close

सामाजिक सञ्जालमा नाङ्गो खुकुरी देखाएर धम्की दिने व्यक्ति पक्राउ

टेकपाना टेकपाना

असोज १, २०८१ १५:४०

सामाजिक सञ्जालमा नाङ्गो खुकुरी देखाएर धम्की दिने व्यक्ति पक्राउ

काठमाडौं । सामाजिक सञ्जालमा हतियार देखाएर त्रास फैलाएको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका वडा नम्बर १५ का २१ वर्षीय ओम कुमार पटेल रहेका छन् । जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी एवं डीएसपी दीपक भारतीका अनुसार पटेललाई सोमबार राति प्रतिमाचोकबाट पक्राउ गरिएको हो ।

प्रवक्ता भारतीका अनुसार पक्राउ परेका पटेल आफूलाई सामाजिक सञ्जालका विभिन्न प्लेटफर्ममा ‘किङ्ग अफ पर्सा’ भनेर चिनाउँथे । ती अकाउन्टबाट भिडिओ बनाई हातहतियार प्रदर्शन गर्ने, अपशब्द बोल्ने, गालीगलौज गर्ने, धम्काउने र समाजमा त्रास फैलाउने गरेको भेटिएपछि खोजी गरेर नियन्त्रणमा लिइएको डीएसपी भारतीले जानकारी दिए ।  । 

“हामीले सामाजिक सञ्जालमा हतियार प्रदर्शन गरेर धाकधम्की दिएको भिडिओ राखेको पाएपछि खोजी गरेर नियन्त्रणमा लिएका छौं,” भारतीले भने, “यस विषयमा थप अनुसन्धान भइरहेको छ ।” 

आरोपित पटेललाई सार्वजनिक शान्ति विरुद्धको कसुरमा अनुसन्धान भइरहेको छ । त्यस्तै यस्ता गतिविधिमा संलग्न अन्यको पनि खोजतलास भइरहेको डीएसपी भारतीयले जानकारी दिए ।

पछिल्लो अध्यावधिक: असोज १, २०८१ १५:४४