काठमाडौं । तपाईं विन्डोज प्रयोगकर्ता हो र नेपाली टाइपिङको काममा कुनै न कुनै रूपमा आबद्ध हुनुहुन्छ भने एउटा समस्या पक्कै सामना गर्नु भएको होला । त्यो हो, कुनै अङ्ग्रेजी वेबसाइट खोल्दा त्यसमा भएका सबै शब्द देवनागरी लिपिमा लेखिने । अर्थात् वेबसाइटमा अङ्ग्रेजी अक्षर र नेपाली अक्षरको केही तालमेल नै मिलिरहेको हुँदैन ।
फोनमा भने त्यही वेबसाइट खोल्दा अङ्ग्रेजी भाषा नै देखिन्छ । अर्थात् अङ्ग्रेजी साइटमा देवनागरी वर्ण देखिंदैन । यसले गर्दा कतिपय अङ्ग्रेजी वेबसाइटमा भएका कन्टेन्ट हेर्न सकस भइरहेको हुन्छ । आज हामी त्यस्तो किन हुन्छ, अनि कसरी समाधान गर्न सकिन्छ भन्ने विषयमा चर्चा गर्छौँ:
तपाईंले कम्प्युटरमा नेपाली फन्ट इन्स्टल गर्दा फन्टको प्याकेज नै इन्स्टल गर्नु भएको हुन्छ । त्यसमा विभिन्न किसिमका फन्टहरू हुन्छन् । त्यहीमध्ये ‘ईपीसी’ (EPC) नामको एउटा फन्ट छ, जसले तपाईंको ब्राउजरमा यस्तो समस्या निम्त्याइरहेको हुन्छ । यो समस्या समाधान गर्न तपाईंले उक्त फन्ट अनइन्स्टल गरिदिए पुग्छ ।
फन्ट अनइन्स्टल गर्न के गर्ने ?
सबैभन्दा पहिले विन्डोजको सेटिङमा जानुहोस् ।
त्यसपछि सर्चबारमा गएर ‘Font’ सर्च गर्नुहोस् ।
अनि त्यहाँ देखाएको फन्ट सेटिङमा जानुहोस्
त्यसको तलपट्टि फन्ट सर्च गर्ने अप्सन बक्स हुन्छ । त्यसैमा ‘EPC’ सर्च गर्नुहोस् ।
यति गरिसकेपछि त्यहाँ उक्त फन्टको अप्सन देखिन्छ । त्यसको छेउमा रहेको तीन ओटा डटमा ट्याप गर्नुहोस् ।
र, अनइन्स्टलको अप्सन छान्नुहोस् ।
त्यसपछि ब्राउजर बन्द गरेर पुनः स्टार्ट गर्नुभयो भने तपाईंको समस्या समाधान हुन्छ ।