काठमाडौं । प्रविधि उद्योगमा कर्मचारी कटौतीको लहर सन् २०२४ मा पनि रोकिएको छैन । २०२२ र २०२३ मा धेरै प्रविधि कम्पनीहरूले कर्मचारी कटौती गरेका थिए । यो वर्ष पनि ठूला तथा साना कम्पनीहरूले कर्मचारीहरू निकाल्ने क्रम जारी छ । लेअफ्स डट एफवाईआई (layoffs.fyi) का अनुसार २०२४ को अगस्ट महिनासम्म ४२२ प्रविधि कम्पनीहरूले एक लाख ३६ हजार ७८२ कर्मचारीलाई कामबाट निकालिसकेका छन् ।
कोभिड महामारीको समयमा सञ्चालनमा आएको यस वेबसाइटले विश्वभरि हुने प्रविधि क्षेत्रका कर्मचारी कटौतीहरूको रेकर्ड राख्दै आएको छ । वेबसाइटमा दिइएको तथ्यांक अनुसार सन् २०२३ मात्रै एक हजार १९३ प्रविधि कम्पनीहरूले दुई लाख ६४ हजार २२८ कर्मचारीहरूलाई निकालेका थिए ।
रोजगारी कटौतीको यो प्रवृत्ति स्टार्टअपदेखि स्थापित कम्पनीहरूसम्मै देखिन्छ । जसले प्रविधि क्षेत्रमा आर्थिक चुनौतीको गम्भीर अवस्थालाई उजागर गरेको विश्लेषण भइरहेको छ । एप्पल, माइक्रोसफ्ट, गुगल जस्ता ठूला कम्पनीले पनि कर्मचारी कटौती जारी राखेका छन् । साथै अझै कर्मचारी कटौती गर्ने उनीहरूको योजना छ ।
एप्पलले डिजिटल सेवा क्षेत्रमा काम गर्ने करिब १०० कर्मचारीलाई निकाल्ने घोषणा गरेको छ । जसमा कम्पनीको बुक्स र न्युज टिमहरूमा काम गर्ने कर्मचारीहरू समावेश छन् । यसअघि मे महिनामा एप्पलले क्यालिफोर्नियामा ६१४ कर्मचारीलाई निकाल्दै लामो समयदेखि चलिरहेको विद्युतीय सवारी (ईभी) परियोजना बन्द गरेको थियो ।
त्यस्तै एक्सन क्यामेराको लागि प्रख्यात कम्पनी गोप्रोले २०२४ को अन्त्यसम्म आफ्नो कुल कर्मचारीमध्ये १५ प्रतिशत कटौती गर्ने योजना बनाएको छ । यस पुनर्संरचना प्रयासले करिब १३९ कर्मचारीलाई असर गर्ने बताइएको छ ।
अर्कोतर्फ अडियो प्रविधि कम्पनी सोनोसले थप १०० कर्मचारी अर्थात् आफ्नो कुल कार्यबलको छ प्रतिशत कटौती गर्ने भएको छ । २०२३ मा पनि कम्पनीले सात प्रतिशत कर्मचारी कटौती गरेको थियो ।
त्यस्तै नेटवर्किङ जायन्ट सिस्कोले यो वर्ष हजारौं कर्मचारीलाई निकाल्ने योजना बनाएको खबर आएको छ । कम्पनीले गत फेब्रुअरीमा मात्रै चार हजारभन्दा बढी कर्मचारीलाई निकालेको थियो ।
यता डेलले पनि पुराना कर्मचारी कटौती गर्दै एआई उत्पादन र सेवाहरूमा केन्द्रित नयाँ बिक्री इकाई बनाउने योजना ल्याएको छ । यद्यपि निकाला हुने कर्मचारीहरूको ठ्याक्कै संख्या खुलाइएको छैन ।
चिप निर्माता कम्पनी इन्टेलले पनि १५ हजार कर्मचारी हटाउने घोषणा गरिसकेको छ, जसले आफ्नो कुल कार्यबलको १५ प्रतिशतलाई असर गर्ने बताइएको छ ।
त्यस्तै माइक्रोसफ्टले २०२४ मा पनि विभिन्न विभागहरूमा कर्मचारी कटौती जारी राखेको छ । गत जनवरीमा कम्पनीले गेमिङ युनिटबाट दुई हजार कर्मचारीलाई निकाल्यो भने जुन र जुलाईमा अन्य विभागहरूमा कटौती गर्यो ।
गुगलको मातृ कम्पनी अल्फाबेटले सन् २०२४ मा ६३० कर्मचारीलाई विभिन्न विभागहरूबाट हटाएको छ । यसअन्तर्गत गुगलको भ्वाइस असिस्टेन्ट, हार्डवेयर (पिक्सेल, नेस्ट, फिटबिट), विज्ञापन बिक्री, एआर टिम लगायतका कर्मचारी निकाला भएका थिए ।
कोभिड महामारीको समयमा अत्यधिक रूपमा कर्मचारी भर्ना गरेका कम्पनीहरू अहिले लागत र भविष्यको विकासका अवसरहरू सन्तुलन मिलाउन कर्मचारी कटौती गर्ने विकल्प पछ्याइरहेका छन् । अर्कोतर्फ कम्पनीहरूले आर्टिफिसियल इन्टेलिजेन्स जस्ता नयाँ प्रविधिका क्षेत्रमा केन्द्रित हुन आफ्नो संरचना नै परिवर्तन गरिरहेका छन् । यस प्रक्रियामा पुराना विभागहरूलाई हटाएर नयाँ प्रविधिमा लगानी गर्ने उनीहरूको रणनीति छ, जसले गर्दा पुराना कर्मचारीहरू बिदा हुनुपर्ने अवस्था आएको छ ।
विश्वव्यापी आर्थिक मन्दीको सम्भावनाले पनि प्रविधि कम्पनीहरूलाई सतर्क बनाएको छ । भविष्यमा सम्भावित आर्थिक संकटका लागि तयार रहन कम्पनीहरूले आफ्नो कार्यबललाई घटाउँदै आफ्नो सञ्चालनलाई लचिलो बनाइरहेका छन् ।