close

गुगलको एआई जेमिनाईमा थपियो मेमोरी, अब सम्झिन सक्छ तपाईँले गर्ने कुराकानी

टेकपाना टेकपाना

मंसिर ६, २०८१ १३:३४

गुगलको एआई जेमिनाईमा थपियो मेमोरी, अब सम्झिन सक्छ तपाईँले गर्ने कुराकानी

काठमाडौं । गुगलको एआई च्याटबट जेमिनाईमा मेमोरी क्षमता थप भएको छ । गुगलले आफ्नो आधिकारिक एक्स ह्यान्डलमा एक पोस्ट राख्दै जेमिनाईमा स्मरण क्षमता सहितको नयाँ फिचर थपिएको जनाएको हो । 

यो विशेषता मार्फत प्रयोगकर्ताले च्याटबटलाई केही कुरा सम्झन वा बिर्सिन लगाउन सक्छन् । उदाहरणको लागि यदि कुनै प्रयोगकर्ताले जेमिनाईलाई आफ्नो मन पर्ने खाने कुरा सम्झिन लगाए भने अर्को पल्ट सो प्रयोगकर्ताले कुनै रेस्टुरेन्टको सुझाव माग्दा प्रयोगकर्ताको रुची अनुसारका खाना पाइने रेस्टुरेन्टको सुझाव प्राप्त हुन सक्छ । 

गुगलले यो विशेषता सम्पूर्ण प्रयोगकर्ताको लागि भने उपलब्ध गराइसकेको छैन । हाललाई यो फिचर मासिक २० डलर तिरेर गुगल वन एआई प्रिमियम योजना लिएका प्रयोगकर्ताका लागि मात्र उपलब्ध छ । यो फिचर प्रयोग गरेर सेभ गरिएका सूचनाहरू प्रयोगकर्ताले नचाहेसम्म डिलिट हुँदैनन् भने यो फिचर प्रयोग गर्नका लागि च्याटबटलाई अङ्ग्रेजी भाषामा मात्र निर्देशन दिन सकिन्छ ।

गुगलका प्रवक्ताका अनुसार गुगलले यो फिचरमार्फत सेभ भएका सूचनाहरू मोडेल ट्रेनिङका लागि भने प्रयोग हुने छैनन् । यस अघि ओपन एआईको च्याट जीपीटीमा पनि यो फिचर आएको थियो । स्मरण क्षमतासँग सम्बन्धित यो फिचर सुरक्षाको दृष्टिले भने संवेदनशील मानिन्छ ।

जोन रेहेबर्जर नामक एक अध्येतालेको अनुसन्धान अनुसार, यो फिचर प्रयोग गरेर ह्याकरले च्याटबटलाई गलत सूचना सम्झन लगाई प्रयोगकर्ताको निजी विवरण दुरुपयोग गर्न सक्ने सम्भावना रहन्छ ।

 

पछिल्लो अध्यावधिक: मंसिर ६, २०८१ १३:३४