काठमाडौं । ललितपुरको कुमारिपाटीस्थित भिरिञ्ची कलेजमा भोलिदेखि तीन दिनसम्म आईसीटी मेला ५.० हुने भएको छ । कलेजले हरेक वर्ष आयोजना गर्दै आएको यो आईसीटी मेलाको पाँचौं संस्करण हो ।
मेलामा स्नातक तहका विद्यार्थीहरूले बनाएका आईओटी, रोबोटिक्स, एआई, सफ्टवेयरलगायतका प्रोजेक्टहरू प्रदर्शनीमा राखिनेछ । साथै, रोबो र्याम्प रेस, रोबो सकर, स्क्विड गेम, ई-स्पोर्ट्स टुर्नामेन्टजस्ता रोचक गतिविधि हुने कलेजले जनाएको छ ।
आईसीटी मेलाको प्रि-इभेन्टका रूपमा रिल्स प्रतियोगिता र युआई/युएक्स डिजाइन प्रतियोगिता यसअघि नै सम्पन्न भइसकेका छन् ।
दैनिक जीवनलाई सहज बनाउने खालका नवीन आईटी परियोजनाहरू पनि मेलामा प्रदर्शनीमा राखिनेछन् । कलेजका अनुसार मेलामा आईटीप्रति रुचि राख्ने सबैले निःशुल्क अवलोकन गर्न सक्नेछन् । साथै अवलोकनकर्ताका लागि आकर्षक उपहारको व्यवस्था पनि गरिएको छ ।