close

हाइड्रोजन उत्पादनमा निजी क्षेत्रसँग सहकार्य गर्दै केयू, खेर जाने बिजुली उपयोग गर्ने लक्ष्य

टेकपाना टेकपाना

बैशाख ९, २०८१ १३:२६

हाइड्रोजन उत्पादनमा निजी क्षेत्रसँग सहकार्य गर्दै केयू, खेर जाने बिजुली उपयोग गर्ने लक्ष्य

काठमाडौं । हाइड्रोजन उत्पादनका लागि काठमाडौं विश्वविद्यालय अन्तर्गतको ग्रीन हाइड्रोजन ल्याब र बुद्धभूमि नेपाल हाइड्रो कम्पनीबीच सम्झौता भएको छ । बर्खामा खेर जाने बिजुलीलाई हाइड्रोजन उत्पादनमा प्रयोग गर्नेगरी दुई संस्थाबीच तीन बुँदे सम्झौता भएको हो ।

यस अन्तर्गत विश्वविद्यालयले तीन महिना लगाएर सम्भाव्यता अध्ययन गर्नेछ । त्यसपछि अध्ययन प्रतिवेदनका आधारमा हाइड्रोजन उत्पादन सुरु गरिने छ ।

हाल बुद्धभूमि हाइड्रोपावर कम्पनीले नुवाकोटको दुप्चेश्वर गाउँपालिकामा पाँच मेगावाट क्षमताको तल्लो ताँदी जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ । सोही परियोजनाबाट उत्पादन हुने बिजुलीलाई हाइड्रोजन उत्पादनमा प्रयोग गरिने भएको हो ।

यससँगै बुद्धभूमि नेपाल हाइड्रो कम्पनी निजी क्षेत्रबाट हाइड्रोजन उत्पादनमा जोडिने पहिलो कम्पनी बनेको छ । अहिले नेपालसँग भण्डारण क्षमता नहुँदा बर्खामा उत्पादन भएको बिजुली ठूलो मात्रामा खेर जाने गर्छ । त्यसको ठीक उल्टो हिउँदमा भने जलविद्युत परियोजनाको उत्पादन क्षमता कम हुने गर्छ ।

नतिजा स्वरूप नेपालले भारतबाट बिजुली आयात गर्नुपर्ने अवस्था समेत छ । यही कुराको अन्त्य गर्न यो परियोजना निकै महत्त्वपूर्ण हुने ग्रिन हाइड्रोजन ल्याबका प्रमुख तथा उपप्राध्यापक डा. विराज सिंह थापाले बताए ।

“नेपालमा बर्खाको समयमा बिजुली अधिक उत्पादन हुँदा एक रुपैयाँ प्रति युनिटमा पनि बिक्री गर्न नसकिने अवस्था छ । तर हिउँदमा भने फेरि १० रुपैयाँ प्रति युनिट तिरेर आयात गरिन्छ,” डा. थापाले भने, “त्यही एक रुपैयाँमा बिक्री गर्न नसकिएको बिजुलीलाई हाइड्रोजन उत्पादन गरेर १० रुपैयाँमा बिक्री गर्नसक्ने बनाउन सकिन्छ ।”

उनका अनुसार त्यसरी उत्पादन हुने हाइड्रोजनलाई ग्यास, एमोनिया वा अन्य सुरक्षित माध्यममा भण्डारण गरिने छ । जसलाई हिउँदमा पुन: बिजुली निकाल्न प्रयोग गर्न सकिने छ । यसअघि नै विश्वविद्यालयले हाइड्रोजन उत्पादनको सफल परीक्षण गरिसकेको छ । अब भने व्यावसायिक उत्पादनमा विश्वविद्यालयले अघि बढेको हो ।

यदि यो योजना पनि सफल भए जलविद्युत परियोजनाका लागि हाइड्रोजन भर्चुअल ड्याम अथवा रिजर्भरका रूपमा स्थापित हुने उनको भनाइ छ ।

“मलाई लाग्छ, दुई-तीन महिनाभित्र यसको सकारात्मक नतिजा निस्कन्छ । यसले बर्खामा बिजुली नबिक्दा र हिउँदमा बिजुली नपुग्दा नेपालले हात जोड्नु पर्ने अवस्थाको अन्त्य गर्छ । अनि ऊर्जा भण्डारणका रूपमा हाइड्रोजन प्रयोग हुने छ,” उनले भने ।

पछिल्लो अध्यावधिक: बैशाख ९, २०८१ १३:५१