काठमाडौं । गायक सुशान्त केसी म्युजिक स्ट्रिमिङ प्लेटफर्म स्पोटिफाईमा सबैभन्दा धेरै सुनिने नेपाली कलाकार बनेका छन् । हालै सार्वजनिक ‘स्पोटिफाई र्याप्ड २०२४’ अनुसार केसीले यो उपलब्धि हासिल गरेका हुन् ।
अहिले उनलाई मासिक रूपमा सुन्ने प्रयोगकर्ताको सङ्ख्या सात लाख १० हजार रहेको छ । सामाजिक सञ्जालमा केसीले शेयर गरेको ‘स्पोटिफाई र्याप्ड २०२४’ तथ्याङ्क अनुसार उनलाई १७६ देशबाट सुन्ने श्रोता २० लाख बढी रहेका छन् ।
स्पोटिफाईमा कलाकारहरूको अवस्था ट्रयाक गर्ने प्लेटफर्महरूले समेत यस प्रकारको तथ्याङ्क देखाएका छन् । यद्यपि स्पोटिफाई आफैंले भने देश अनुसार शीर्ष कलाकारहरू हेर्ने प्रत्यक्ष फिचर दिएको छैन । स्पोटिफाई चार्टबाट अन्य देशहरूको केही रिपोर्ट हेर्न सकिने भए पनि त्यसमा नेपाललाई संलग्न गरिएको छैन ।
गायक केसीको बार्दली, पर्खन न, सारङ्गी, रिसाउने भए, मुस्कुराएर लगायतका गीत चर्चित छन् । विश्वव्यापी रूपमा सबैभन्दा बढी सुनिने कलाकार भने टेलर स्विफ्ट बनेकी छिन् । उनको गीत २०२४ भर २६ अर्बभन्दा धेरै पटक सुनिएको छ ।