close

एलन मस्कको ईमेलमा जवाफ नदिएपछि जागिरबाट निकालिएका कर्मचारीलाई ८ करोड क्षतिपूर्ति दिन आदेश

टेकपाना टेकपाना

भदौ २, २०८१ १०:०

एलन मस्कको ईमेलमा जवाफ नदिएपछि जागिरबाट निकालिएका कर्मचारीलाई ८ करोड क्षतिपूर्ति दिन आदेश

काठमाडौं । एलन मस्कको ईमेलमा जवाफ नदिएको आरोपमा निकालिएका एक कर्मचारीलाई एक्सले साढे पाँच लाख युरो (आठ करोड रुपैयाँ बढी) क्षतिपूर्ति तिर्नुपर्ने भएको छ । आयरल्याण्डको वर्कप्लेस रिलेसन कमिसनले ट्वीटरका तत्कालीन कर्मचारी ग्यारी रूनीलाई अन्यायपूर्ण रूपमा बर्खास्त गरिएको ठहर गर्दै यस्तो आदेश दिएको हो ।

रिपोर्टअनुसार रूनीले सेप्टेम्बर २०१३ देखि ट्वीटरको आयरल्याण्ड शाखामा काम गर्दै आएका थिए । डिसेम्बर २०२२ मा एलन मस्कको ट्वीटर अधिग्रहणपछि उनलाई बर्खास्त गरिएको थियो ।

मस्कले अधिग्रहणपछि कर्मचारीहरूलाई लामो समयसम्म काम गर्न प्रतिबद्ध हुन वा 'तीन महिनाको सेभरेन्स' पाउन ईमेल मार्फत एक दिनको समय दिएका थिए । ईमेलमा मस्कले नयाँ ट्वीटरको हिस्सा बन्न चाहने कर्मचारीहरूलाई एउटा लिंकमा क्लिक गर्न आग्रह गरेका थिए, नत्र तीन महिनाको सेभरेन्स पाउने उल्लेख गरेका थिए ।

ट्वीटरको आयरल्याण्ड शाखामा वरिष्ठ कार्यकारी भएर काम गरेका रूनीले मस्कको अल्टिमेटम अस्वीकार गरेपछि एक्सले उनलाई हटाएको थियो । यसपछि न्यायको खोजीमा मुद्दा लड्न पुगेका रूनीको पक्षमा गत मंगलबार फैसला आएको हो ।

ईमेलको जवाफ दिन २४ घण्टा समय दिनु कुनै पनि कर्मचारीलाई उचित निर्णय लिनको लागि पर्याप्त समय नहुने आयोगको तर्क छ । यो आयोगले अहिलेसम्म दिएको सबैभन्दा ठूलो क्षतिपूर्ति रकम हो ।

एलन मस्कले अक्टोबर २०२२ मा ४४ अर्ब डलरमा ट्वीटर अधिग्रहण गरेका थिए, जसपश्चात् आधाभन्दा बढी कर्मचारीहरूलाई हटाइएको थियो ।

पछिल्लो अध्यावधिक: भदौ २, २०८१ १०:३२