काठमाडौं । भुक्तानी सेवाप्रदायक ईसेवाले व्यावसायिक कारोबार बापतको रकम व्यक्तिगत खातामा जम्मा गर्न नगर्न आफ्ना ग्राहकलाई अपिल गरेको छ । आर्थिक विधेयक २०८१ बाट आयकर ऐन २०७८ को दफा ८१ क अन्तर्गत व्यावसायिक कारोबार बापतको रकम व्यक्तिगत खातामा जम्मा गर्न नपाइने व्यवस्था गरिएकाले ईसेवाले यस्तो नियम पालना गर्न सबै ग्राहकलाई अनुरोध गरेको हो ।
आन्तरिक राजस्व विभागका अनुसार अब कुनै पनि व्यक्तिले व्यावसायिक कारोबार बापत प्राप्त नगद, चेक, क्यूआर कोड तथा अन्य विद्युतीय माध्यमबाट प्राप्त हुने रकम व्यक्तिगत बैंक खातामा जम्मा गर्न पाइने छैन ।
यसै सन्दर्भमा व्यावसायिक कारोबार व्यावसायिक क्यूआर मार्फत गर्न प्रोत्साहन गर्ने उद्देश्यसहित ईसेवाले आजदेखि ‘सेन्ड मनी’ (Send Money) सेवा प्रयोग गर्दा शुल्क लाग्ने व्यवस्था गरेको छ । यसअनुसार कारोबार दिनमा तीन पटक गरी महिनामा ३० पटकसम्म नि:शुल्क रहनेछ ।
साथै रु. १०० मुनिका सबै ‘सेन्ड मनी’ कारोबार निःशुल्क रहनेछन् । यो बाहेकका सबै ‘सेन्ड मनी’ कारोबारमा प्रति कारोबार रु.१० सेवा शुल्क लागु हुने कम्पनीले जनाएको छ ।
ईसेवाले व्यापार व्यवसायमा भुक्तानी कारोबारलाई सहजीकरण गर्न मर्चेन्ट बनेर भुक्तानी रकमको निम्ति व्यावसायिक खाताको प्रयोग गर्न सुझाव दिएको छ । कम्पनीका अनुसार मर्चेन्ट खातामा क्यूआर तथा अन्य कुनै माध्यमबाट रकम भुक्तानी गर्दा कुनै पनि प्रकारको शुल्क लाग्दैन ।