close

जेनजी आन्दोलनमा उत्तेजना फैलाएको भन्दै सांसद, कलाकारदेखि कन्टेन्ट क्रिएटरसम्मलाई अनुसन्धान गर्न सिफारिस

टेकपाना टेकपाना

जेठ १३, २०८३ १८:१७

जेनजी आन्दोलनमा उत्तेजना फैलाएको भन्दै सांसद, कलाकारदेखि कन्टेन्ट क्रिएटरसम्मलाई अनुसन्धान गर्न सिफारिस

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले गत २३-२४ भदौको जेनजी आन्दोलनका क्रममा सामाजिक सञ्जालमार्फत उत्तेजक अभिव्यक्ति दिने अभियन्ता, राजनीतिकर्मी र चर्चित व्यक्तिहरूमाथि थप अनुसन्धान गरी कारबाही गर्न सिफारिस गरेको छ । आयोग सदस्य डा. लिली थापाको संयोजकत्वमा बनेको समितिले प्रतिवेदन सार्वजनिक गर्दै जेनजी प्रदर्शनपूर्व, प्रदर्शनका दौरान र प्रदर्शनपश्चात् विभिन्न अभिव्यक्ति दिने व्यक्तिहरूको भूमिकाका बारेमा सूक्ष्म अनुसन्धान गर्न सरकारलाई निर्देशन दिएको हो ।

विभिन्न माध्यमबाट प्राप्त जानकारी र राष्ट्रिय अनुसन्धान विभागको प्रतिवेदनका आधारमा यी व्यक्तिहरूले आन्दोलनमा सहभागिता जनाउन र भीडलाई उत्तेजित बनाउन भूमिका खेलेको आयोगको ठहर छ । प्रतिवेदनमा भनिएको छ, “उनीहरूको अभिव्यक्तिले प्रदर्शनलाई उत्तेजित बनाउन भूमिका खेलेको भन्ने विभिन्न कोणबाट टिकाटिप्पणी समेत भएको देखिन्छ ।”

आयोगले विशेषगरी सामाजिक सञ्जालमा दिइएका अभिव्यक्तिहरूले सार्वजनिक शान्तिमा कस्तो प्रभाव पार्‍यो भन्ने विषयमा केन्द्रित रहेर अनुसन्धान गर्नुपर्ने जनाएको छ । “निजहरूको अभिव्यक्तिबाट समेत प्रदर्शनकारीहरू आक्रोशित र उत्तेजित भई कुनै असर र प्रभाव परे नपरेको, सार्वजनिक शान्ति र सुव्यवस्थामा खलल पुग्ने काम भए नभएको वा सोको दुरुत्साहन भए नभएको सम्बन्धमा थप अनुसन्धान हुन आवश्यक देखिन्छ,” प्रतिवेदनमा उल्लेख छ ।

आयोगले अनुसन्धानका लागि सिफारिस गरेका व्यक्तिहरूमा विभिन्न क्षेत्रका स्थापित नामहरू छन् । प्रतिवेदनको बुँदा नं ३० र सिफारिस खण्डको बुँदा नं १० मा उल्लेख भएअनुसार रास्वपाका सांसदहरू गणेश कार्की, सुलभ खरेल, बब्लु गुप्ता, डा. तोषिमा कार्की, मनिष झा, हरि ढकाल, आशिका तामाङ, राजिव खत्री, ज्वाला संग्रौला लगायत छन् ।

त्यस्तै जेनजी अभियन्ता रक्षा बमदेखि हेमराज थापा, कलाकार/सेलिब्रिटी/कन्टेन्ट क्रिएटरहरू निश्चल बस्नेत, सिसन बानियाँ, अमनप्रताप अधिकारी, भिक्टर पाैडेल, भाग्य न्यौपाने, टंक दाहाल, निशान मैनाली, नेपाल सरकारका पूर्वसचिव भीम उपाध्याय र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का रवि किरण हमालसम्म छन् ।

यसैगरी चुनावी सरकारकी प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, जेनजी आन्दोलन जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्की लगायतले जेनजी प्रदर्शनका क्रममा दिएका अभिव्यक्तिबारे अनुसन्धान गर्न समेत सिफारिस गरिएको छ । 

त्यस्तै एमाले समर्थक कन्टेन्ट क्रिएटर विवेक थपलियादेखि शिव यादव, विनोद देउवा, सरु सुनुवारदेखि पशुपति खड्का, राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाई, ऊर्जा बराल, जेरी ताम्राकार, हिमसागर विद्रोही, सन्तोष राजावादी, हिमानी राज्य लक्ष्मी सिंहसमेतले दिएका अभिव्यक्तिका सम्बन्धमा अनुसन्धान गर्न भनिएको छ ।

आयोगले अनुसन्धान मात्र नभई कसुर पुष्टि भएमा कानुनी दायरामा ल्याउन समेत भनेको छ । प्रतिवेदनमा भनिएको छ, "...उल्लेखित व्यक्तिहरूको स्वच्छ सुनुवाईको हक अधिकारको सुनिश्चितता सहित अनुसन्धान गरी दोषी देखिए कारबाही गर्न ।"

यसका साथै, आन्दोलनका आयोजकका रूपमा रहेका पुरुषोत्तम यादव, सबल गौतम, अंकित मल्ल, खेमराज साउद र ‘हामी नेपाल’ संस्थाका अध्यक्ष एवम् निवर्तमान गृहमन्त्री सुधन गुरुङमाथि समेत घुसपैठ रोक्न नसकेको र प्रदर्शन हिंसात्मक बनेको विषयमा थप अनुसन्धान गर्न आयोगले सिफारिस गरेको छ ।

पछिल्लो अध्यावधिक: जेठ १३, २०८३ १८:३६