काठमाडौं । यो वर्ष सामसङको ग्यालेक्सी एस सिरिज अनप्याक्ड इभेन्ट जनवरीदेखि फेब्रुअरीको बीचमा हुने अनुमान छ । कोरियन साइट एफएन न्युजका अनुसार सामसङले २३ जनवरीमा अमेरिकाको सान फ्रान्सिस्कोमा कार्यक्रम आयोजना गर्नेछ ।
वर्षको पहिलो अनप्याक्ड इभेन्टमा कम्पनीले नयाँ पुस्ताको सामसङ फोन ग्यालेक्सी एस २५ सिरिज सार्वजनिक गर्ने अपेक्षा गरिएको छ । यस सिरिजमा ग्यालेक्सी एस २५, ग्यालेक्सी एस २५ प्लस र फ्ल्यागशिप ग्यालेक्सी एस २५ अल्ट्रा हुने चर्चा छ ।
एफएन न्युजका अनुसार यो वर्ष सामसङले पातलो फोनका रूपमा ग्यालेक्सी एस २५ स्लिम पनि सार्वजनिक गर्नेछ ।
हुन त यसअघि पनि सामसङले पातलो फोन सार्वजनिक गर्छ वा गर्दैन भन्ने विषयमा विभिन्न किसिमका रिपोर्ट बाहिरिएका थिए । तर, ती रिपोर्टले भने अप्रिल अगाडि सामसङले स्लिम फोन नल्याउने दाबी गरेका थिए ।
पछिल्लो समय सार्वजनिक रिपोर्टले भने कम्पनीले एस २५ सिरिजसँगै पातलो फोन पनि सार्वजनिक गर्ने सङ्केत दिएको छ । तर, कम्पनीले स्लिम फोन भने परीक्षणका रूपमा सीमित सङ्ख्यामा उत्पादन गर्नेछ ।
प्रायः सामसङका अफवाह फैलाउने साइटहरूमा एफएन न्युज पर्दैन । तर, टम्स गाइडले भने उक्त साइटका अफवाहरू मेल खान सक्ने अनुमान गरेको छ । यो वर्ष कम्पनीले ग्यालेक्सी एस २५ सिरिज सार्वजनिक गर्ने र फोल्डेबल डिभाइसबारे चर्चा गर्नेछ ।
खासगरी ग्यालेक्सी एआईसँगै फोल्डेबल फोन मान्छेको दैनिक जीवनमा कसरी उपयोगी हुन सक्छन् भन्ने विषयमा कम्पनीले रिपोर्ट सार्वजनिक गर्ने अपेक्षा गरिएको छ । यस वर्ष कम्पनीले केकस्ता ग्यालेक्सी एआई फिचर सार्वजनिक गर्छ भन्ने स्पष्ट छैन ।
गत सेप्टेम्बरमा सार्वजनिक भएको आईफोन १६ सँग एस २५ सिरिजले प्रतिस्पर्धा गर्नेछ । एप्पलले सो फोनमा क्यामेरा बटन नयाँ हार्डवेयरका रूपमा ल्याएको छ । त्यसबाहेक सो सिरिजमा अधिकांश एआई फिचर नै रहेका छन् । सामसङले भने एस २५ सिरिजको डिजाइन वा हार्डवेयरमा केही परिवर्तन ल्याउँछ वा एआई फिचरमै केन्द्रित हुन्छ भन्ने चाहिं चासोको विषय छ ।