close

खल्ती प्रयोगकर्तालाई ७६० रुपैयाँमै ५ लाख ३० हजार रुपैयाँको बीमा

टेकपाना टेकपाना

बैशाख ७, २०८१ १६:९

खल्ती प्रयोगकर्तालाई ७६० रुपैयाँमै ५ लाख ३० हजार रुपैयाँको बीमा

काठमाडौं । डिजिटल वालेट खल्तीले ‘खल्ती सुरक्षा प्लस’ नामक स्वास्थ्य सेवा प्याकेज ल्याएको छ । मेट लाइफ इन्स्योरेन्स र हिमालयन एभरेष्ट इन्स्योरेन्ससँगको सहकार्यमा खल्तीले यस्तो बीमा सुविधा ल्याएको हो ।

७६० रुपैयाँबाट सुरु हुने यस प्याकेजमा प्रयोगकर्ताले पाँच लाख ३० हजार रुपैयाँसम्मको स्वास्थ्य, दुर्घटना र जीवन बीमा साथै एक लाख ५० हजार रुपैयाँ बराबरको विभिन्न हेल्थ केयर प्याकेज प्राप्त गर्न सक्नेछन् ।

कम्पनीका अनुसार १८ वर्ष देखि ६० वर्षसम्मका प्रयोगकर्ताले ‘खल्ती सुरक्षा प्लस’को सब्सक्रिप्सन लिन सक्नेछन् । सब्स्क्रिप्सन लिएका प्रयोगकर्ताले जीवन बीमा स्वरूप दुई लाख ५० हजार रुपैयाँ, गम्भीर बिरामीको उपचार खर्च स्वरूप ५० हजार रूपैयाँ र अस्पताल भर्ना, दुर्घटना तथा अन्त्येष्टि खर्च स्वरूप दुई लाख ३० हजार रूपैयाँसम्म दाबी गरी कूल पाँच लाख ३० हजार रूपैयाँसम्मको स्वास्थ्य सुरक्षा प्राप्त गर्न सक्नेछन् ।

त्यस्तै ‘खल्ती सुरक्षा प्लस’ अन्तर्गत नै एक लाख ५० हजार रुपैयाँ बढीको आँखा, कपाल र छाला सम्बन्धित स्वास्थ्य सेवाहरूको लाभ उठाउन सकिने कम्पनीले जनाएको छ ।

खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले बीमा सुविधा लिनलाई झेल्नुपर्ने आर्थिक भारको चुनौतीका कारण धेरै प्रयोगकर्ता आफ्नो स्वस्थ सुरक्षाबाट वञ्चित रहेको अवस्थामा मेट लाइफ इन्स्योरेन्स र हिमालयन एभरेष्ट इन्स्योरेन्ससँगको सहकार्यमा यस्तो स्वास्थ्य सुविधा प्याकेज उपलब्ध गराएको बताए ।

यसअघि खल्तीले ‘खल्ती सुरक्षा’ नामक स्वास्थ्य सेवाको सब्सक्रिप्सन समेत उपलब्ध गराउँदै आइरहेको थियो । वार्षिक ३६० रुपैयाँमा उपलब्ध यस प्याकेजमा दुई लाख ३० हजार रुपैयाँसम्मको स्वास्थ्य र दुर्घटना घटना बीमा साथै एक लाख ५० हजार रुपैयाँको विभिन्न हेल्थ केयर सुविधा छ । 

पछिल्लो अध्यावधिक: बैशाख ७, २०८१ १६:९