close

उबरको नाममा ‘नक्कली एआई कल सेन्टर’ खोलेर नेपालीहरूको संवेदनशील जानकारी चोर्दै स्क्यामर

टेकपाना टेकपाना

जेठ २, २०८३ ८:५१

उबरको नाममा ‘नक्कली एआई कल सेन्टर’ खोलेर नेपालीहरूको संवेदनशील जानकारी चोर्दै स्क्यामर

काठमाडौँ । अमेरिकी राइड हेलिङ प्लेटफर्म उबर नेपाल आउने चर्चासँगै सामाजिक सञ्जाल र इन्टरनेटमा नक्कली वेबसाइट तथा फेसबुक पेजको सक्रियता बढेको छ । यस्ता माध्यममार्फत चालकको सवारी चालक अनुमतिपत्र र ब्लुबुकजस्ता संवेदनशील जानकारी चोरी गर्ने प्रयास भइरहेको पाइएको हो ।

उबर नेपाल आउने चर्चालाई लक्षित गर्दै ‘ubernepal.co’ नामको डोमेन ७ अप्रिल २०२६ मा दर्ता गरिएको छ । ‘उबर ड्राइभ नेपाल’ को नाममा सञ्चालित यो वेबसाइटले आफूलाई उबरको आधिकारिक पार्टनर र ड्राइभर एक्टिभेसन सेन्टरका रूपमा दाबी गरेको छ । 

यद्यपि, वेबसाइटमा प्रयोग गरिएका लोगो एआईमार्फत तयार पारिएका छन् भने यसको निर्माणमा भाइब कोडको प्रयोग गरिएको छ । हाल यस वेबसाइटमा उबरले ‘टेक्नोलजी टेस्टिङ’ गरिरहेको भनिएको छ । 

वेबसाइटमा चालकलाई विवरण पठाउन भन्दै ९७००००४४०८ नम्बरको ह्वाट्सएप दिइएको छ । उक्त नम्बरमा सम्पर्क गर्दा एआईमार्फत जवाफ दिने संयन्त्र तयार पारिएको छ । परीक्षणका क्रममा यो टुल जेमिनाईसँग लिङ्क गरिएको र सोहीमार्फत प्रयोगकर्ताका प्रश्नको जवाफ दिने गरेको पाइएको छ । यस्ता बहुराष्ट्रिय कम्पनीले चालकको विवरण सङ्कलन गर्न ह्वाट्सएप वा व्यक्तिगत नम्बर प्रयोग गर्दैनन्; उनीहरूको आफ्नै आधिकारिक प्लेटफर्म हुन्छ । साथै, उक्त वेबसाइटमा राखिएका सामाजिक सञ्जालका अप्सनमा कुनै पनि लिङ्क जोडिएको छैन ।

यसबारे थप खोज्न हामीले यहाँ उपलब्ध नम्बरका आधारमा ‘उबर ड्राइभर रजिस्ट्रेसन’ (Uber Driver Registration) नामको फेसबुक पेज सञ्चालनमा रहेको पायौं । ६ मे २०२६ मा पहिलो पटक उक्त पेजमा पोस्ट राखिएको थियो । उक्त पेजमा सम्पर्कका लागि ‘[email protected]’ जिमेल पनि राखेको पायौं । एक त वेबसाइट नै शंकास्पद छ त्यसमाथि सम्पर्कका लागि जिमेल अकाउन्ट उपलब्ध गराउनुले यो वेबसाइट र त्यससँग जोडिएको यो फेसबुक पेज पनि नक्कली हो भन्ने पुष्टि हुन्छ ।

यसैगरी ‘Nepal Uber Onboarding Hub’ नामको फेसबुक पेजले पनि आफूलाई उबरको नेपाली पार्टनर बताउँदै ११ मेदेखि बुस्ट गरिएको विज्ञापनमार्फत चालकलाई आकर्षित गरिरहेको छ । उक्त पेजले आफ्नो कार्यालय काठमाडौँको खुसिबुमा रहेको दाबी गरेको छ । सो पेजले उपलब्ध गराएको नम्बरमा सम्पर्क गर्दा ‘इको इनकर्पोरेसन ग्रुप प्रालि’ को नाम लिँदै १ जुलाईदेखि नेपालमा उबरको सेवा सुरु हुने दाबी गरियो । हामीले उबरको आधिकारिक वेबसाइटमा नभई किन तेस्रो पक्षलाई यो जिम्मेवारी दिइयो भन्ने प्रश्न गर्दा चित्तबुझ्दो जवाफ पाइएन । यस फेसबुक पेजमा पनि [email protected] एड्रेसको ईमेल राखेको पायौं । 

उबरले हालसम्म कुनै पनि देशमा सेवा सुरु गर्न यस प्रकारको छुट्टै वेबसाइट बनाएको छैन । आधिकारिक सेवाका लागि कम्पनीले आफ्नै डोमेन प्रयोग गर्छ । त्यस्तै हालसम्म उबरले नेपालमा औपचारिक रूपमा सेवा सञ्चालन गरेको छैन । सवारी चालकले उबरको आधिकारिक एपमा मात्र आफ्नो कागजात पेस गर्नुपर्ने हुन्छ । कम्पनीले हालसम्म नेपालमा कुनै तेस्रो पक्षलाई आधिकारिक पार्टनर बनाएको भनी कुनै जानकारी सार्वजनिक गरेको छैन । यस्तोमा केही नक्कली फेसबुक पेज र वेबसाइटले आफूलाई उबरको पार्टनर दाबी गर्दै संवेदनशील जानकारी चोर्ने प्रयास गरिरहेका छन् । 

पछिल्लो अध्यावधिक: जेठ २, २०८३ ८:५१