close

अनलाइन फारम प्रणालीमा समस्या आएपछि त्रिवि स्नातक दोस्रो वर्षको परीक्षा सर्‍यो

टेकपाना टेकपाना

चैत २२, २०८० ११:२२

अनलाइन फारम प्रणालीमा समस्या आएपछि त्रिवि स्नातक दोस्रो वर्षको परीक्षा सर्‍यो

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्नातक तह (चार वर्षे)को दोस्रो वर्षको वार्षिक परीक्षाको मिति परिवर्तन गरेको छ। परीक्षा समितिको मङ्गलबारको बैठकले यसअघि २८ चैतदेखि सञ्चालन हुने भनिएको परीक्षा १५ दिनपछि सारेको हो ।

परीक्षा नियन्त्रण कार्यालय, बल्खुले जारी गरेको नयाँ सूचना अनुसार शिक्षाशास्त्र, मानविकी, व्यवस्थापन र विज्ञान तथा प्रविधि अध्ययन संस्थान तर्फका नियमित परीक्षाको मिति सरेको छ । यसरी परीक्षा समयमा हुन नसक्नुको कारण प्राविधिक समस्या भएको निमित्त रजिष्ट्रार डा. कृष्णप्रसाद बस्यालले बताए ।

उनका अनुसार यस वर्ष पहिलो पटक अनलाइनमार्फत परीक्षा फारम भर्ने व्यवस्था गरिएको छ । तर उक्त प्रणालीबाट फारम भर्ने कार्य नयाँ भएकाले समस्या आएपछि परीक्षाको मिति परिवर्तन गर्नुपरेको उनको तर्क छ ।

“यस वर्ष पहिलो पटक अनलाइनबाट परीक्षा फारम भर्ने व्यवस्था गरिएको थियो । तर केही कलेज र विद्यार्थीहरूलाई समस्या भएपछि समयमा उक्त कार्य गर्न सकिएन,” टेकपानासँग कुरा गर्दै उनले भने, “कुल एक लाख सात हजार विद्यार्थी रहेकामा मंगलबारसम्म करिब ६३ हजारले मात्रै परीक्षा फारम संकलन भएकाे छ । उता फाराम भर्न गाह्रो भएको भनेर गुनासो पनि आइरहेको थियो । त्यही भएर विद्यार्थी सहजताका लागि परीक्षा सारिएको हो ।”

यसो हुनुमा कसैको दोष नभई प्रणालीमा अभ्यस्त हुन नसकेको उनको भनाइ छ । अब १६ वैशाखदेखि दोस्रो वर्षको नियमित वार्षिक परीक्षा हुनेछ ।

पछिल्लो अध्यावधिक: चैत २२, २०८० ११:४०