काठमाडौँ । सरकारले विज्ञान, प्रविधि तथा नवप्रवर्तनका लागि चार अर्ब रकम विनियोजन गरेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै विज्ञान, प्रविधि तथा नवप्रवर्तनका लागि सो रकम विनियोजन गरेको जानकारी दिएका हुन् ।
यस्तै सरकारले स्टार्टअप र साना मझौला व्यवसायलाई राष्ट्रिय उद्यम इकोसिस्टममा आबद्ध गर्ने प्लेटफर्मको रूपमा ‘नेपाल इन्टरप्राइज फ्यासिलिटी’ स्थापना गर्ने भएको छ । यसका लागि ५० करोड रुपैयाँ विनियोजन गरिएको अर्थमन्त्री डा. वाग्लेले बताए ।
यो प्लेटफर्मले उद्यमसँग सम्बन्धित नीतिगत व्यवस्था, नवीन वित्तीय उपकरणको पहिचान र पहुँच, इन्क्युबेसनसहितको सहयोग सञ्जाल र स्वदेशी उद्यम अभियानलाई एकीकृत रूपमा अघि बढाउने विश्वास लिइएको छ ।
यस्तै, युवा वैज्ञानिकलाई स्वदेशमा नै अनुसन्धानको अवसर प्रदान गर्न अनुसन्धान, नवप्रवर्तन तथा उद्यमशीलता प्रवर्द्धन गर्न आवश्यक बजेट विनियोजन गरेको उनले बताए। कृषि र पशुजन्य उद्यम गर्न चाहने एक हजार उद्यमीलाई स्टार्टअप सुविधा समेत उपलब्ध गराउने अर्थमन्त्री वाग्लेले जानकारी दिए ।
पछिल्लो अध्यावधिक: जेठ १५, २०८३ १८:६
