close

सामाजिक सञ्जाल र इन्टरनेटले फेरियो गुमनाम प्रकाशको जीवन

हिक्मत आचार्य हिक्मत आचार्य

भदौ १६, २०८१ १९:१७

सामाजिक सञ्जाल र इन्टरनेटले फेरियो गुमनाम प्रकाशको जीवन

उत्तरी गोरखाको विकट बस्ती चुम भ्यालीमा चौँरी चराउँदै आएका प्रकाश तामाङले वर्तमान संसार नियाल्न पाउने कल्पना सायदै गरेका थिए । तीन दशकभन्दा बढी समयसम्म आफ्नो जन्मठाउँ र परिवारबाट टाढा, गुमनाम जीवन बिताएका प्रकाशका लागि चुम भ्याली नै सारा संसार थियो । 

अप्रिल २०२३ तिर ‘हेर्ने कथा’को टिम चुम भ्यालीको छेकम्पार पुगेको थियो । त्यही क्रममा उक्त टिमको भेट प्रकाशसँग भएको थियो । त्यसबेलासम्म मिडिया वा सामाजिक सञ्जाल कतै नआएका प्रकाश हेर्ने कथाको भाग ११३ ‘फुन्जोको कथा’ मा देखिएका थिए । त्यसपछि हेर्ने कथाले प्रकाशलाई पछ्याउँदै उनको बारेमा डकुमेन्ट्री ‘हराएका वर्षहरू’ तयार पार्‍यो । 

३५ वर्षपछि परिवार भेटे पनि आर्थिक रूपमा पारिवारिक अवस्था कमजोर भएकाले आम्दानीका लागि उनी पुनः चुम भ्यालीमै फर्किएको घटना सो भिडिओमा देखाइएको थियो । उक्त भिडिओ युट्युबमा सार्वजनिक भएपछि धेरैको ध्यान खिच्यो ।

भिडिओ हेरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमा आफ्नो भनाइ राखे- “हेर्ने कथाको पछिल्लो एपिसोड 'हराएका वर्षहरू' हेरें । प्रकाश तामाङ (काले मोक्तान)को परिवारसँग मिलनको दृश्यले आँसु आयो । सोचें- यस्ता कति प्रकाशहरु वर्षौंदेखि हराएका होलान् ! एक पटक प्रकाशलाई भेटेर उहाँको कुरा सुन्न चाहन्छु ।”

भिडिओमा अन्त्यमा प्रकाश छ महिनापछि घर फर्किएर दशैं मनाएको विषय उल्लेख थियो । धेरैले त्यसपछिका दिनमा के भयो, प्रकाश अहिले कहाँ छन्, उनी कस्तो अवस्थामा छन् भन्ने जिज्ञासा राखेका थिए । हेर्ने कथाले सामाजिक सञ्जालमा एक लामो स्टाटस राख्दै प्रकाशको वर्तमान अवस्थाबारे जानकारी दियो । पोस्टमा उनी आफ्नो घर भोजपुरबाट पुनः चुम भ्यालीमै फर्किएको उल्लेख थियो ।

“नागरिकता बनाउन खोजेको, तर भएन । जन्मदर्ता चाहिन्छ । झापाबाट आएको बसाइँसराइ चाहिन्छ भने,” हेर्ने कथालाई प्रकाशले भने । अर्थात् घर फर्किसकेपछि पनि प्रकाशले नागरिकता पाउन सकेका थिएनन् । उनको पारिवारिक अवस्था कमजोर भएकाले उनी पुनः चुम भ्यालीमै फर्किन बाध्य भएका थिए । 

यो थाहा पाएपछि सामाजिक सञ्जालमा प्रकाशको विषयमा आवाज उठ्न थाल्यो । उनले काम गरेको ठाउँबाट ज्याला पाउनुपर्ने, सरकारले नागरिकता दिनुपर्ने लगायतका विषय उठे । र, उनी पुनः भोजपुर फर्किनु पर्छ भन्ने धेरैले माग राखे । प्रकाशका बारेमा अन्य अनेकन् अभिमत देखिए ।

त्यसैको प्रभावले उनलाई चुम भ्यालीबाट ससम्मान बिदा गरियो ।

सञ्चारमाध्यममा आएका समाचार अनुसार प्रकाशका साहुले उनलाई १० लाख रुपैयाँ दिने भएका छन्, अनि चुमनुब्री गाउँपालिकाले एक लाख । सामाजिक सञ्जाललाई नियाल्ने हो भने  उनलाई सहयोग गर्न चाहनेहरूको ओइरो नै लागेको छ । घरजग्गाको जोहो गरिदिनेदेखि रोजगारी/व्यवसाय गर्न सहयोग जुटाइदिने सम्मका बचन उनले पाएका छन् । 

तस्बिर: हेर्ने कथा

सामाजिक सञ्जाल मार्फत प्रधानमन्त्री ओलीले प्रकाशलाई नागरिकता दिन गृहसचिवलाई निर्देशन दिएको बताएका थिए । सचिवको आदेश अनुसार भोजपुरका प्रमुख जिल्ला अधिकारीको टोलीले प्रकाशको घरमा नै पुगेर विवरण संकलन गरेको थियो । सोही बमोजिम भोजपुर घर फर्किएका प्रकाशलाई आइतबार त्यहाँको षडानन्द नगरपालिका-१० ले  उनकै घरमा गएर नागरिकताको प्रमाणपत्र प्रदान गरेको छ । उनको बैंक खाता खोल्ने प्रक्रिया समेत अगाडि बढेको बताइएको छ । योसँगै सामाजिक सञ्जालमा धेरैले सहयोग गर्ने प्रतिवद्धता दिन थालेका छन् । केहीले आर्थिक सहयोग गरेका भिडिओ पनि फेसबुक र टिकटकमा देखिन थालेका छन् ।

प्रकाश जस्ता गुमनाम पात्रलाई चिनाउन मात्र होइन, उनको जीवनलाई पुनर्स्थापित गर्न र पहिचानको समस्या समाधान गर्न पनि सामाजिक सञ्जाल एक शक्तिशाली माध्यमा रूपमा उभिएको यस घटनाले देखाएको छ । नागरिकता पाएसँगै उनको जीवनको नयाँ अध्याय सुरु भएको छ । उनी पुनः गुमनाम हुन चाहँदैनन्, र अब नागरिकताको साथसाथै उनीसँग आफ्नो भविष्यको लागि धेरै विकल्पहरू छन् । 

सामाजिक सञ्जालको सकारात्मक पक्ष बाहेक यसका नकारात्मक पक्ष पनि सतहमा आउन थालेका छन् । प्रकाशको कथा बाहिर आएपछि धेरैले उनका साहुलाई गाली गरे । ३५ वर्षसम्म श्रम शोषण गरेको आरोप लगाए । यसरी सामाजिक सञ्जालमा चर्को आलोचना र गाली आउन थालेपछि प्रकाशका साहुका छोरा छेतेन दोण्डुपले हेर्ने कथामार्फत वास्तविकता बताए । वास्तविकता थाहा पाएपछि सामाजिक सञ्जाल प्रयोगकर्ताले साहुलाई सकारात्मक रूपमा लिन थाले । 

त्यसबाहेक अहिले सामाजिक सञ्जाल विशेषगरी टिकटकमा हेर्ने कथा, हेर्ने कथाकी प्रस्तोता विद्या चापागाईं र प्रकाश तामाङका नाममा नक्कली अकाउन्ट बनाउने क्रममा बढेको छ । भ्युज र फलोअरका लागि ती अकाउन्टमा विभिन्न फोटो र भिडिओ राखिएका छन् । त्यसबाहेक उनी जहाँजहाँ गए, त्यहाँको जानकारी दिनेहरू क्यामेरा बोकेर पछि लागेका छन् ।

यस विषयमा व्यङ्ग्य गर्दै फेसबुक पेज ट्रोल नेपालले लेखेको छ, “पाका दाइ हेर्ने कथासम्म ठीकैका पात्र थिए । अब युट्युबेको हात परिसके, भगवान पशुपतिनाथले समेत बँचाउन सक्दैनन् ।”

अर्थात् धेरैले प्रकाश अब नेपाली युट्युबरको हट केक बन्नेमा आशंका व्यक्त गरेका छन् । सामाजिक सञ्जालमा निर्जल अधिकारी लेख्छन्, “उसलाई बाहिर ल्याइदिएर विद्या दिदीले गल्ती गर्नुभयो जस्तो पो लाग्न थाल्यो । युट्युबेहरूले एकैचोटि टुप्पामा पुर्‍याएपछि घरको न घाटको बनाएर छाड्छन् । त्यो कुरा कसले बुझाइदिने अब त्यो परिवारलाई ?”

युट्युबमा प्रकाश तामाङ सर्च गर्ने हो भने उनी, उनको पारिवारिक अवस्था र अन्य विषयमा तयार पारिएका थुप्रै सामग्री देख्न सकिन्छ । जसमा राम्रै भ्युज आइरहेको छ ।

सामाजिक सञ्जालमा आफूले चर्चा पाउन सहयोग गरेको जस्तो देखाउन केही व्यक्तिहरू लागिपरेको केही सामाजिक सञ्जाल प्रयोगकर्ताको तर्क छ ।

पछिल्लो अध्यावधिक: भदौ १६, २०८१ २०:११