काठमाडौं । इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोक क्याम्पसका पीएचडी शोधार्थी नवराज खतिवडा, उपप्राध्यापक डा. बाबुराम दवाडी र प्राध्यापक डा. शशिधरराम जोशीको अनुसन्धानात्मक लेख स्विजरल्यान्डको प्रतिष्ठित जर्नल ‘एमडीएपआई फ्युचर इन्टरनेट’ मा प्रकाशित भएको छ ।
‘Capacity and Coverage Dimensioning for 5G Standalone Mixed-Cell Architecture: An Impact of Using Existing 4G Infrastructure’ शीर्षकको अनुसन्धानले फाइभजी मोबाइल सेवा सस्तो र गुणस्तरीय बनाउने उपाय पत्ता लगाएको छ । अनुसन्धानमा फाइभजी नेटवर्कको गुणस्तरीय जडान र कम लागतमा सेवा प्रदान गर्ने उपाय र विद्यमान फोरजी नेटवर्क पूर्वाधार प्रयोग गर्दा पर्ने प्रभावलाई तुलनात्मक रूपमा अध्ययन गरिएको छ ।
अनुसन्धानले पूर्ण रूपमा नयाँ पूर्वाधार बनाउनुभन्दा विद्यमान फोरजी पूर्वाधार प्रयोग गर्नु नै फाइदाजनक हुने देखाएको छ ।
अध्ययनका अनुसार जनघनत्व बढी भएका क्षेत्र (करिब २०,००० प्रति वर्ग किलोमिटर) मा ३.५ गिगाहर्ज र मिलिमिटर ब्यान्ड (२८ गिगाहर्ज) का दुवै आरआरयू प्रयोग गर्दा ३३.७ प्रतिशतसम्म स्रोतसाधन बचत गर्न सकिन्छ ।यदि क्यारियर एग्रिगेसन प्रयोग गरियो भने ४१.४२ प्रतिशतसम्म स्रोतसाधन बचत गर्न सकिने तथ्य अध्ययनले प्रस्तुत गरेको छ । यसका साथै कम जनघनत्व भएका क्षेत्र (करिब ७,५०० प्रति वर्ग किलोमिटर) मा ३.५ गिगाहर्ज आरआरयू प्रयोग गर्दा ३३.७ प्रतिशतसम्म स्रोतसाधन बचत गर्न सकिने निष्कर्ष निकालिएको छ ।
यो अध्ययन काठमाडौं उपत्यकाको मुख्य सहरी क्षेत्र बानेश्वर र गौशाला (४ वर्ग किलोमिटर) र मुख्य सहरी क्षेत्र बाहिर नेपालटार, टोखा क्षेत्र (१६ वर्ग किलोमिटर) मा आधारित केस स्टडीको रूपमा गरिएको थियो । यस अनुसन्धानबाट फाइभजी सेवा दिने सोचमा रहेका दूरसञ्चार सेवाप्रदायकले फाइदा लिनसक्ने बताइएको छ ।
पुल्चोक क्याम्पसका उपप्राध्यापक तथा नेटवर्क, साइबर सेक्युरिटी र डिजिटल फरेन्सिक युनिटका निर्देशक डा. बाबुराम दवाडीको प्रमुख सुपरिवेक्षणमा यो अनुसन्धान सम्पन्न भएको थियो । अनुसन्धानका लागि डा. दवाडीले विश्वविद्यालय अनुदान आयोगबाट अनुदान सहयोग प्राप्त गरेका थिए ।