काठमाडौं । वर्षौंदेखि मार्क जुकरबर्गले रियालिटी ल्याब्समा गरेको लगानीमाथि विभिन्न प्रश्न उठिरहेका थिए । हालै जुकरबर्गले स्मार्टफोनलाई विस्थापित गर्नसक्ने स्मार्ट चस्मा सार्वजनिक गरेर ती प्रश्नकर्ताहरूलाई जवाफ दिएका छन् । ‘ओरियन’ नाम दिइएको यो स्मार्ट चस्मा हालै सम्पन्न ‘कनेक्ट मेटा २०२४’ मा सार्वजनिक गरिएको हो ।
रियालिटी ल्याब्स मेटाको अनुसन्धान तथा विकास शाखा हो । विशेषगरी यहाँ भर्चुअल र अग्मेन्टेड रियालिटी (एआर/भीआर) प्रविधिहरूमा काम हुने गर्छ । यो चस्मा मेटाको वेयरेबल्स डिभिजनले बनाएको हो । तर अहिले यसको प्रोटोटाइप मात्र सार्वजनिक गरिएको छ । भविष्यमा यही चस्माले स्मार्टफोनलाई विस्थापन गर्नसक्ने अनुमान छ ।
सार्वजनिक यस चस्माको प्रोटोटाइपमा अग्मेन्टेड रियालिटी (एआर), आई एन्ड ह्यान्ड ट्रयाकिङ, जेस्चर डिटेक्टिङ रिस्टब्यान्ड, जेनरेटिभ एआई जस्ता प्रविधि प्रयोग गरिएको छ । चस्मामा सिलिकन कार्बाइड लेन्स र माइक्रो एलईडी प्रोजेक्टर प्रयोग गरिएको छ ।
यो चस्मा अन्य साधारण चस्मा जस्तै हो । तर यसको ग्लासमा एप्लिकेसनका विन्डोजहरू पनि देख्न सकिन्छ । भन्नको अर्थ मोबाइलको स्क्रिन चस्मामा देखिन्छ । त्यसो गर्दा बाहिरको दृश्य हेर्न समस्या हुँदैन । बरु चस्मालाई हात, आँखा र आवाज प्रयोग गरी चलाउन सकिने मेटाले जनाएको छ ।
यद्यपि सामान्य चस्मा जस्तो यो सस्तो छैन । यसको सुरुवाती मूल्य नै १० हजार डलर (करिब साढे १३ लाख रुपैयाँ) रहेको छ । तर यही समयमा अहिले सस्तोमा किन्छु भनेर सोच्छु मुर्ख्याईं मात्र हुन्छ । किनकि यसका सबै प्रविधि नयाँ छन् । यसले गर्दा तिनको लागत र चस्माको आकारलाई घटाउन समय लाग्ने देखिन्छ ।
तर मेटा मात्र यस्तो प्रविधि विकासमा लागिपरेको कम्पनी होइन । हालै मात्र स्न्यापले आफ्नो ‘स्पेक्टाकल्स’ (Spectacles) नामक स्मार्ट चस्माको नयाँ संस्करण सार्वजनिक गरेको छ । यो मेटाको ‘ओरियन’ भन्दा ठूलो भए पनि यसको 'फिल्ड अफ भ्यू' (दृश्य क्षेत्र) सीमित छ ।
हाल एप्पल र जोनी आइभको ‘लभफम’ नामक स्टार्टअपले स्मार्ट चस्माको क्षेत्रमा काम गरिरहेका छन् । त्यसैगरी गुगलले पनि गत मे महिनामा सम्पन्न आई/ओ इभेन्टमार्फत स्मार्ट चस्मा ल्याउनेबारे सङ्केत गरेको थियो ।
समग्रमा अहिलेका ठूला प्रविधि कम्पनीहरूबीच स्मार्टफोनलाई विस्थापित गर्न सक्ने स्मार्ट चस्मा विकास गर्न प्रतिस्पर्धा चलिरहेको छ । त्यही सन्दर्भमा मेटाले ‘ओरियन’ ल्याएको हो ।
हुन त हाल मेटाले ‘रेबन मेटा’ स्मार्ट चस्मा बजारमा ल्याइसकेको छ । जसमा क्यामेरा, माइक्रोफोन, स्पिकर, सेन्सर, एआई राखिएका छन् । यसको मूल्य २९९ डलर (४० हजार रुपैयाँ) तोकिएको छ । त्यो चस्मा सामान्य रेबनभन्दा अलि महँगो र भिन्न छ । तर ‘ओरियन’ र उक्त रेबन स्मार्ट चस्माबीच नजिकको सम्बन्ध छ ।
मेटाका प्रोडक्ट हेड लीचेन मिलरका अनुसार ‘ओरियन’ भविष्य हो भने रेबन त्यहाँ पुग्ने पहिलो कदम । मिलरको उक्त भनाइले मेटाको लगानी र दीर्घकालीन दृष्टिकोण उजागर गर्छ । तर त्यहाँसम्म पुग्न अझ धेरै समय लाग्ने निश्चित छ ।
किनकि ‘ओरियन’ स्मार्ट चस्मामा सुधार गर्नुपर्ने धेरै पक्ष छन् । पहिलो कुरा त यो अहिलेको समयमा निकै महँगो छ । यसले गर्दा सबैले यसलाई खरिद गर्न सक्दैनन् । तर भविष्यमा ‘ओरियन’ले स्मार्टफोनलाई विस्थापन नगर्ला भन्न सकिने अवस्था छैन ।