काठमाडौं । नेपाल इन्जिनियरिङ परिषद्ले लिने साधारण दर्तावाला इन्जिनियरको नाम दर्ता सम्बन्धी परीक्षाको लागि खुलेको आवेदनको म्याद थप हुने भएको छ । प्राविधिक समस्या आएकाे भन्दै परिषद्ले आवेदनको म्याद थप्ने भएको हो ।
आवेदन ४ जेठ २०८१ बाट सुरु भएको थियो भने साधारण दस्तुरमा २४ जेठसम्म आवेदन दिन पाउने भनिएको थियो । सेवाग्राहीका अनुसार अनलाइन आवेदन दिंदा यसअघि साइनअप बटन नै गायब भएको थियो भने आज अन्तिम दिनमा ईमेलमा भेरिफिकेसन कोड नजाने समस्या आएको छ ।
परिषद्का रजिष्टार ई. शिव मङ्गल गिरीले प्राविधिक समस्याका कारण फाराम भर्न नपाएका विद्यार्थीका लागि म्याद थप हुने बताए । “प्राविधिक समस्याका कारण केहीले फाराम भर्न पाएका छैनन्,” टेकपानासँग उनले भने, “त्यसको सम्बोधन गर्न परिषद्ले म्याद थप्नेछ । यसकारण फाराम भर्न नपाउने भन्ने हाेइन । सूचना सकभर आजै आउँछ ।”
नेपाल इन्जिनियरिङ परिषद् ऐन, २०५५ (पहिलो संशोधन ऐन, २०७९) को व्यवस्था बमोजिम परिषद्ले आवेदन माग गरेको थियो । सूचनामा अन्तिम दिन आवेदन नदिए २५-३१ जेठभित्र दोब्बर दस्तुर तिरेर फारम भर्नुपर्ने उल्लेख छ । समस्या आएपछि मात्र सामान्य दस्तुर तिरेर कहिलेसम्म आवेदन दिन पाउने र दोब्बर दस्तुर तिरेर कहिलेसम्म पाउने भन्ने स्पष्ट जानकारी बाहिर आउने गिरीले बताए ।
अपडेट: परिषद्ले आवेदन दिने म्याद थप गरेको छ । अब सेवाग्राहीले ३२ जेठसम्म नियमित र दोब्बर दस्तुरमा ७ असारसम्म फाराम भर्न सक्ने छन् । थप बुझ्न यहाँ क्लिक गर्नुहोस् ।