै उक्त सफ्टवेयरको प्रक्रिया अझै सबल र पूर्ण स्वचालित बनाउन ‘गिटहब’मा राखिएको छ । अब आगामी दिनमा यही सफ्टवेयरका आधारमा परीक्षा केन्द्र राख्ने बुझिएको छ ।
शिक्षामन्त्री सुमना श्रेष्ठले सामाजिक सञ्जाल एक्समा एक पोस्ट राख्दै यस कार्यबाट परीक्षा केन्द्रसँग सम्बन्धित अनियमितताहरू निरुत्साहित हुने र विद्यार्थीहरूको हैरानी पनि कम हुने बताएकी छिन् ।
अब परीक्षा केन्द्रहरू स्वचालित विधिबाट तोकिनेः
पहिलो चरणमा काठमाडौंमा कक्षा १२ को परीक्षामा लागु
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र राष्ट्रिय परीक्षा बोर्डको प्राविधिक टोलीले ‘पाइलट प्रोजेक्ट’को रूपमा सफ्टवेयरबाट काठमाडौँ जिल्लाका कक्षा १२ का परीक्षा केन्द्र स्वचालित…