काठमाडौं । अघिल्लो वर्ष दशैं ताकाको कुरा हो । कक्षा १२ मा पढिरहेकी १९ वर्षीया बिपना लामा (नाम परिवर्तन) ले टिकटकमा आईफोन १४ प्रो म्याक्सको विज्ञापन देखिन् । उनीसँग डिस्प्ले जानै आँटेको पुरानो फोन थियो । २५ देखि ३० हजारसम्मको राम्रो फोन पाए किनिहाल्ने मुडमा थिइन् उनी । त्यही बेला आईफोन १४ प्रो म्याक्स, त्यो पनि २५ हजारमै उपलब्ध भएको देख्दा मख्ख परिन् ।
बिहान कक्षा हुने भएकाले आफ्नो खर्च जुटाउन दिउँसो उनी एक क्याफेमा काम गर्थिन् । मासिक ११ हजार तलब थियो त्यहाँ । उनले आफ्नो खर्च कटाएर तीन महिना लगाई २५ हजार हजार रुपैयाँ जम्मा गरेकी थिइन् ।
झट्ट हेर्दा त्यस्तो राम्रो देखिने फोन २५ हजारमै पाइएला र भन्ने शंका थियो उनको मनमा । ‘कसैलाई आपत परेर बिक्री गरेको वा पसलेले मर्मत गरेर सस्तोमा बिक्री गर्न खोजेको पनि त हुन सक्छ’, उनको मनले आशा जगायो ।
मनको आशालाई केही समयका लागि थाँती राख्दै उनले उक्त टिकटक आईडी कत्तिको साँचो हो भन्ने जाँच्न खोजिन् । त्यसपछि उनले अकाउन्टको टाइमलाइन नियालिन् । प्रायः आईफोन सस्तोमा बिक्री गर्ने विषयमा बनाइएका विज्ञापन भिडिओ अपलोड भएका थिए त्यसमा ।
अलिकति भए पनि ती भिडिओले सो टिकटक अकाउन्टप्रति उनको विश्वास जगायो । “टिकटकको भिडिओ हेर्दा अरू आईफोन पनि बिक्री गरिरहेको देखें,” लामा भन्छिन्, “त्यसमा कमेन्ट पनि फोन राम्रो छ, मलाई चित्त बुझ्यो, सस्तोमा राम्रो फोन पाउँदा खुसी लाग्यो भन्ने जस्ता कमेन्ट लेखिएको थियो । मलाई हो जस्तै लाग्यो ।”
त्यसपछि बायोमा दिएको नम्बरमा सम्पर्क गर्न खोजिन्, तर फोन अफ थियो । उनले तत्कालै उक्त नम्बरको ह्वाट्सएप अकाउन्टमा मेसेज पठाइन् । ह्वाट्सएपमा तुरुन्तै मेसेज आयो ।
“तपाईंलाई कुन फोन चाहिएको ?”, लामालाई मेसेज आयो ।
“२५६ जीबी स्टोरेज भएको आईफोन १४ प्रो म्याक्स,” उक्त टिकटक अकाउन्टबाट डाउनलोड गरिएको भिडिओ पठाउँदै लामाले भनिन् ।
उक्त आईडीबाट ‘भइहाल्छ नि, कहाँ डेलिभरी गर्नुपर्ने ?’ भन्ने प्रश्न आयो । लामाले आफ्नो ठेगाना पठाइन् । दशैंको अफर भएकाले डेलिभरी चार्ज नलाग्ने, तर मोबाइलको शुल्क भने पहिले नै तिर्नुपर्ने भनिएको थियो ।
लामाले उनीहरूको भौतिक पसल भए/नभएको सोधिन् । इलामको एउटा ठाउँको नाम भन्दै ती व्यक्तिले सोझै पसलबाट कुरियरमार्फत डेलिभरी गरिदिने बताए । यति हुँदासम्म लामा फोन पाउनेमा विश्वस्त थिइन् ।
रकम ती व्यक्तिले भनेको ईसेवा अकाउन्टमा पठाइदिनु पर्ने थियो । लामासँग ईसेवा अकाउन्ट थिएन । त्यसैले उनले २५ हजार जम्मा गरी नजिकैको एक पसलमा गइन् । र, पसलेलाई उक्त अकाउन्टमा रकम पठाइदिन अनुरोध गरिन् ।
पसलेले पनि लामाले भनेकै अकाउन्टमा रकम पठाइदिए । र, लामाबाट नगद रकम लिए । पैसा पठाएको स्क्रिनशट पठाउँदै लामाले ती व्यक्तिलाई रकम गएको जानकारी दिइन् । उताबाट पनि ‘आयो, अब हामी कुरियरमार्फत पठाइदिन्छौं’ भन्ने रिप्लाई आयो । डेढ घण्टामा आइपुग्छ भनेको फोन तीन घण्टासम्म पनि लामाले भनेको ठेगानामा आइपुगेन । उनले पहिले कुरा गरेको ह्वाट्सएप अकाउन्टमा फोन ‘कहाँ पुग्यो ?’ भनेर सोधिन् । तर, जवाफ आएन । उनले रिप्लाई पाउने आशमा हरसम्मका मेसेज पठाइन् । तर, मेसेज सिन पनि हुन छोड्यो ।
उनका नजिकका आफन्तले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा उजुरी दिन सुझाव दिए । उनी त्यसको भोलिपल्ट नै प्रमाण लिएर उजुरी दिन गइन् । ५०० रुपैयाँ तिरेर निवेदन लेख्न लगाई, त्यही निवेदन लिएर उनले कार्यालयमा दर्ता गरिन् । “तपाईंलाई हामी छिट्टै फोन गर्नेछौं । अथवा, तपाईंले केस के भयो भन्ने बुझ्न हाम्रो कार्यालयको नम्बरमा कल गर्न सक्नुहुन्छ,,” उजुरी शाखाका एक अधिकृतको भनाइ उद्धृत गर्दै लामाले भनिन् । तर, उजुरी दिएको झन्डै एक वर्ष पुग्न लाग्दा पनि उनलाई न कार्यालयबाट फोन आयो, न उनले टिपेको नम्बरमा फोन लाग्यो ।
“मेरो २५ हजार त डुब्यो, डुब्यो उजुरी दिने बेला निवेदन लेख्न लगाएको ५०० पनि डुब्यो,” निराश हुँदै लामाले भनिन् । त्यसपछि टिकटक चलाउँदै गर्दा त्यही भिडिओ अन्य अकाउन्टबाट राखिएको लामाले देखिन् । उनी अगाडि भन्छिन्, “भिडिओ कसले कहाँबाट डाउनलोड गरेर नेपाली म्युजिक भरेर बिक्रीमा छ भनिदिने रहेछन् । मैले सबैभन्दा पहिले देखेको भिडिओ अहिले टिकटकमा कति छ कति ।”
दशैंमा ठगिने सम्भावना झनै बढी
लामा यसरी ठगिनेमध्येकी प्रतिनिधि पात्र मात्र हुन् । सस्तोमा आईफोन बिक्री गर्न राख्ने गिरोह नै सक्रिय भएको देखिन्छ । टिकटकमा आईफोन खरिद गर्ने विषयमा कुनै क्वेरिज सर्च गर्ने हो भने विज्ञापनका लागि राखिएका तमाम् भिडिओ भेटिन्छन् ।
अझै दशैंको अफर भन्दै आईफोन ११, १२, १३ र १४ सिरिजका फोन १५ हजारदेखि ५० हजार रुपैयाँसम्म बिक्रीमा राखिएका थुप्रै विज्ञापन छन् । ब्याट्री हेल्थ कम भएको, डिस्प्लेमा हल्का समस्या आएको, तीन ओटामध्ये एउटा क्यामेरामा अलिकति समस्या भएको भन्ने जस्ता बहाना बनाउँदा फोन त्यति मूल्यमा पाइनु स्वाभाविक हो भन्ने खरिदकर्तालाई लाग्छ । र, उनीहरू विश्वास गरेर रकम भुक्तानी गरिदिन्छन् ।
यसरी अनलाइनमा सस्तो देखिएकै भरमा विश्वास गरेर रकम नपठाउन केन्द्रीय अनुसन्धान ब्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक होवीन्द्र बोगटीले सुझाव दिए । “सस्तोमा सामान पाइयो भन्दैमा अनलाइनमै विश्वास गरेर रकम दिनु हुँदैन,” प्रहरी उपरीक्षक बोगटीले भने, “यस्तोमा फसेको पैसा नेपाली बैंक अकाउन्ट प्रयोग गरेर विदेशबाट निकालिरहेका हुन्छन् । त्यसैले उजुरी हाल्दा पनि पाउन गाह्रो हुन्छ ।”
अनलाइनमा सामान खरिद गर्नुअघि त्यसको विश्वसनीयता बुझ्न र रकम अर्डर पाइसकेपछि मात्र दिन उनले सुझाव दिए । उनी अगाडि भन्छन्, “सस्तोमा पाइयो भन्दै रकम अगाडि नै पठाइदिनेहरू हुन्छन् । यस्तोमा भरसक सामान पाइसकेपछि मात्र रकम दिंदा राम्रो हुन्छ ।”
सामाजिक सञ्जालमा फलोअर र लाइक बढी हुँदैमा त्यो व्यक्ति आधिकारिक हो भन्ने हुँदैन । र, कमेन्ट पनि नक्कली अकाउन्टबाट गरिरहेका हुन्छन् । त्यसैले यस्ता अकाउन्टबाट जोगिन प्रहरी उपरीक्षक बोगटीले सचेत गराएका छन् ।