काठमाडौं । शैक्षिक उपलब्धि प्राप्त गर्न होस् वा आफ्नो दैनिकीलाई चुस्तदुरुस्त राख्न, हाम्रो स्मरण क्षमता बलियो हुन आवश्यक छ । तर यही शक्तिमा ह्रास आयो भने अनेकन् समस्या निम्तिन्छन् । कतिपय यस्ता कारण छन्, जसले हाम्रो स्मरणशक्तिमा निरन्तर ह्रास ल्याइरहेको हुन्छ । भन्नुको अर्थ ती काम नगर्दा स्मरण शक्ति बढाउन पनि सकिन्छ । यी कुरालाई वैज्ञानिकहरूले पुष्टि समेत गरेका छन् । आज हामी स्मरण शक्तिमा ह्रास ल्याउने केही कामबारे चर्चा गर्ने छौं:
१. मल्टिटास्किङ
एकैसाथ धेरै काम गर्नुलाई तपाईं स्मार्ट मान्नुहुन्छ अब सतर्क हुनुहोस् । किनकि मल्टिटास्किङले हाम्रो स्मरण शक्तिलाई ह्रास गरिरहेका हुन्छन् । वैज्ञानिकहरूका अनुसार एक पटकमा धेरै काम गर्दा हाम्रो मस्तिष्कलाई ओभरलोड हुन जान्छ । जसले मस्तिष्कको मेमोरी गठनमा बाधा पुर्याउँछ ।
२. स्क्रिनमा बढी समय
अहिले हामी स्क्रिनप्रेमी हुँदै गइरहेका छौं । चाहे फिल्म हेर्ने नाममा होस् वा सामाजिक सञ्जाल चलाउने बहानामा, स्क्रिनमा बिताउने समय निरन्तर बढ्दो छ । तर यसो गर्दा स्मरण शक्तिमा नकारात्मक प्रभाव पर्न सक्छ । विशेषगरी सुत्ने समयभन्दा अघि स्क्रिनमा बिताउँदा समस्या सिर्जना हुन सक्छ । किनकि त्यसबेला स्क्रिन हेर्दा हाम्रो निद्राको ढाँचामा प्रभाव पर्छ । जसले हाम्रो मेमोरीलाई प्रभावकारी हुनबाट रोक्छ ।
३. निद्राको कमी
सुत्नुअघि स्क्रिन हेर्दा निद्रामा समस्या आउनेबारे अघिल्लो अनुच्छेदमा नै चर्चा गरिएको छ । त्यस्तै निद्राको कमि अर्थात् अनिद्राले पनि हाम्रो स्मरण शक्तिलाई असर पर्छ । अनिद्राले मस्तिष्कलाई सम्झनाहरू राम्ररी इन्कोडिङ र भण्डारण गर्नबाट रोक्छ । प्रतिफल स्वरूप हामीले चाँडै भुल्न थाल्ने वैज्ञानिकहरू बताउँछन् ।
४. अव्यवस्थित जीवन
हाम्रो स्मरण क्षमतामा प्रत्यक्ष असर पार्ने कुरा हो, हाम्रै जीवनशैली । अव्यवस्थित जीवन तपाईंले आफूभित्र पालेको शत्रु हो । जसले तपाईंलाई निरन्तर सकिरहेको हुन्छ । उदाहरणका लागि, तपाईंले आफ्ना सामानहरू मिलाएर जतन गरेर राख्नहुन्न भने तपाईंको ती कहाँ राखेको छु भनेर सम्झन गाह्रो हुन्छ । यसले तनाव र चिन्ता पनि थप्छ । भन्नुको अर्थ व्यवस्थापन गर्ने क्षमता कमजोर हुँदा पनि तपाईंको स्मरण शक्तिमा ह्रास आउँछ ।
५. निष्क्रिय सिकाइ
सामाजिक सञ्जालमा स्क्रोल गरेर दिनभरि बिताउँदा तपाईंले कति सिक्नुहुन्छ ? सायद अति थोरै । किनकि तपाईं सामाजिक सञ्जालमा आएका कुराहरू सिक्छु भनेर हेर्नु भएको हुँदैन । भन्नुको अर्थ सक्रिय रूपमा संलग्न नभई जानकारी मात्र लिँदा स्मरणशक्ति राम्रो हुँदैन । तर त्यही कुरालाई तपाईंले नोटमा लेख्दै र छलफल गर्दै गर्ने हो भने छोटो समयमा नै धेरै कुरा सिक्न सक्नुहुन्छ ।