close

सामाजिक सञ्जालमा १ अर्ब फलोअर पाउने पहिलो व्यक्ति बन्दै रोनाल्डो

टेकपाना टेकपाना

भदौ २७, २०८१ १४:५७

सामाजिक सञ्जालमा १ अर्ब फलोअर पाउने पहिलो व्यक्ति बन्दै रोनाल्डो

काठमाडौं । स्टार फुटबलर क्रिस्टियानो रोनाल्डो सामाजिक सञ्जालमा एक अर्ब फलोअर पाउने पहिलो व्यक्ति बन्ने सङ्घारमा छन् । दुई साताअघि युट्युबमा जोडिएका रोनाल्डो चाँडै नै यो आँकडा पार गर्ने दिशामा छन् ।

युट्युबमा जोडिएसँगै उनले सब्सक्राइबर सम्बन्धी कैयौं रेकर्ड आफ्नो नाममा बनाए । उनी सबैभन्दा कम समयमा एक लाख, १० लाख, २० लाख, ५० लाख, एक करोड, दुई करोड हुँदै पाँच करोड सब्सक्राइबर पाउन सफल भए । हालसम्म उनको युट्युब च्यानलमा छ करोड दुई लाख बढी सब्स्क्राइबर रहेका छन् । 

रोनाल्डोको इन्स्टाग्राम अकाउन्टमा ६३ करोड ९० लाख बढी फलोअर रहेका छन् । सामाजिक सञ्जाल फेसबुकमा उनलाई १७ करोड बढीले फलो गरेका छन् । रोनाल्डो इन्स्टा र फेसबुकमा सबैभन्दा बढी फलोअर भएका व्यक्ति हुन् ।

सामाजिक सञ्जाल एक्समा ११ करोड ३० लाख बढी फलोअरका साथ उनी बढी फलोअर हुने अकाउन्टको शीर्ष तेस्रो स्थानमा छन् ।

युट्युबमा छ करोड बढी सब्सक्राइबरका साथ उनी सबैभन्दा भढी सब्क्राइबर हुने च्यानलको शीर्ष ३९औं स्थानमा छन् । अन्य सामाजिक सञ्जालका अकाउन्टको तुलनामा रोनाल्डोले सबैभन्दा बढी फलोअर युट्युबबाट पाइरहेका छन् । 

चिनियाँ शर्ट भिडिओ प्लेटफर्म ‘क्वाइस्चो’ मा समेत रोनाल्डो जोडिएका छन्, जसमा उनलाई ९२ लाख ४४ हजार बढीले फलो गरेका छन् । चीनकै सामाजिक सञ्जाल विबोमा पनि रोनाल्डोको अकाउन्ट छ । उक्त प्लेटफर्ममा उनका फलोअर ७२ लाख ६७ हजार बढी छन् । 

यो समाचार तयार पार्दासम्म सबै सामाजिक सञ्जालमा गरी रोनाल्डोले ९९ करोड ९२ लाख ९२ हजार बढी फलोअर पाएका छन् । एक अर्ब फलोअर पाउनै लाग्दा उनले युट्युबमा 'Road to 1 Billion… Let’s break the record together!' क्याप्सन राखेर युट्युबमा भिडिओ लाइभ गरेका छन् ।

पछिल्लो अध्यावधिक: भदौ २७, २०८१ १५:९